परिवेश सार्वजनिक

काठमाडौं । साहित्यकार लीला झाद्वारा लिखित ‘परिवेश’ कथा संग्रह बजारमा आएको छ । सोमबार एक समारोहका बीच राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले उक्त पुस्तकको विमोचन गरिन् । उनले संग्रहमा रहेका कथाले नेपाली समाजको विविध आयामलाई कलात्मक रुपमा उधिनेको बताइन् ।

उनले भनिन्, ‘समाज समस्याको खानी हो । महत्वकांक्षा पाल्नेहरु समाजका समस्याको खोजी गर्दछन् र समाधानका उपाय पनि पत्ता लगाउन प्रेरित गर्दछन् ।’ थापाले पुस्तकमा समावेश कथाले समाजको दुई सकारात्मक र नकारात्मक पाटालाई मज्जाले केलाएको जिकिर गरिन् ।

कार्यक्रमममा निर्मला बस्नेतले पुस्तकमाथि टिप्पणी गर्दै समय र समाजको आवाजलाई संग्रहमा उठान गरिएको धारणा व्यक्त गरिन् । उनले कथाकार झाले समसामयिक परिवेशलाई कथामार्फत चित्रण गर्न सफल भएको बताइन् । यसैगरी, नेपाली समाजको आँखिझ्यालको रुपमा कथा संग्रह आएको सामाजिक अभियन्ता राजिन रायमाझीले बताए ।

उनले समाज रुपान्तरण र यसका राजनैतिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई संग्रहमा कलात्मक रुपमा उतारिएको धारणा व्यक्त गरे । कथा संग्रह निकाल्ने प्रेरणा आफ्ना पिता महेशचन्द्र रेम्मीबाट पाएको बताउँदै साहित्यकार झाले समाजमा नैतिकता र संस्कारको खाँचो टड्कारो रुपमा रहेको बताइन् ।

उनले समाजमा विद्यमान परिस्थितिलाई आफूले कथामा उतार्ने कोशिस गरेको सुनाइन् । उनले कथामार्फत समाजमा भएका नकारात्मक चिन्तनलाई चिर्न आफूले प्रयास गरेको जिकिर गरिन् । पुस्तकमा १० वटा फरक फरक कथाहरु समावेश छन् । पुस्तकको मुल्य २०१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया