युरोपिन च्याम्पियन्स लिग : रियल म्याड्रिड फेरि च्याम्पियन

पेरिस । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । प्रभावशाली स्पेनिस क्लब रियलले आइतबार विहान सम्पन्न फाइनल खेलमा बलियो इङ्लि प्रतिद्वन्द्वी लिभरपुललाई हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । फ्रान्सको पेरिसस्थित स्टेट डे फ्रान्स रंगशालामा खेलाइएको फाइनल खेलमा रियललाई जित दिलाउन भिन्सियस जुनियर नायक बने । प्रतिस्पर्धात्मक खेलको ५९औं मिनेटमा भाल्भर्डेको उत्कृष्ट पासमा भिन्सियस जुनियरले निर्णायक गोल गरेका थिए ।

त्यसअघि रोमाञ्चक फाइनलको पहिलो हाफमा रियलका अनुभवी खेलाडी करिब बेन्जेमाले गोल गरे पनि त्यसले मान्यता पाउन सकेको थिएन । खेलको ४४औं मिनेटमा बेन्जिमाले गरेको गोललाई रेफ्रिले अफसाइड घोषित गरेका थिए । खेलको प्रारम्भदेखि नै लिभरपुलले रियलमाथि गतिलो दबाब बनाए पनि गोल भने गर्न सकेन । इङ्लिस क्लब लिभरपुलले गोलको थुप्रै गतिलो अवसर खेर फालेको थियो । लिभरपुलका मोहम्मद सलाह, साडियो मानेलगायतले गरेका थुप्रै गतिला प्रहारलाई रियलका अनुभवी गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरेका थिए ।

रियलले कीर्तिमानी रुपमा १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । रियलले पछिल्लो पटक सन् २०१८ मा च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने सपना अपुरै रहेको छ । रियलका प्रशिक्षक कार्लो एन्सेलोटी पनि ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि उनले रियलका लागि १ र इटालियन सिरिए क्लब एसी मिलानलाई २ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

रियलले सन् २०१६ देखि सन् २०१८ सम्म लगातार ३ पटक च्याम्पियन्स लिग जितेको थियो । पहिलो पटक रियलले सन् १९५६ मा च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । रियल हालसम्म ३ पटक च्याम्पियन्स लिगमा उपविजेता बनेको छ । सर्वाधक उपाधि जित्ने क्लबको सूचिमा दोस्रो स्थानमा रहेको एसी मिलानले ७ पटक उपाधि चुमेको छ भने ४ पटक उपविजेता बनेको छ । जर्मन क्लब बायर्न म्युनिख ६ पटक च्याम्पियन बनेको छ भने ५ पटक फाइनलमा पराजित भएको छ ।

यसैगरी लिभरपुल पनि ६ पटक च्याम्पियन बनेको छ भने ४ पटक फाइनलमा पराजित भएको छ । स्पेनिस क्लब बार्सिलोनाले भने ५ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । सन् २०२१ मा इङ्लिस क्लब चेल्सी च्याम्पियन बनेको थियो ।

देशका रुपमा रुपमा हालसम्म १९ पटक स्पेनिस क्लबहरुले च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । स्पेनिस क्लब हालसम्म ११ पटक उपविजेता बनेका छन् । इङ्लिस क्लबले १४ पटक उपाधि जितेका छन् भने ११ पटक उपविजेता बनेका छन् ।

प्रतिक्रिया