अन्तिम खेलमा युगान्डामाथि नेपालको जित

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम महिला टि२० आई खेलमा युगान्डालाई ३३ रनले पराजित गरेको छ । योसँगै पाँच महिला टि२० आई खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ । जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ बलमा सर्वाधिक २६ रन बनाइन् । केभिन एविनो १५, फिओना कुलुमे ८ र जेनेत म्बावाजी १० रनमा आउट भए । सकिरा सडिक १७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहिन् ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । अस्मिना कर्माचार्य र हिरान्माये रोयले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डेले ६१ बलमा ३ चौकासहित ४९ रनमा रन आउट भइन् ।

ज्योति १८ औं ओभरको दोस्रो बलमा रन आउट भएपछि घरेलु मैदानमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी बन्नबाट एक रनले चुकेकी थिइन् । यस सिरिजमा उनी दोस्रो पटक अर्धशतकबाट चुकेकी हुन् । ज्योति यसअघि तेस्रो खेलमा ज्योति ४७ रनमा आउट भएकी थिइन् । पहिलो विकेटका लागि सीता रानामगर र ज्योतिले ८.३ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । सीता फिओना कुलुमेको योर्कर बलमा १७ रनमा बोल्ड भइन् । सीताले २४ बलमा ३ चौका प्रहार गरिन् । इन्दु ८ रनमा आउट भइन् ।

तल्लोक्रमकी कविता जोशी १५ बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहिन् । डली भट्ट र रुविना क्षेत्री दुबै शून्यमा रन आउट भए । अप्सरी बेगम ५ बलमा २ चौकासहित ११ रनमा अविजित रहिन् । कोन्सी एविको र फिओना कुलुमेले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया