भारतीय गायिका कनिकाले गरिन् बिहे

काठमाडौं । भारतीय गायिका कनिका कपूरले विवाह गरेकी छन् । भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनले शुक्रबार लन्डनमा व्यापारी गौतम हथिरामानीसँग विवाह गरेकी हुन् । कनिकाले आफ्नो विवाहको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

‘र मैले हुन्छ भनें। परीहरू कथामा मात्र विश्वास नगर्नुहोस्। सपना देख्नु किनकी एक दिन ती सपना साकार हुनेछन्। मैले मेरो राजकुमार भेट्टाएँ, मैले मेरो सारथी भेट्टाएँ । हामीलाई भेट्न दिनु भएकोमा ब्रह्माण्डलाई धन्यवाद । म हाम्रो यात्रासँगै सुरु गर्न उत्साहित छु, तिमीसँग बुढ्यौली हुन, तिमीलाई माया गर्न र तिमीसँग सिक्न । तर, सबैभन्दा महत्त्वपूर्ण, तिमीसँग हाँस्न । मलाई हरेक दिन मुस्कान दिएकोमा धन्यवाद । मेरो सबैभन्दा मिल्ने साथी, मेरो सहयात्री र मेरो हिरो’ उनले लेखेकी छन् ।

कनिकाले मनिष मल्होत्राको डिजाइनमा तयार भएको गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् भने गौतमले पनि गुलाबी रंगकै शेरवानी लगाएका थिए । कनिका र गौतम विगत एक वर्षदेखि एकअर्कासँग प्रेममा थिए । कनिकाले १८ वर्षको उमेरमा व्यवसायी राज चन्डोकसँग विवाह गरेकी थिइन् । कनिका र राजका तीन सन्तान अयाना, समारा र युवराज छन् ।

कनिका लखनउमा हुर्केकी हुन् । सन् १९९७ मा विवाहपछि उनी लन्डन गइन्। विवाहको १२ वर्षपछि उनको श्रीमानसँग झगडा भयो । सन् २०१० मा उनले श्रीमानको घर छाडेर लखनउ फर्किइन्। त्यसपछि सन् २०१२ मा उनले राजसँग डिभोर्स गरिन् । डिभोर्स गरेपछि उनी आफ्नो सांगीतिक यात्रामा रमाइरहेकी छन् । उनले ‘बेबी डल, बिट पे बोटी, चिट्टिया कलाइयाँ र देसी लुक’ जस्ता थुप्रै हिट गीत गाएकी छन् ।

प्रतिक्रिया