बालेनवाद र राजनीतिक दल

मोहनप्रसाद सापकोटा

दल–वाद, दलबदल–वाद र दलदल–वाद मात्र थिए अब निर्दलवाद पनि देखिएको छ । दल–वादका गोरुहरू यसरी नै बारी जोत्न नसक्ने गरी निकम्मा भइरहे, यसरी नै पेसा बनाउन तल्लिन रहे चौथो वादले पहिलोवादलाई बहर बनेर धरधरी रुवाउनेछ । चकलेटका खोलजस्ता सुनको जलप लगाइएका दलीय घोषणापत्रमा भन्दा लोकप्रियता हेरी रोजमर्राको समस्या समाधानतिर ध्यान दिने खालका व्यक्तिलाई पहिलो वादले विशेष ध्यान देओस् ।

यसपालीको चुनावमा मसँग भोट माग्न आउने प्रायः सबै दलले ‘हाम्रो टीमलाई नै जिताइदिनुहोस्, काम गर्न सजिलो हुन्छ’ भनेका थिए । अब काम नगर्नेलाई वा गर्न नसक्नेलाई यो गतिलो बहाना हुनेछ । जनताले एकाधिकारभन्दा पनि क्रस चेकको मेसोमा मत खसालिदिएका छन् । त्यसैले धेरै ठाउँमा छ्यासमिस तरिकाले जनप्रतिनिधिहरू चुनिएका छन् । सकारात्मक सोच राखेर भन्नुपर्दा जनताले पुनः ‘तिमीहरू मिलेर देश विकास गर’ भन्ने सन्देश दिएका छन् । दललाई भन्दा पनि व्यक्तिव्यक्तिलाई रोजेर मत खसालेका छन् । उम्मेदवार चयनका लागि जेजस्ता विधि र प्रक्रिया हाम्रो राजनीतिले अंगीकार गर्न सिकेको छ त्यसलाई नेपाली जनताले भित्तामै पुग्नेगरी लात हानिदिएका छन् । चुनावको नतिजाले दिन खोजेको सन्देश यतिमा मात्र सीमित छैन । विगत ३०/३५ वर्षमा हाम्रो राजनीतिले ‘राजनीतिक दलको जेजस्तो परिभाषा’ जनतालाई दियो, जनताले त्योभन्दा बढी बुझिसकेको देखियो ।

हुनुपर्ने के थियो त्यसका बारेमा गफ नचुटौँ । गधालाई बाँसुरीको धुन सुनाउनु जस्तै हुन्छ । यस अवधिमा राजनीतिले ‘दलीय राजनीति भनेको खिचडी हो’ भन्ने सन्देश दियो । जनताले उल्टै राजनीतिलाई जवाफ दिँदै भने ‘होइन दलीय राजनीति भनेको त जोगीको तरकारी हो ।’ नेपाली तथाकथित विद्वत् समाजको एक ठूलो वर्ग नेपाली राजनीतिको यो परिवर्तित रुझानप्रति शब्द खर्च चाहँदैन ऊ त एउटा लौरोमा सीमित हुन खोज्दछ र भन्दछ ‘यो लौरो त राजाको हो’, अर्को कुर्लेर कराउँदछ ‘होइन यमराजको हो’, अर्को उपबुज्रुक अर्को कुनाबाट बरबराउँदछ ‘होइन यो लौरो त छिमेकी देशको हो ।’ अर्काथरी महाविद्वानहरू मतदाताले दिइरहेको चेतावनीतिर मतलब नगरी गजक्क फुलेर भन्दछन् ‘यो त ढोडको लौरो हो’ । अनि अरू कतिपयले चाहीँ ‘यो कटबाँसको लौरो हो’ भन्दै डराएर अहिलेदेखि नै पिटिए जसरी ढाड सुमसम्याइरहेको पनि देखियो ।

प्रकृतिले मानिसलाई दिए जसरी नै नेपाली मतदाताले नेपालको राजनीतिलाई चेतावनी दिइरहेका छन् । मद, मात्सर्य र अभिमानमा रमाउन पल्केको राजनीतिले त्यो चेतावनीलाई बुझ्न चाहिरहेको अझै देखिएन । नेपालका विद्वत् वर्गमा तटस्थता बचेको भए अरूलाई सत्तोसराप गर्न खर्च भइरहेकोे विद्वत्ता आफ्नोलाई सुधार्न प्रयोग हुन्थ्यो । प्राकृतिकपनामा पनि शंका गर्न थाल्ने खालको वातावरण नै बन्दैनथ्यो । दुर्भाग्य नै यही छ कि यहाँ भाट–विद्वत्तता मात्र बाँकी बचेको छ ।

चुनाव सकिएसँगै नतिजा पनि आइसकेको छ । चुनावमा कदेखि ज्ञसम्मका सबैले जिते तर बीचमा रहेको ‘ज’ अर्थात् जनताले आजसम्म जित महसुस गर्न पाएका छैनन् । जहिले पनि ‘म’ ले चुनाव जितिरहेछ ‘हामी’ ले हारिरहेछ । म हामीमा स्तरोन्नति नभएसम्म ‘ज’ ले चुनाब कहिल्यै जित्दैन । ऊ एक÷दुई दिन मूतको न्यानोमा रमाउन मात्र पाउँदछ । कुनै पनि सिद्धान्त आफैँमा खराब हुँदैन । सिद्धान्त कार्यान्वयन गर्नेहरूको चरित्रले नै सिद्धान्तलाई सफल र असफल बनाउने गर्दछ । हामीले आजका मितिसम्म सिद्धान्तविहीन राजनीति नै देख्दै आएका छौँ । खराबमध्येमा कम खराबलाई नेता बनाउन जनता वाध्य छन् । हरेक प्रमुख दलको केन्द्रीय राजनीति हरेक बौद्धिक नागरिकलाई घृणास्पद भन्न पुगेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष लाभको घेराभन्दा बाहिर रहेका दलका सक्रिय सदस्य पनि आआफ्ना दलको केन्द्रीय नीतिप्रति सन्तुष्ट छैनन् ।

रेमिटमा रमाउने अर्थतन्त्र नाकाबन्दीपछि दोस्रोपटक कोमामा पुगेको छ । भ्यान्टिलेटरमा अर्थतन्त्रलाई राखेर जनतालाई ढाँट्ने कामलाई यसपाली पनि निरन्तरता दिइरहिएको छ । हाँडीमा कनिका देखेपछि हाम्रा राजनीतिक दललाई निन्द्रा लाग्दैन । एक÷दुई मुठी जनतालाई बाँडेर चारमुठी आफूले क्वाप्प खान पनि पाइने अनि भेडा जनताबाट भोट पनि पाइने हुनाले उत्पादनमुखीभन्दा पनि कनिका छरे जसरी छर्ने खालको वितरणमुखी अर्थनीतिले प्रश्रय पाउने सिलसिला जारी छ । आमनागरिकलाई मुगेरीलाल बनाउने गरी अनगिन्ती सपना बाँडिएका छन् तर स्रोत र साधन आफूसँग छैन । देउसी खेलेर पाइने दानले एकछिनको भोक मेट्दछ, सधैँको मेट्दैन तर हाम्रो राजनीतिलाई यो कुराको मतलब छैन ।

अनेक कारणले विदेश पुगेर त्यहाँको जीवनशैली सिकेर आउने नेपालीको संख्या दिनानुदिन बढिरहेछ । उपभोगको शैली ज्यामितीय ढंगले बढिरहेको छ तर आयको शैली कछुवाको चालमा हिँडिरहेछ । प्रतिव्यक्ति प्रतिमहिना सरदर ५० हजार खर्च गर्ने आदत सिकिएको छ तर महिनामा सरदर ३० हजारभन्दा बढी आय गर्नसक्ने अवसर राज्यले बनाउन वा दिन सकेको छैन । एउटा निश्चित वर्गमा देशको पुँजी केन्द्रीकरण हुँदै गइरहेको छ । स्वास्थ्य, शिक्षाजस्ता क्षेत्र पूर्णतः व्यापारीकरण भएका छन् । देशको अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउन अमुक दलभन्दा पनि हाम्रा दलमा रहेको पुरानो नेतृत्व वर्ग पूर्णतः असफल भएको छ । आफूसँग भएका कुरा बढी र अन्तका कुरा कम उपभोग गर्ने आदत नबसाइ शोधनान्तर घाटा कम गर्न सम्भव नै हुँदैन । जेजस्ता आदत हामीले सिक्यौँ त्यसलाई राज्यले सहजै परिवर्तन गर्न सम्भव पनि छैन । तैपनि उपायहरू छन् र गर्न सकिन्छ । त्यसमध्येको सबभन्दा पहिलो र गतिलो उपाय विद्युतीय खपत बढाउने खालका नीति र योजना अनि सहुलियततर्फ राज्यले ध्यान दिनुपर्ने हुन्छ । यसबाट वर्षिनै बिदेसिने अर्बौं डलर राज्यले जोगाउन सक्दछ । खाना पकाउने ग्याँस, पेट्रोल, डिजेल आदिको आयातलाई सबै एक भएर उचित विकल्पसहित घटाउन सकियो भने यो आत्मनिर्भरतातिरको पहिलो पाइला हुनेछ ।

तर लक्षण आत्मनिर्भरतातिर उन्मुख छैन, असफल देश बनाउनतिर उन्मुख छ । घरमा नखाएर बेचिएको दूधले टेलिभिजन किन्दैमा जनताको जीवनस्तर उकासिएको मानिँदैन । बिजुली बेच्ने कुरा पनि यस्तै नै हुन् । विदेशीबाट आउने दबाबलाई समायोजन गर्दै देशलाई सही मार्गमा लैजान सक्ने नेता यो देशले जन्माउन सकेन । मेरा वा अरूका आआफ्ना आस्था हुन्छन् तर आस्थाको खोलले सत्यता ढाक्न सम्भव हुँदैन । भत्ता नपाउने वर्गलाई भत्ता चाहिएको छ, पाइरहेकालाई बढाइदिए हुन्थ्यो भन्ने छ, मजस्ता भूतपूर्व कर्मचारीलाई पेन्सन बढेहुन्थ्यो जस्तो लाग्दछ, चुनावमा मासुभात खाएका मतदातालाई यसो कुनै उपभोक्ता समितिमै भए पनि घुसेर फेरि मासुभात खाने रहर छ, यस्तै यस्तै छ हाम्रो अवस्था र सोच । विदेशीको दबाबमा खेतीयोग्य जमिन नासेर सहर बसाउने नीति चलाइएको छ । शिक्षा क्षेत्र श्रम–बजार विकसित गर्नमै तल्लिन छ । बढी लगानी गरेर उच्च शिक्षा पाउनेहरू सित्तैमा विदेशीलाई दक्ष जनशक्ति बनिरहेका छन् । लाखौँ र करोडौँ खर्च गरेर पढाइएका सन्तान परिवार, समाज र देशका लागि काम नलाग्ने हुन थालेका छन् । हरेक युवापुस्ता राहदानी र भिसाबाहेक अरू कुरा गर्न नै नमान्ने भइसके ।

विकास हाम्रो प्राथमिकता हो, विदेशीको होइन । सामन्तहरू गाउँमा सडक बन्दा र विद्यालय खोल्दा पनि विरोध गर्दछन् । परिवर्तनपछि खनिएका सडक र खोलिएका विद्यालयहरू पनि राहदानी ओसार्ने बाटो मात्र बने । हरेक नेपालीलाई हरेक दिन दिन ऋणको बोझ बढिरहेछ र त्यो ऋणको अति धेरै अंश साधारण कुरामा खर्च भइरहेछ । यसरी देश विकास हुँदैन देश टाट पल्टन्छ । यसपाली पनि मतदानको शैली, साधन र सुविधाका बारेमा अनेकौँ कमजोरीहरू देखिए । यसका बारेमा बेग्लै कुनै दिन कुराकानी गरौँला नै ।

उल्लेख्य संख्यामा नयाँ पुस्ता जितेर स्थानीय तहमा पुगेका छन् । अब तिनले विगतको राजनीतिक र आर्थिक शैलीमा आमूल परिवर्तन गर्नै पर्दछ । स्थानीय माटो र हावापानीको भित्री तागत पहिचान गरी आयआर्जनका माध्यमहरू बढाउन तिनले विशेष पहल गर्नुपर्दछ । प्राकृतिक स्रोतको दोहन गरेर पाइने सुख वा विकास विनाशकारी हुन्छ भन्ने कुरालाई तत्काल ध्यान दिनुपर्ने हुन्छ । उपभोगको शैली बढ्नु मात्र विकास होइन भन्दै कृषि, जडीबुटी, पर्यटन आदि कुरालाई विशेष प्राथमिकताका साथ योजनावद्ध तरिकाले अघि बढाउनुपर्ने अवस्था देखिएको छ । हामी आजका मितिसम्म अरूका लागि मात्र प्रयोगशाला बन्दै आयौँ, अब यसलाई पूर्णरूपमा रोक्नुपर्ने बेला आएको छ । अब बहाना बनाउने वा आफूभन्दा बढी कमजोरको उदाहरण दिएर आफू साँचिलो हुन खोज्ने छुट कुनै पनि दलका कुनै पनि तहका नेतालाई छैन । बेलैमा हामी सचेत भएनौँ भने नानीमैयाँ दाहालले जितेको जति वर्षपछि यहाँ राजनीतिक परिवर्तन भएका थिए, बालेन्द्र साह आदिले जितेको त्यति नै वर्षपछि यहाँ अर्को राजनीतिक परिवर्तन हुनेछ । अबको परिवर्तन विगतलाई क्षमादान दिने गरी होइन कठोर दण्ड दिने गरी हुनेछ । यो गम्भीर तथ्यलाई बेलैमा मनन गरी नयाँ जनप्रतिनिधिहरूले देशलाई सम्हाल्न सकून्, सबैलाई बधाई अनि शुभकामना ।

बालेन साह र काठमाडौं

हण्डी, भिजिलान्ते र भाट शब्द खुब लोकप्रिय शब्द बनाइए । यी शब्दको सर्वप्रथम राजनीतिक प्रयोग गर्ने थलो काठमाडौं नै थियो । हण्डी नखाने कुनै क्षेत्र छैन । वरिष्ठ पत्रकारदेखि वरिष्ठ राजनीतिज्ञसम्म प्रायः सबै हण्डी चपाइरहेका छन् । हण्डी चपाएर रमाउन पल्केकाहरू अलि फरक शैलीको परिवर्तन देखिनासाथ हण्डी जान लाग्यो भनेर छटपटिने गर्दछन् । आफ्नै कमाइमा रमाउने क्षमता भइदिएको भए विवेक र विचार पनि आफ्नै हुन्थे । प्रहरी देखेर चोर डराएजसरी एउटा लौरोमा सर्पको भान देखेर सातो जाने अवस्था आउँदैनथ्यो ।

देशमा अनेकौँ परिवर्तन भए तर ती सबै परिवर्तन जबसम्म काठमाडौं परिवर्तन भएन तबसम्म हुन सकेनन् । हण्डी पनि अचम्मको रहेछ । यसैका आडमा बालेनलाई राजाको मान्छे, विदेशको मान्छे, निर्दलीय तन्त्रको मान्छे आदि उपमा दिन थालिएको छ । दलको नाममा पाएको आलो हाड चुसेर बस्दैमा प्रजातन्त्र जोगिँदैन । उनलाई तथानाम गाली गर्दैमा तिमीहरूले गरेको गल्ती जोगिँदैन ।

ज्ञानेन्द्रलाई समेत चुनाव लड्न आउ भनी हाँक दिने हाम्रो प्रजातन्त्रमा अप्रत्यासित उम्मेदवारले पाएको मतबाट आत्तिएर कसैकसैको पूरा शरीर पसिनाले भिजिरहेछ । गल्ती गर्नेले त गल्ती भयो भनेन भनेन उसका झिँगा धपाउन जागिर पाएकाले समेत उसका गल्तीलाई देख्न जानेनन् । बालेन देशको यही प्रवृत्तिको विरोधका लागि उभिएका एक शान्त प्रतीक हुन् । उनी संविधानअनुसार लडे र जनताबाट मतदानमा सहयोग पाए । उनले के बिराए ? र तस्करतन्त्रमा जगडिएको प्रजातन्त्रका ओठमुख सुक्न थाले ?

अहिले त स्वतन्त्र बालेन साहको काठमाडौंमा मात्र जन्म भएको छ । यसै गरी हरेक दलभित्र हरेक क्षेत्रभित्र बालेन साह जन्मन सकेन भने तस्करतन्त्रले गाँजेको यो देश कहिल्यै सुखी र शान्त हुन सक्दैन । जेलबाट छुट्दै गरेका अमुक नेतालाई स्वागत गर्न पुग्ने तस्करतन्त्रले गाँजेको नेपाली पत्रकारिता जगतमा पनि बालेन साहको जन्म हुनुपर्ने देखिइसकेको छ । हण्डी नचपाइकन प्रजातन्त्रका लागि लड्ने हामीजस्ता नागरिकहरूलाई हण्डी चपाउँदै प्रजातन्त्रको परिभाषा दिन नखोजियोस् । खोजिए त्यो अझ घातक हुनेछ । ज्ञानेन्द्र शाहदेखि ज्ञानेन्द्र शाहीसम्मका सबै दल र विचारधाराका नेता आफू वरिपरि जम्मा भएको भिडलाई समर्थक मानेर बिग्रे । बालेन साहको क्षमता हेर्न बाँकी छ ।

तिमी हामीले करिब एक शताब्धी लगाएर लेराएको अनि एउटा व्यक्तिले लौरोले हल्लाउँदा हल्लिने खालको भाँडतन्त्र नै प्रजातन्त्र हो भने त्यस्तो परिभाषाभित्र मात्र पर्ने यस्तो फुकिढल प्रजातन्त्रलाई धिक्कार छ । यदि यही सही हो भने तिमीहरू सबैभन्दा हाललाई बालेन साह ठीक छन् । त्यसैले ¥याल चुहाउँदै पुछ्दै धेरै नखोक, अर्को चुनाबमा अझ कडा खालले जनताले जवाफ देलान् । एकले अर्कोलाई तथानाम गाली गरेर हुर्किरहेको राजनीतिक माहोलमा कसैलाई एक शब्द गाली नगरी उनले पाएको लोकप्रियतालाई प्रजातन्त्र माथिको संकट ठानिन्छ भने तिमीहरूलाई पढाइएको प्रजातन्त्रको परिभाषा नै पुनर्लेखन गर्नुपर्ने हुन सक्दछ । म मात्र ठिक म भन्दा बाहेकका सबै गलत भन्ने संस्कार परिवर्तन हुन खोज्दा अत्तालिनेहरूलाई प्रजातन्त्रवादी मानि दिनुपर्ने हो भने त्यस्तो प्रजातन्त्र अब परिवर्तन हुनेवाला छ । कम से कम गगन थापा जस्ताले गल्ती महसुस गर्दै भने ‘हाम्रो उम्मेदवार चयन गर्ने पद्धतिमा पूर्ण परिवर्तन गर्नुपर्ने अवस्था देखियो ।’ तिमीहरू भने अझै थुक चाटेर पुछ्दै बस ।

आज पनि ‘हाम्रा गतिविधिहरू जनताबाट अनुमोदन भएनन्’ भन्न सक्ने हुति हाम्रा नेतामा पलाउन सकेन । अझै ‘हामीमाथि गठबन्धनबाट अन्याय भयो, चुनाबमा धाँधली भयो, मतदानमा धाँधली भयो’ आदि राग नै अलाप्दै छन् । जनता कसैका भेडा कार्यकर्ता होइनन् । ती जसले जहाँ भन्यो त्यहाँ भोट हाल्ने वा आँखा चिम्लेर टेबुल ठटाउँदै भत्ता पकाउने नेता पनि होइनन् । जितेपछि पाँच वर्षसम्म जे गरे पनि जनताको नाम भजाउने खालका नेताबाट आफ्नो पालो आउँदा एकदिन जनताले विवेक प्रयोग गर्न सिके त के नै गलत गरे ? कुनै पनि किसिमको फराम भर्नुपर्ने अवस्था आउँदा ‘पेसा’ लेखिएको ठाउँमा ‘राजनीति’ लेख्न थालियो । जनताले यो कुनै पनि हालतमा सहँदैनन् सम्बन्धित सबैलाई बेलैमा चेतना भया ।

म वा मेरो निर्विकल्प कहिल्यै हुँदैन । गलत एकाधिकारवाद (पोलिटिकल सिन्डिकेट) का लागि जसले जतिसुकै तिगडम अपनाए पनि जनताले अब अनेक किसिमले विकल्प खोज्न सिकिरहेका छन् । राणाशासन गलत भयो, पञ्चायत गलत भयो, फलानो गलत भयो, ढिस्कानो गलत भयो भन्दै भन्दै यहाँसम्म आयौँ । आजका मितिसम्म हामीले जसजसलाई गलत भन्दै आयौँ ती कोही पनि कहिल्यै दण्डित भएनन् । गलतलाई दण्डित गर्ने क्षमता नहुनेहरूले नै गल्ती गर्दै अहिलेसम्म नेपालमा राजनीति गरिरहेका छन् । जनतामा यो रहस्य ज्ञान नहुँदासम्म यहाँको राजनीति अझै केही दशक यसरी नै चलिरहनेछ ।

खाने काम रोकिएन खाने मुखहरू मात्र बदलिए । हामीले पाएको परिवर्तन यत्तिमै सीमित छ । अन्त सट्टाबाजीमा लगानी गर्ने कार्यलाई हाइड इन्भेस्टमेन्ट भनिन्छ । कहिलेकाहीँ कमजोर अर्थतन्त्र हुने देशमा यसले तरलताको समस्या समेत देखिने गर्दछ । हामी कहाँ भने चुनाव आउन थालेपछि तरलताको समस्या देखा पर्दछ । आआफ्ना डम्फू बजाउन यसलाई अनेक नाम दिन सकिन्छ । म चाहीँ यस्तो अर्थतन्त्रलाई तस्करतन्त्र नै भन्न रुचाउँदछु ।

महत्वाकांक्षा हुनुपर्दछ तर त्यसले हामीलाई श्रीलंका वा युक्रेनतिर लैजान नखोजोस् । अगामी दिनमा अत्यन्त गहन र संवेदनशील तरिकाले कूटनीतिक चहलपहल बढ्नेछ । यहाँको राजनीतिलाई भने जनताका लागि सुकुलमा चिनी छरिदिएर नगरवधूका कोठीमा जान हतार भइरहेछ । गजब छ, त्यसैले उ अझै पनि परंपरागत राग अलापिरहेछ ।

बालेनजीलाई सन्देश

बालेनजी तपाईंहरू असन्तोषको प्रतीक हो । पुरातन होइन असन्तोष जति सबै अटाउने खालको नयाँ सिद्धान्त बनाएर अघि बढ्नुहोस् । जनताको जीवनचर्यामा ठेस नलाग्ने गरी बाटो बनाउनुहोस् धेरै ठूलो काम गर्नै पर्दैन । राजनीतिक दलहरू पनि नआत्तिनुहोस् । व्यक्तिवादको जहानियाँ शासनशैली बन्द गर्नुहोस् । राल चुहाउँदै विदेशीले दिएको बैना पचाउन राजनीतिमा टाँस्सिएर नबस्नुहोस् । नयाँ पुस्तालाई मार्ग प्रशस्त गर्नुहोस् । विवेक जति लगेर विदेशी खोपामा राख्दै खाली दिमाग लिएर राजनीति गर्न बन्द गर्नुहोस् । जनताले दिएको चेतावनीलाई इगो मान्ने गल्ती कदापि नगर्नुहोस् । गरे भविष्यमा प्रतिक्रान्ति हुन्छ । स्वतन्त्रलाई स्वतन्त्र नै रहन दिएर काम गर्न सहयोग गर्नुहोस् । जनताले दलप्रतिको वितृष्णा कम गर्ने स्थान पाइरहन्छन् । जबरजस्ती गर्नुभयो भने घाटा तपाईंहरूलाई नै हुन्छ ।

जनता

विदेशतिर जहाँ जहाँ नागरिकलाई भत्ता दिने चलन छ त्यहाँ त्यहाँका जुनसुकै उमेरका नागरिकहरू पनि सरकारी भत्ता लिनुलाई हिन कार्य मान्दछन् । मैले घुमेका देशमा बुझेको कुरा यही हो । ती कुनै न कुनै काम गरेर सरकारलाई कर तिर्न पाउँदा गर्व गर्दछन् । हामी भत्ताप्रिय बनाइएका छौँ । यस्तो सोचले देश बन्दैन, नासिन्छ । देशभरका नागरिकमा केही लिनुभन्दा केही दिनु धर्म हो भन्ने सोच चाहिन्छ । अर्काले दिएको दानबाट देश विकसित हुँदैन । मानिसमा भत्ता थाप्ने र निकम्मा बस्ने आदत मात्र बस्दछ । बास्ना आउने वातावरण भयो भने शरीरमा अत्तर हालेर हिँडिरहनु पर्दैन । कुनै पनि नेताले कुनै पनि काम गर्दा फलानाले यस्तो काम गरिदियो भन्ने गलत सोच बदल्नुहोस् । यसले जे गरिरहेछ त्यो मैले तिरेको करले गरिरहेछ वा मलाई समेत ऋणमा डुबाएर गरिरहेछ भन्ने सोची जागरुक हुन सिक्नुहोस् । नागरिक सचेतता भनेको यही हो । आस्था हुन्छ, चाहिन्छ तर राजनीतिक दास हुन नचाहनुहोस् ।

अन्त्यमा

दल–वाद, दलबदल–वाद र दलदल–वाद मात्र थिए अब निर्दलवाद पनि देखिएको छ । दल–वादका गोरुहरू यसरी नै बारी जोत्न नसक्ने गरी निकम्मा भइरहे, यसरी नै पेसा बनाउन तल्लिन रहे चौथो वादले पहिलोवादलाई बहर बनेर धरधरी रुवाउनेछ । चकलेटका खोलजस्ता सुनको जलप लगाइएका दलीय घोषणापत्रमा भन्दा लोकप्रियता हेरी रोजमर्राको समस्या समाधानतिर ध्यान दिने खालका व्यक्तिलाई पहिलो वादले विशेष ध्यान देओस् । पौने शताब्धीको परिवर्तन पुनर्मूषिको भवः नहोस् ।

प्रतिक्रिया