उपाधि पीएसजीको पोल्टामा

पेरिस । फ्रेन्च लिग फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) ले चुमेको छ । फ्रेन्च लिग फुटबलको आफ्नो अन्तिम खेलमा पीएसजीले सजिलो जित हासिल गर्यो ।

च्याम्पियन बनिसकेको पीएसजीले आइतबार विहान खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मेट्जलाई ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । पीएसजीको सजिलो जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरेका थिए ।

खेल सुरु भएको २५औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

यसैगरी निर्धारित समयको ३१औँ मिनेटमा ब्राजिलियन स्टार नेयमारले आकर्षक गोल गर्दै पीएसजीको अग्रतालाई ३–० को बनाएका थिए । खेलको पहिलो हाफमा पीएसजीले आफ्नो विपक्षीसँग ३—० गोलको अग्रता लिएको थियो ।

यसैगरी निर्धारित समयको ५०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजीलाई ४–० गोलले अगाडि बढाएका थिए । खेलको ५८औं मिनेटमा ट्राओरले रातो कार्ड पाएपछि मेट्ज १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ६७औं मिनेटमा अनुभवी खेलाडी एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ५–० को जित दिलाएका थिए । पीएसजीका लागि डी मारियाले अन्तिम खेलमा गोल गरेका हुन् । पीएसजीका लागि उनले अन्तिम खेल पनि खेलेका हुन् ।
जितसँगै पीएसजीले उपाधिमाथि पनि कब्जा जमाएको छ ।

पीएसजीले उपाधि भने ४ खेल बाँकी रहँदै जितेको थियो । पीएसजीले १०औं पटक फ्रेन्च लिगको उपाधि जितेको हो । पीएसजीले यो सिजन ३८ खेलबाट ८६ अंक जोडेको छ । रेलिगेसनमा परेको मेट्जको भने ३१ अंक छ ।

पीएसजीले यसअघि सन् २०१९–२० सिजनमा फ्रेन्च लिगको उपाधि जितेको थियो । अघिल्लो सिजनको उपाधि भने लिलेले जितेको थियो । हालसम्म ३ वटा क्लबले मात्र १० पटक फ्रेन्च लिगको उपाधि जित्न सकेका छन् ।

पीएसजीका अतिरिक्त मार्सिल्ले र सेन्ट एटिनले पनि १० पटक फ्रेन्च लिगको उपाधि चुमेका छन् । पीएसजीले पहिलो पटक सन् १९८५–८६ सिजनमा फ्रेन्च लिगको उपाधि जितेको थियो । पीएसीज हालसम्म ९ पटक फ्रेन्च लिगमा उपविजेता बनेको छ ।

प्रतिक्रिया