श्रम र सीपको सुकिलो नाम : कालु कुमाले

तेजविलास अधिकारी

० अरनिकोले स्थापित गरेको नेपाली कलाको उच्च गौरवलाई धान्न सक्ने कलाकारको कोटिमा कालु कुमालेको चर्चा हुने गरेको छ । समकालीन सन्दर्भमा एउटा खुल्ला इतिहासको पुस्तक र वर्तमानमा मूर्तिविज्ञानका ज्ञाताको रुपमा कुमालेलाई सहजै स्वीकार गर्न सकिन्छ

कालु कुमाले, माता ज्ञानी थकु र पिता सानु कुमालेको कोखबाट वि.सं. १९९० साल जेठ २७ गते ललितपुरको थपाहिटी ओकुबहालमा जन्मिनु भएको हो । उहाँलाई साधारण किसान परिवारमा बाल्यकालदेखि नै आर्थिक अभाव भएका कारण औपचारिक शिक्षा आर्जन गर्ने अवसर मिलेन । १२ वर्षको उमेरमै वैवाहिक जीवमा बाँधिनु भएका कुमाले व्यावहारिक जञ्जालमा पर्नुभयो । पहिलो दाम्पत्य जीवन सफल हुन नसकेका कारण १५ वर्षको उमेरमा लक्ष्मीमायासँग दोस्रो विवाह हुन पुग्यो । एकातिर आर्थिक अभाव एवं अर्कोतर्फ १३ जना सन्तानको जन्म हेरचाह र शिक्षादीक्षाले परिवारको कार्यभार गहकिलो बन्यो । किसानी परिवारमा हुर्किएर अगाडि बढेका कुमालेको रुचिको क्षेत्र खेतीकिसानी भने थिएन ।

कुमालेले आफ्ना बाबुले सिकेको सीप राम्ररी सिक्नु भयो । माटाका भाँडा बनाउने कला हातमा आएपछि उहाँको जीवनले अर्कै मोड लिन थाल्यो । आफ्ना पिताले बालसुलभ कालुलाई माटोमा खेल्न रुचि लगाएको देखेर सीप सिक्न अभिमुख गराए । निर्माणात्मक मूल्यांकन र ऊर्जाले घर सिर्जनागृह बन्न पुग्यो । अब उहाँको प्रयासले व्यवसाय बन्न खोज्यो । मैनका बाघचाल, अष्टमातृका गण र बाजा आदिले उहाँलाई कलायात्रामा खरो उतार्यो ।

६० को दशकपछि युद्धका कारण तिब्बतीहरु ल्हासा छाडेर नेपाल आएका थिए । उनीहरुले सँगै ल्याएका टुटेफुटेका मूर्तिलाई पुनः बनाउने अवसर कुमालेलाई मिल्यो । श्रम र सीपको कदर अनि आय आम्दानी पनि बढ्न थाल्यो । एकपछि अर्को गर्दै उहाँमा ऊर्जा थपिँदै गयो ।

कुमालेको कलायात्रा त्यतिबेला देशभरि फैलियो जतिवेला मूर्तिकलामा समर्पित भएबापत् २०४२ सालमा धातु मूर्तिकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त भयो । त्यसो त उहाँको सीपले देशको सीमा नाघेर विभिन्न देशमा प्रवेश पाइसकेको थियो । उहाँका कलाकृतिको माग बिस्तारै अन्तर्राष्ट्रिय जगतमा बढिरहेको थियो । चालिसको दशकको दोस्रो वर्षदेखि नै औपचारिक हिसाबले नेपाली मूर्तिकलालाई राम्ररी चिनाउने श्रेय उहाँले पाउनु भयो । त्यसपछि त के चाहियो प्रतिवर्ष जस्तै सम्मान र पुरस्कारको पनि निरन्तरता रहेको देखिन्छ ।

क्रोधकला शिरोमणिको उपाधिले सम्मानित भइसक्नुभएका कालु कुमाले आफ्नो श्रम र सीपले आर्जन गरेको धनसम्पत्ति समाज सेवामा समेत निरन्तर लगाइरहनु भएको छ । मूर्ति निर्माण गरेर उपहार दिने, विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्ने तथा असहायहरुलाई सहयोग एवं भोजन गराउनेदेखि विविध क्षेत्रमा सहयोग पु¥याउँदै आउनुभएको छ । नेपाल कलाकार समाज, नेपाल रेडक्रस सोसाइटी, शाक्यसिंह बिहार, सुमंगल महाविहार, ओकुबहाल महाबुद्ध पेशागत कालिगढ संस्था आदि दर्जनौं संघ संस्थामा संगठित भएर उहाँले आफ्नो समाजसेवाको भावलाई निरन्तरता दिइ नै रहनु भएको छ ।

कुमालेले दर्जनौं कार्यशालामा सहभागी भइ आफ्नो प्रतिभालाई प्रस्तुत गर्नुभएको छ । साथै उहाँका कलाकृतिको देश तथा विदेशका विभिन्न कला ग्यालरी, संग्रहालय, संघ–संस्था तथा व्यक्तिगत रुपमा प्रदर्शनी भएका छन् । उहाँका कलाकृति आफ्नो स्टुडियोदेखि लण्डन, स्विरजरल्याण्ड, कोरिया, जापान, चीन, भारत, जर्मनी लगायतका देशमा चर्चा पाएको प्रसंग निकै पुरानो भइसकेको छ । भैरव र गणेशको मूर्तिका अतिरिक्त बज्रभैरव, मण्डला, बज्रयोगिनी, अजिमा, मेघसंबर, चक्रसंवर, कालचक्र लगायतका दर्जनौं मूर्तिको निर्माण गरेर उहाँले नेपाली मौलिक परम्परागत मूर्तिकलालाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ । कर्ममा मात्र विश्वास गर्ने क्रोधकला शिरोमणि कालु कुमाले प्रतिदिन र प्रतिछिन कलाकृति बनाउन मै केन्द्रित हुनुहुन्छ । उहाँ आफ्ना समवयी, अनुज तथा कलापारखी विभिन्न व्यक्ति व्यक्तित्वहरुसँग धेरै बोल्ने भन्दा पनि आफ्नो कलाकृतिबाट नै मुस्कानयुक्त संवाद गर्न चाहनुहुन्छ ।

संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीदेखि पछिल्ला पुस्ताका पत्रकार तथा कलापारखीहरुको नजरमा उहाँको चर्चाको मात्र एउटै कारण छ त्यो हो कलाकृतिप्रतिको नित्य समर्पण । अरनिकोले स्थापित गरेको नेपाली कलाको उच्च गौरवलाई धान्न सक्ने कलाकारको कोटिमा कालु कुमालेको चर्चा हुने गरेको छ । समकालीन सन्दर्भमा एउटा खुल्ला इतिहासको पुस्तक र वर्तमानमा मूर्तिविज्ञानका ज्ञाताको रुपमा कुमालेलाई सहजै स्वीकार गर्न सकिन्छ । आजको सन्दर्भमा कलाकार कुमालेलाई सम्मान गर्नु वा पुरस्कार दिनु भनेको पुरस्कार वा सम्मान प्रदान गर्ने संस्था देश र विदेशमा राम्ररी चिन्न आधार बनाउनु हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । सयौं सम्मान र पुरस्कारका निम्ति लायक कलाकार कुमालेको कलाको पूर्वसूचीको अध्ययन गर्ने र उहाँले निर्माण गरेको कलाको कलागर्भलाई दस्तावेज गर्ने काम गर्न सकियो भने मात्र पनि उहाँप्रति सच्चा सम्मान भएको मानिन्छ ।

नियमित साधनामा विश्राम नलगाउँदासम्म कलाकार कुमालेलाई आफनै सामु चिन्तनशील भइ नै रहको देखिन्छ । कालु कुमालेलाई भेट्न जाने सामान्य कलापारखीले त उहाँको त्यति धेरै कला र स्वभाव देखेर केही सोध्नुपूर्व राम्ररी अध्ययन नगरी हुँदैन भन्ने बोध गर्दछ । उहाँलाई केही सोध्नु भनेको एउटा कलाकृति निर्माणमा बिलम्ब गराउनु भन्ने महशुस हुन्छ ।

आफ्ना परिवारका सम्पूर्ण सदस्यको सहयोग र साथ निरन्तर पाउनुका साथै एउटा अनुकरणीय जीवन बाँच्न सक्नु कलाकार कालु कुमालेको सर्वोच्च प्राप्ति हो र समाजले उहाँबाट पहिलै यही बाटोबाट नै सिक्न सक्नुपर्छ । उहाँको कलाकृति र जीवनयात्राको अध्ययनविना नेपाली कलाको अध्ययन पूरा हुन सक्दैन । उहाँको अध्ययनमा पछिल्लो पुस्ताको ध्यान आकर्षितसमेत भएको देखिन्छ । कलाकार क्रोधकला शिरोमणि कालु कुमालेको जीवनकालमै भन्न सकिन्छ कि उहाँको योगदान नेपाली कलामात्र होइन विश्वकला मै अतुलनीय व्यक्तित्व भइसक्नु भएको छ ।

प्रतिक्रिया