राइड सेयरिङ ‘इनड्राइभ’ को सेवा सुरु

काठमाडौं । अमेरिकी राइड सेयरिङ कम्पनी इनड्राइभरले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै सबै भन्दा तीव्र रूपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो । यसका सेवाहरू विश्वभरका ४२ देशका ६ सय सहरमा उपलब्ध रहेको र कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको जनाइएको छ ।

इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै सर्तमाथि स्वतन्त्र रूपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्ने जनाइएको छ । इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडलमार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरूबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसको बदलामा चालकले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन् भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन् ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरू भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रूपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ । यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् । चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया