क्यानले धोका दिएको ईपीएलको आरोप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइजी प्रतियोगिता गर्ने एभरेष्ट प्रिमियर लिग (ईपीएल) पदाधिकारीबीच पछिल्लो समय जुहारी चलिरहेको छ । क्यान आईसीसीको निलम्बनमा परेको समयमा फ्रेन्चाइजी लिग ईपीएल आयोजना भएको थियो । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि आयोजना भएको थियो । तर, पछिल्लो समय ईपीएलले घोषणा गरेको प्रतियोगितालाई मान्यता नदिने क्यानको कदमप्रति ईपीएल आयोजकले दुःख व्यक्त गरेका छन् ।

नेपाली क्रिकेट निलम्बन भएको समयमा आफूहरुले क्रिकेटलाई चलायमान बनाएको तर अहिले क्यानले आफूहरूलाई कुनामा राखेको ईपीएल आयोजकहरूले पत्रकार सम्मेलन गर्दै बताएका थिए । ईपीएलका टिम मालिकहरुले आफूहरूलाई क्यानले उचित व्यवस्थापन गर्नुपर्ने पनि आग्रह गरेका थिए । ईपीएलले पत्रकार सम्मेलन आयोजना गर्दै गरेको आग्रहलाई क्यानले धम्कीपूर्ण विषय भएको भन्दै विज्ञप्ति निकालेको थियो ।

बुधबार क्यानले नेपाल टी–ट्वान्टी लिग सञ्चालन गर्ने र अन्य फ्रेन्चाइजी लिगहरुलाई बन्द गर्ने जनाएको छ । क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा हालसम्म सञ्चालन भएका फ्रेन्चाइजी लिगलाई धन्यवाद पनि दिइएको छ ।
‘नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाइज्ड लिगहरुले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रिय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।

सचिव मल्लले अब नेपालमा मात्र नेपाल टी–ट्वान्टी लिग सञ्चालन गर्ने बताए । उनले नेपालमा नै दुई प्रकारका टी–ट्वान्टी फ्रेन्चाइजी लिग नहुने भन्दै हालसम्म चलिरहेका लिगहरु अव्यवस्थित र सबै आआफ्नो तरिकाले चलेकाले अहिले नेपाल टी–ट्वान्टी लिग हुँदा व्यवस्थित हुने बताए ।

उनले क्यानले अब क्रिकेट विकासका लागि बाह्रै महिना क्रिकेट चलायमान बनाउन लागेको पनि जानकारी दिए । वर्षमा १५ दिन क्रिकेट प्रतियोगिता गरेर बाँकी समयमा क्रिकेटका गतिविधि ठप्प बन्ने अवस्था क्यानले नआउन दिने मल्लको भनाइ छ ।

‘हामी क्रिकेटलाई चलायमान बनाउने योजनामा छौं । धेरै क्रिकेट लिगभन्दा पनि नेपाल टी–ट्वान्टी लिग व्यवस्थित ढंगले चलाउने योजना छ । वर्षमा १५ दिन लिग चलाएर क्रिकेट विकास हुन्न । क्यानले त्यसैको विकल्पमा नेपाल टी–ट्वान्टी लिग ल्याएको हो । यसले खेलाडीहरुलाई धेरै व्यस्त बनाउने छ,’ उनले भने ।
मल्लले क्यानलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै क्रिकेटका कार्यक्रमहरुमा सहभागी नहुने भन्नु राम्रो नभएको बताएका छन् । उनले क्रिकेट विकासमा लागेको बताउनेहरू नेपाल टी–ट्वान्टी लिगको टिम मालिकका रुपमा पनि आउन सक्ने जिकिर गरे ।

प्रतिक्रिया