दुई उपमहानगर बाँकी

काठमाडौं । देशभर रहेका ११ मध्ये आइतबार रातिसम्म ९ वटा उपमहानगरपालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अब २ वटा उपमहानगरको मात्र अन्तिम नतिजा आउन बाँकी रहेको छ । नतिजा आउन बाँकी रहेका उपमहानगरमा जनकपुर र तुल्सीपुर रहेका छन् । जनकपुर उपमहानगरको मतगणना निकै सुस्त गतिमा भइरहेको छ । हालसम्म स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ९ हजार १ सय १४ मत ल्याउँदै मेयर पदमा सबैभन्दा अगाडि छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ७ हजार १ सय ९३ मत ल्याएका छन् ।

जनकपुर उपमहानगरको उपमेयर पदमा नेपाली कांग्रेसका किशोरी साह १० हजार ६ सय ४० मतसहित अग्रस्थानमा छन् । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले भने ८ हजार १ सय ४३ मत ल्याएकी छन् । तुल्सीपुर उपमहानगरमा एमालेका उम्मेदवार टिकाराम खड्का १३ हजार ५४ मतसहित पहिलो स्थानमा रहेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५ सय ६७ मत ल्याएका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले १२ हजार २ सय ८५ र नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ९ हजार ५ सय ७४ मत ल्याएका छन् ।

धनगढी र धरान उपमहानगरको मेयर पदमा भने आइतबार स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए । उनले २६ हजार ८ सय ६५ मत ल्याए । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वडले १४ हजार ८ सय १७ मत पाए । धनगढीको उपमेयरमा एमालेकी कन्द्कला कुमारी राना विजयी भइन् । उनले १५ हजार ४ सय ७९ मत ल्याइन् । नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६ सय ७० मत पाइन् ।

धरान उपमहानगरको मेयरमा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भए । उनले २० हजार ८ सय २१ मत ल्याए । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । उपमेयर पदमा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा विजयी भए । उनले २० हजार ५ सय १० मत ल्याए । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए ।

यसैगरी इटहरी उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल विजयी भए । उनले ३३ हजार ४९ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका यामकुमार सुब्बाले १८ हजार ३१ म्त पाए । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भइन् । उनले ३२ हजार ४ सय ३६ मत पाइन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका केशवकुमार बिष्टले १८ हजार ३१ म्त पाए ।

अन्य उपमहानगरको नतिजा भने शनिबार नै आइसकेको छ । हेटौँडा उपमहानगरको मेयरमा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश वानिया निर्वाचित भएका थिए । बुटबलको मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएका थिए ।

कलैयाको मेयरमा एमालेका विनोदप्रसाद साह र उपमेयरमा पनि एमालेकै रौशन परविन निर्वाचित भएका थिए भने नेपालगञ्जको मेयरमा कांग्रेसका प्रशान्त बिष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राइ विजयी भएका थिए । जितपुर—सिमराको मेयरमा माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका थिए । घोराही उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसी विजयी भएका थिए ।

महानगरपालिकाको नतिजा आउन भने अझै केही समय लाग्ने देखिएको छ । हालसम्म एउटा महानगरको मात्र अन्तिम नतिजा सार्वजनिक भएको छ । शनिबार विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भएका थिए ।

अन्य महानगरमा भने मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ४१ ह्जार २ सय ७८ मतसहित अगाडि छन् । कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८ सय ५५ र एमालेका केशव स्थापितले २३ हजार २४ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोल ४२ हजार ४ सय २८ मतसहित अग्रस्थानमा छिन् । उनका प्रतिद्वन्द्वी २८ हजारभन्दा बढी मतले पछाडि छन् ।

ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन ३३ हजार ७ सय ६७ मतसहित पहिलो स्थानमा छन् । उनका प्रतिद्वन्द्वी १९ हजार मतले पछाडि छन् । उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले १८ हजार ९ सय ७६ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी ४ हजारभन्दा बढी मतले पछाडि छन् । पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य ४३ हजार ५ सय ६५ मतसहित अगाडि छन् । एमालेका कृष्णबहादुर थापाले ४० हजार १ सय २३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ४५ हजार ६ सय ४९ मतसहित अगाडि छिन् । कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार ६ सय ५४ मत ल्याएकी छन् ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल ३९ हजार १ सय ५६ मतसहित अगाडि छिन् । एमालेका विजय सुवेदीले ३० हजार ४ सय ८८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ४१ ह्जार ३ सय ७५ मतसहित अगाडि छन् । उनका प्रतिद्वन्द्वी १७ हजार मतले पछाडि छन् ।

वीरगञ्ज महानगरको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह ३३ हजार ९ सय १९ मतसहित अगाडि छन् । एमालेका विजय सरावगीले १७ हजार ८ सय ८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका इम्तियाज आलम २३ हजार १ सय ६४ मतसहित अगाडि छन् । उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा १८ हजार मतले अगाडि छन् ।

प्रतिक्रिया