महेन्द्रनगर धनगढी सुपर लिगको फाइनलमा

धनगढी । महेन्द्रनगर क्रिकेट क्लब धनगढी सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसका वसन्त सिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशाल विक्रम केसीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ महेन्द्रनगरका विपिन धामीले ३, राहुल भण्डारी र सन्तोष भट्टले समान २/२ विकेट लिए ।

त्यस अघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९/३९ रन बनाए । उसका दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए । बलिङ तर्फ देउखुरीका दिवान पुनले ३ तथा दिनेश अधिकारी र प्रतिस जिसीले समान २÷२ तथा अनिल खरेलले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सुशील खड्का घोषित भए ।

जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लावर यस अघि नै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया