आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं । एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरे । आदर्श विद्या मन्दिर (एभीएम) का अतित गुरुङ र जेश्नु महर्जन तेश्रो भए ।

यसैगरी गल्र्सको स्वर्ण भिडन्तमा शुभश्रीले एभीएमकी अर्सना महर्जनलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा हराइन् । प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी प्रज्ञा भेले र एलटीटीसीकी सुरम्या शाक्य तेश्रो बने ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो भए । उनले फाइनलमा एभीएमका एलेन महर्जनको चुनौती ११–४, ७–११, ११–७, ८–११ र ११–६ ले पन्छाए । भानुभक्त स्कुलका उज्ज्वल मानन्धर र दरबार हाइ स्कुलका शंकर पहरीले तेश्रो स्थानमा चित्त बुझाए ।

उक्त स्पर्धाको गल्र्स फाइनलमा एपीएफकी इभाना थापा मगरले प्रभात इङलिस स्कुलकी प्रदिपा सुवाललाई ११–८, ११–३ र ११–४ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् । एपीएम क्लबकी योङगी पौडेल र नेपाल आर्मीकी सुस्मिता खड्का तेश्रो स्थानमा रहे ।
जुनियर ब्वाइजको सिंगल्समा एपीएफका रुविन महर्जन र मोरङका बोधित डिसीले फाइनल भिडन्त पक्का गरेका छन् । सो स्पर्धाको गल्र्समा एपीएफकी वियंका राई र आर्मीकी दिया देउलाले फाइनल खेल्ने छन् । विभिन्न ८ स्पर्धा समावेश प्रतियोगितामा ६ स्पर्धाको फाइनल सम्पन्न भएको छ । बाँकी २ स्पर्धाको फाइनल अन्तिम दिन सोमबार हुने छ ।

यसैगरी रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् । नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । शंखुवासभाका छत्रबहादुर तामाङ र लम्जुङका कुशल न्यौपाने तेश्रो भए ।

चावहिलको मैजुबहालस्थित विश्व शिक्षा सदन विद्यालयमा भएको महिला फाइनलमा स्मृतिले तनहुँकी सनिता भट्टराईलाई २–१ को सेटमा हराइन् । झापाकी सुजाता लिम्बू र तेह्रथुमकी करुण लिम्बू तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाए ।

विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सोही विभागका प्रशासकीय अधिकृत सारङगिन निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगिताको पुरुषमा १४ र महिलामा ११ खेलाडीले प्रतिस्पर्धा गरेको साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । पारा राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुँदैछ ।

प्रतिक्रिया