पोखराको मेयरमा धनराज

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब ५ पालिकाको मात्र अन्तिम नतिजा आउन बाँकी छ । बुधबार रातिसम्म ७ सय ४८ पालिकको अन्तिम नतिजा आइसकेको छ । गत वैशाख ३० गते ७ सय ५३ पालिकाका लागि निर्वाचन सम्पन्न भएको थियो ।
देशभरबाट हालसम्म घोषित मतपरिणाम अनुसार, नेपाली कांग्रेसले ३ सय २६ पालिकाको प्रमुख र २ सय ९८ पालिकाको उपप्रमुख पद जितेको छ । नेकपा एमालेले २ सय ४ पालिकाको प्रमुख र २ सय ३७ पालिकाको उपप्रमुख पद जितेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र १ सय २१ पालिकाको प्रमुख र १ सय २८ पालिकाको उपप्रमुखमा विजयी भएको छ । जनता समाजवादी पार्टीले ३० पालिकाको प्रमुख र ३१ पालिकाको उपप्रमुख तथा नेकपा एकीकृत समाजवादीले २० पालिकाको प्रमुख र २३ पालिकाको उपप्रमुखमा जित हासिल गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी पनि १६ पालिकाको प्रमुख र १२ पालिकाको प्रमुखमा विजयी भएको छ ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आयार्य विजयी भएका छन् । उनी आफ्ना निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पछाडि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरे । थापाले भने ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ५ हजार ६ सय ७४ मत ल्याए । स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ३ हजार ३० मत प्राप्त गरे ।

उपमेयर पदमा भने एमालेकी मञ्जुदेवी गुरुङ विजयी भइन् । उनले ६० हजार ५ सय ४६ मत प्राप्त गरिन् । उनकी निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् । तेस्रो हुने राप्रपाकी रञ्जनाकुमारी सेनले ५ हजार ६ सय ९९ मत ल्याइन् ।

मेयरमा निर्वाचित भएपछि आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताए । आचार्यले सञ्चारकर्मीसँग कुराकानी गर्दै महानगर र वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने प्रतिबद्धता ब्यक्त गरे ।

‘हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ । महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्नेछौं,’ उनले भने । पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्र अनुसार निर्वाचित भएको एक महिना, ६ महिना, १ वर्ष र ५ वर्षभित्र के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरी अघि बढ्ने जानकारी दिए ।

पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइउने उनले बताए । पाँच दलको शक्ति र सामाजिक क्षेत्रमा गरेको योगदानका कारणले जित सम्भव भएको उल्लेख गर्दै आचार्यले ठुलो सँख्यामा मत बदर नभएको भए मतान्तर अझै बढ्ने दाबी गरे ।

पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ साल चैत १७ गते जन्मिएका आचार्य नेकपा एकीकृत समाजवादीको कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । २०३९ सालमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए ।

त्यसपछि उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत सक्रिय बनेका थिए । एमालेसम्वद्ध विद्यार्थी संगठनमा २०४४ सालमा आवद्ध भएपश्चात उनले अनेरास्ववियुको विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा २०५१ सालमा उनी सभापतिमा निर्वाचित भएका थिए । २०५१ देखि २०५३ सालसम्म स्ववियु काउन्सिलको महासचिव बनेका आचार्यले अनेरास्ववियुमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

एमाले कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहेका आचार्य २०५४ सालमा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध भएका थिए । २०५४ सालमा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य बने । २०७५ देखि २०७८ सालसम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल भए । एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उनले नेतृत्व लिएका थिए ।

उनी २०७८ सालमा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बनेका थिए । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उनी पार्टी विभाजनसँगै स्थापना भएको नेकपा एकीकृत समाजवादीको जिल्ला नेतृत्वमा रहँदै आएका थिए ।

राजनीतिबाहेक उनी विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आएका छन् । उनको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ ।

यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यासायिक प्रतिष्ठानमा आचार्य संग्लन छन् । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गरेका उनले एमबीए र एमएडसम्मको अध्ययन गरेका छन् ।

काठमाडौंमा वालेनको जित निश्चित

देशको सबैभन्दा पुरानो र ठुलो महानगरपालिका काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)को जित पक्का भएको छ । बुधबार रातिसम्मको मतपरिणाम अनुसार, वालेनले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई करिब २१ हजार मतले पछाडि पारिसकेका छन् ।

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अब काठमाडौं महानगरमा करिब १३ हजार मत गन्न बाँकी छ । वालेनले ५६ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जन सिंहले ३५ हजार ४ सय ७८ मत प्राप्त गरेकी छन् ।

मेयर पदका अर्का उम्मेदवार एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् । उनले ३४ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । गन्न बाँकी रहेको सबै मत प्रतिद्वन्द्वीहरुको पक्षमा गए पनि ३२ वर्षीय वालेनलाई जित्न सक्ने अवस्था छैन ।

वालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्तामाझ उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौंमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । २०७२ सालको प्रलयकारी भूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि बनाएका थिए ।

यसैगरी उपमेयर पदमा भने एमालेकी सुनिता डंगोल विजयी हुने निश्चित भइसकेको छ । उनले ६२ हजार ८ सय ७८ मत प्राप्त गरिसकेकी छन् । उनले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई ४१ हजारभन्दा बढी मतले पछाडि परेकी छन् । २९ वर्षीया सुनिताका निकट्तम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २१ हजार ५ सय १४ मत प्राप्त गरेका छन् ।

सुनिता सुरुमा वालेनजस्तै स्वतन्त्र रूपमा मेयरको उम्मेदवार बन्ने समाचारका कारण चर्चामा थिइन् । तर, उनलाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनाएको थियो । यसअघि उनले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा रहेर पनि काम गरेकी थिइन् ।

सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल सुनिताले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि चर्चा बटुलेकी छन् । सुनिताले सामाजिक विज्ञान विषयमा स्नातकोत्तर पनि गरेकी छन् ।

देशका ६ मध्ये अब काठमाडौं महानगरको मात्र आधिकारीक रुपमा अन्तिम नतिजा आउन बाँकी छ । बाँकी ५ महानगरको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य विजयी भएका छन् ।

यसैगरी भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी, विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की तथा वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भइसकेका छन् ।

तुल्सीपुरमा टिकाराम

दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । उपमहानगरको मेयरमा टिकाराम खड्का र उपमेयरमा पनि एमालेकै स्यानी चौधरी विजयी भएका हुन् । टिकाराम निकट्तम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतले पछि पार्दै मेयर बनेका हुन् ।

उनले ३१ हजार ४ सय ८ मत प्राप्त गरे । गेहेन्द्रले २७ हजार ७ सय १७ मत प्राप्त गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले दिए । उपप्रमुखमा स्यानीले निकट्तम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५ सय ३२ मतले पछि पार्दै विजयी भएकी हुन् । उनले ३० हजार ५ सय ९७ मत प्राप्त गरिन् । जोगबहादुरले २१ हजार ६५ मत ल्याए ।

तुल्सीपुर उपमहानगरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुल्सीपुरमा उपमहानगरमा १ लाख १ हजार ४ सय ६० मतदाता रहेका छन् । त्यसमध्ये वैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार ३ सय ३६ मत खसेको थियो ।

तुल्सीपुरमा २०४९ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा कांग्रेसका शंकरप्रसाद आचार्य मेयर र कांग्रेसकै प्रदीपबहादुर शाह उपमेयर निर्वाचित भएका थिए । त्यतिबेलाका फूलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरमा गाभिएका छन् । २०४९ सालमा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

मेयरमा निर्वाचित भएपछि टिकारामले सञ्चारकर्मीसँग कुराकानी गर्दै तुल्सीपुरलाई समृद्ध बनाउने बताएका छन् । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने दाबी गरे । नवनिर्वाचित उपप्रमुख स्यानीले पिछडिएका वर्गको उत्थान गर्न आफु तत्पर रहने बताइन् ।

प्रतिक्रिया