एनआइसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त

काठमाडौं । एनआइसी एशिया बैंकको यही ८ गते बसेको सञ्चालक समितिको ५४५औँ बैठकले सन्तोषकुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६–०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशोधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पर्याएको योगदानको कदर एवं उच्च मूल्यांकन गर्दै बैंकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्य शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

प्रतिक्रिया