दुई दिन विदाले पम्पमा इन्धन अभाव

काठमाडौं । सरकारले सातामा दुई दिन दिएको विदाको प्रत्यक्ष असर इन्धन आपूर्तिमा परेको छ । इन्धनको खपत कम गर्ने उद्देश्यले सरकारले शनिबारसहित आइतबारसमेत विदा दिएको छ ।

यो बिदाका कारण पछिल्लो समयमा नेपाल आयल निगमले ति दुवै दिन पम्पहरुलाई इन्धन बिक्री नगर्दा सोमबारदेखि राजधानीसहित देशभरको पम्पहरुमा पेट्रोल र डिजेल लिनेको ठूलो लाइन लाग्न सुरु भएको छ ।

निगमले शनिबार र आइतबार इन्धन बितरण नगर्दा सुरु भएको लाइन केहि दिन यस्तै रहने नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । निगमले दुई दिन इन्धन बितरण नगर्ने र मागको तुलनामा झण्डै २५ प्रतिशत कटौति गरेर इन्धन उपलब्ध गराउने नीतिका कारण बजारमा इन्धनको चर्को अभाव सिर्जना भएको हो ।

एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानकाअनुसार खपत अनुसार निगमले इन्धन उपलब्ध नगराएकाले पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्न सुरु भएको हो । उनकाअनुसार समग्रमा निगमले दैनिक खपत हुने परिमाणमध्ये झण्डै २५ प्रतिशत कटौति गरि इन्धन उपलब्ध गराउँदै आएको छ ।

उनकाअनुसार शनिबार र आइतबार सरकारी विदा भएको अवस्थामा शुक्रबार नै ति दुवै दिनलाई पुग्ने गरि इन्धन उपलब्ध नगराउँदा आम उपभोक्ताले इन्धन लिन सास्ती व्यहोर्न बाध्य भएका हुन् । निगमले सबै डिपोलाई मागअनुसार इन्धन उपलब्ध नगराउन पत्राचार गरेका कारण पनि पम्पहरुले मागअनुसार इन्धन पाएका छैनन् ।

प्रधानकाअनुसार उपत्यकामा दैनिक पेट्रोल ११ सय किलोलिटर र डिजेल १६ सय किलोलिटर खपत हुन्छ । तर निगमले गत् शुक्रबार थानकोटमार्फत ९ सय १६ किलोलिटर पेट्रोल र १ हजार २३ किलोलिटर डिजेल बितरण गरेको थियो । यसमध्ये सरकारी पम्पलाई १ सय ४७ किलोलिटर पेट्रोल र १ सय किलोलिटर डिजेल बितरण गरिएको थियो ।

यस्तै निजी पम्पलाई ७ सय ७० किलोलिटर पेट्रोल र ९ सय १४ किलोलिटर डिजेल बितरण गरेको थियो । गत बुधबार र बिहिबार पनि निगमले मागको तुलनामा थोरै इन्धन उपलब्ध गराएको थियो । निगमले बुधबार पेट्रोलतर्फ ७ सय ४० किलोलिटर र डिजेल ८ सय ३ किलोलिटर बितरण गरेको थियो । यस्तै बिहिबार पेट्रोलतर्फ ७ सय ५८ र डिजेलतर्फ ९ सय ३० किलोलिटर बितरण गरेको एशोएिसनका अध्यक्ष प्रधानले जानकारी दिए ।

‘पछिल्लो केही समय यतादेखि मागको तुलनामा निक्कै कम परिमाणमा इन्धन उपलब्ध भइरहेको छ, त्यसमा पनि शनिबार र आइतबार विदा भएपछि शुक्रबार नै ति दुवै दिन खपतअनुसारको इन्धन उपलब्ध नहुँदा पम्पमा उपभोक्ताको लाग्ने नै भयो,’ प्रधानले भने,‘दुई दिन इन्धन नपाइदा माग र आपूर्तिबीच खाडल हुँदा केही दिनसम्म यस्तै लाइन लाग्न सक्छ ।’

स्रोतकाअनुसार पछिल्लो समयमा निगमका कर्मचारीहरु मिलोमतो गरि कमिशनको आधारमा पम्पलाई कम वेशी परिमाणमा इन्धन उपलब्ध गराउन सुरु गरेका छन् । स्रोतले भन्यो,‘जुन पम्पले कमिशन दिएको छ, त्यसलाई मागअनुसार नै इन्धन दिन थालिएको छ, कमिशन नदिने पम्पलाई मागको तुलनामा २० देखि ३० प्रतिशत घटाएर इन्धन उपलब्ध गराउन थालिएको छ ।’


यता नेपाल आयल निगमले भने मागअनुसार नै इन्धन उपलब्ध गराएको दाबी गरेको छ । निगम स्रोतकाअनुसार उपत्यकाको दैनिक माग पेट्रोलतर्फ ६ सयदेखि ७ सय किलोलिटर र डिजेलतर्फ ९ सयदेखि १ हजार किलोलिटरसम्म छ । निगमकाअनुसार बुधबार ७ सय ३८ किलोलिटर पेट्रोल र ८ सय ३ किलोलिटर डिजेल थानकोट डिपोबाट बितरण गरिएको थियो ।

यस्तै बिहिबार ७ सय ५५ किलोलिटर पेट्रोल र ९ सय ३० किलोलिटर डिजेल बितरण गरिएको थियो । शुक्रबार भने ९ सय १४ किलोलिटर पेट्रोल र १ हजार २२ किलोलिटर डिजेल बितरण गरिएको निगमले जनाएको छ । सोमबार मात्रै १ हजार ३ सय किलोलिटर पेट्रोल र १ हजार ४ सय किलोलिटर डिजेल बितरण गरिएको निगमको भनाई छ ।

सातामा दुई दिन बिदाको दिन इन्धन उपलब्ध नहुने र मागअनुसार इन्धन उपलब्ध नगराइने प्रवृतिका कारण बजारमा इन्धनको अभाव हुन थालेको छ । निगमले आइतबार मात्रै इन्धनको मूल्य बृद्धि गरेको थियो । पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपैयाँ बृद्धि गरिएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ८०, डिजेल १ सय ६३ र खाना पकाउने ग्यास प्रतिसिलिण्डरमा २ सयले बृद्धि गरि १ हजार ८ सय पु¥याइएको छ ।

भारतमा इन्धन सस्तो भइरहँदा नेपालमा भने इन्धनको मूल्यले पछिल्लो सबै रेकर्ड तोडेको छ । इतिहासकै सबैभन्दा उच्च बिन्दुमा इन्धनको मूल्य पुगेको छ । इन्धनको मूल्य बृद्धिका कारण महँगी बढेर सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।

इन्धनको मूल्य बृद्धि हुँदा ढुवानी खर्च र लागत खर्चसमेत बढेका कारण दैनिक उपभोग्य बस्तु, यातायात, स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रमा चरण रुपमा महँगी चुलिएको छ । यसैबीच बढ्दै गएको इन्धनको मूल्य फिर्ता लिन विभिन्न उपभोक्तवादी संघसंस्थाका साथै बिद्यार्थी संघसंगठनले माग गरेका छन् । बृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए आन्दोलनमा और्लने बिद्यार्थी संगठनहरुले चेतावनीसमेत दिएका छन् ।

नेपालभन्दा भारतमा सस्तो

केही समय अघिसम्म नेपालमा भारतको तुलनामा प्रतिलिटर १५ देखि २५ रुपैयाँको हाराहारीमा पेट्रोल र डिजेल सस्तो हुन्थ्यो । तर पछिल्लो समयमा भारत सरकारले कर घटाएका कारण नेपालभन्दा भारतमा इन्धन सस्तो भएको छ ।
भारतमा पेट्रोल प्रतिलिटर भारु ८५ (१३६.१३ नेपाली रुपैयाँ) देखि अधिकतम भारु १०८(१७२.९६ नेपाली रुपैयाँ) मा सोमबारदेखि बिक्री भइरहेको छ । यस्तै डिजेल प्रति लिटर भारु ७९(१२६.५२ नेपाली रुपैयाँ) देखि अधिकतम भारु ९५(१५२.१४ नेपाली रुपैयाँ) मा बिक्री भइरहेको छ । यस्तै ग्यासतर्फ प्रति सिलिण्डर भारु १०२(१६०४.७० नेपाली रुपैयाँ) देखि अधिकतम भारु १०५०(१७८१.५८ नेपाली रुपैयाँ) मा बिक्री भइरहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धनका कारण महँगी चरम बिन्दुमा पुगेपछि सर्वसाधारणलाई राहत दिने उद्देश्यले शनिबार पेट्रोल र डिजेलको उत्पादनमा लाग्ने अन्त शुल्कमा कटौति गरेका छन् । जसअनुसार पेट्रोलतर्फ भारु ८(१२.८१ नेपाली रुपैयाँ) र डिजेलतर्फ भारु ६(९.६१ नेपाली रुपैयाँ) कटौति गरिएको छ । यसअघि २०७८ कात्तिक १८ गते पनि भारत सरकारले उत्पादनमा लाग्ने अन्त शुल्कमा कटौति गरेको थियो । त्यो वेला पेट्रोलतर्फ भारु ५(८ नेपाली रुपैयाँ) र डिजेलतर्फ भारु १० (१६ नेपाली रुपैयाँ) अन्त शुल्क कटौति गरेको थियो ।

प्रतिक्रिया