सूर्य नेपाल गल्फ : पूर्णको टिम पहिलो

काठमाडौं । सूर्य नेपाल प्रिमियर च्याम्पियनसिप प्रो—एम उपाधि आइतबार पूर्ण शर्माको टोलीले जितेको छ । पूर्ण प्रोफेसनल खेलाडी हुन् । काठमाडौंस्थित पार ७२ को गोकर्ण गल्फ क्लबमा आयोजना भएको उक्त प्रतियोगितामा पूर्णको टोलीले कुल १ सय ५३ अंकसहित उपाधि चुमेको हो ।

पूर्णको टोलीमा एमेच्योर खेलाडी महेन्द्र फागामी, समिर आचार्य र कस्मिरा शाह सहभागी थिए । प्रतियोगितामा पूर्ण एक्लैले ४४ अंक बटुलेका थिए । उनको टोलीका अन्य खेलाडी महेन्द्रले ३८, समिरले ३६ र कस्मिराले ३५ स्कोर गरेका थिए ।

प्रतियोगितामा प्रोफेसनल खेलाडी सञ्जय लामाको टोली दोस्रो भयो । उनको टोलीमा एमेच्योर खेलाडी विकास शाह, बाबु शेर्पा र प्रताप बोहरा सहभागी थिए । सञ्जयले ३८ स्कोर गरेका थिए । विकासले ३५, बाबुले ३५ र प्रतापले ३४ स्कोर गरे । उनको टोलीले कुल १ सय ४२ अंक बटुलेको थियो ।

यसैगरी प्रतियोगितामा रवि खड्काको टोली तेस्रो भयो । प्रोफेसनल खेलाडी रविको टोलीमा एमेच्योर आङ् डेन्डी शेर्पा, चन्द्र लिम्बु र किशोर बस्नेत सहभागी थिए । उक्त टोलीले कुल १ सय ४० अंक जोड्दै उपाधि चुमेको हो । रविले ३८, आङ डेन्डी शेर्पाले ३४, चन्द्रले ३४ र किसोरले ३४ अंक बटुलेका थिए ।

महिलातर्फको उपाधि भने कस्मिरा शाहले जितिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी कस्मिराले ३५ अंक जोडेकी थिइन् । लंगेस्ट ड्राइभको पुरस्कार दावा जे. शेर्पाले जिते भने क्लोजेस्ट टु दि पिनको पुरस्कार आरति राज्यलक्ष्मी राणाले हात पारिन् ।

प्रतियोगितामा १ सय १३ जना खेलाडीको सहभागिता रहेको थियो । सहभागी खेलाडीमध्ये २४ जना प्रोफेसनल थिए । प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवर्मा, सूर्य नेपालका पूर्वप्रबन्ध निर्देशक अभिमन्यु पोदार, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र एनजीएका अध्यक्ष टासी घलेलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया