तपाईँले भोट दिनुभएको मतपत्र गणना गरिएपछि कहाँ जान्छ

काठमाडौं । स्थानीय तहको निर्वाचनका निम्ति निर्वाचन आयोगले २ करोड ७ लाख वटाभन्दा केही बढी मतपत्र छापेको थियो । तिनै मतपत्रबाट जनमतको छिनोफानो गर्ने काम अहिले भइरहेको छ । गणना गरिसकेपछि मतदाताले छाप लगाएका र बाँकी रहेका मतपत्र के गरिन्छ भन्ने तपाईंलाई थाहा छ ?

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार गणना गरिएका मतपत्रहरू केही समयका लागि सुरक्षित राखिन्छ । यद्यपि प्रयोग नभएका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्रमा नष्ट गरिन्छ । ‘छाप लगाइएका मतपत्रहरूलाई मुद्दा पर्ने अवधिसम्म नष्ट गर्न मिल्दैन’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

परिणाम चित्त नबुझेको वा उम्मेदवारको योग्यतासम्बन्धी विषयमा मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उजुरी दिन पाउँछन् । मुद्दा परेको खण्डमा मतपत्रलाई प्रमाणस्वरूप राखिन्छ । त्यसरी राखिएका मतपत्रहरू मुद्दाको अन्तिम निर्णय नभएसम्म सुरक्षित राख्नुपर्छ ।

उजुरी नपरेका मतपत्रहरू चाहिँ जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै नष्ट गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । ‘मतपत्र नष्ट गर्ने प्रक्रियालाई धुल्याउने भनिन्छ । निर्वाचनमा प्रयोग भएका अन्य कागजहरू यसरी नष्ट पार्दा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू साक्षी बस्छन्’, उनले बिबिसीसँग भने ।
सरकारी कागजातहरू धुल्याउने नियमहरू २०२७ का अनुसार ‘धुल्याउनु’को अर्थ सरकारी कार्यालयमा रहेको कागजपत्रमा लेखिएका ब्यहोरा पढ्न, बुझ्न र त्यसको कुनै उपयोग गर्न नमिल्ने गरी रद्द गरिनु हो । ०७० सालमा भएको संशोधन भएको नियममा उक्त शब्दले कागजलाई आगोमा डढाउने बुझाउने उल्लेख गरिएको छ ।

‘धुल्याउनु भनेको त धुलो पार्नु हो । तर मन्त्रिपरिषद्ले किन डढाउनु भन्यो थाहा छैन । यो गलत व्याख्या हो । कागजहरू डढाउनु पनि पर्यावरणीय दृष्टिकोणबाट गलत नै हो’, आयोगकी भूतपूर्व आयुक्त इला शर्माले बिबिसीसँग भनिन् । यसरी ठूलो परिमाणमा रहेको कागज जलाउनु पर्यावरणीय दृष्टिकोणबाट उचित नभएको शर्माको तर्क छ । उनले आफू आयोगमा रहँदा नै मतपत्र व्यवस्थापनको लागि आगो लगाउनुबाहेक अरू विकल्पका लागि पहल गरेको दाबी गरिन् ।

‘मैले निकै समय मतपत्र डढाउने निर्णयमा हस्ताक्षर नै गरेकी थिइनँ किनकि यो निकै गम्भीर विषय हो । तर मतपत्र नष्ट गर्ने अन्य विकल्प पनि भएन’, उनले भनिन् । ‘त्यसरी कैयौँ क्विन्टल कागज आगो लगाउँदा पर्यावरणमा ठूलो असर पर्छ । अब त आयोगले विकल्प खोज्नुपर्छ ।’ उनले मतदाता नामावली, मतपत्रजस्ता कागजहरू पुनःप्रयोग गर्न सकिनेगरी धुलो पार्न सकिने बताइन् ।

देशका विभिन्न ठाउँमा वायुको गुणस्तर खतरनाक तहमा पुगेको विवरणहरू सार्वजनिक भएका छन् । यसै वर्ष मार्च महिनामा आइक्यू एअर नामक स्विस संस्थाले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं सबैभन्दा प्रदूषित सहर भएको देखिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागकी पूर्वप्रमुखसमेत रहेकी प्राध्यापक डा.रेजिना मास्केले कागज जलाउँदा निस्किने धुवाँले वातावरणमा मात्र नभई मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने बताइन् । उनका अनुसार कागज, कागजमा चिह्न र अक्षर छाप्न प्रयोग गरिएका रसायन र छाप लगाउन प्रयोग गरिएको मसी धुवाँमा मिसिएर निस्किँदा निकै हानिकारक बन्छन् । उनले भनिन्, ‘धुवाँ हावामा मिसिन्छ । हावा एकै ठाउँ रहँदैन र त्यसैलाई हामीले सासमा लिन्छौँ । त्यसले हामीलाई अस्वस्थ बनाउँछ ।’

उनको तर्कमा सहमति जनाउँछन् फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्था, डोकोका सहसंस्थापक राघवेन्द्र महतो । ‘बढ्दो वायुप्रदूषणमा कागज जलाउँदा निस्किएको धुवाँले झन् धेरै असर पार्छ । प्रदूषण झनै बढ्छ’, उनले बिबिसीसँग भने । उनले आफ्नो संस्थाले निर्वाचन आयोगसमक्ष २०७४ को निर्वाचनमै मतपत्र व्यवस्थापनको जिम्मेवारी आफूहरूलाई दिन आग्रह गरेको सुनाए । ‘हामीले ती कागजपत्रलाई धुलो बनाएर पुनर्प्रयोग गर्ने उद्योगलाई दिने योजना थियो । तर उहाँहरूले कानुनले नै जलाउने निर्देशन दिएको बताए’, उनले थप जानकारी दिए ।

विशेष उपकरणको प्रयोग गरी कागजहरूलाई धुलो बनाइन्छ । त्यसरी टुक्राएको कागजहरू उद्योगहरूले पुनः कागज नै बनाउन वा अन्य सामग्री बनाउन प्रयोग गरिन्छ । मतपत्रहरू पुनः आउँदो निर्वाचनमा मतपत्र बनाउन प्रयोग गर्न सकिने महतो बताउँछन् । ‘कागजमा राज्यको ठूलो लगानी छ । यो आगामी निर्वाचनको लागि स्रोत बन्न सक्छ । त्यसैले जलाउनुभन्दा उचित धुल्याएर पुनरुत्पादन गर्नु हो’, उनले उपाय सुझाए ।

कागज धुलो बनाउन विशेष किसिमको उपकरण प्रयोग हुन्छ । महतोका अनुसार ती उपकरणहरूमध्ये केहीले एकपटकमा ६ सय किलोग्रामसम्म कागज जलाउन सक्छ । उपकरण र जनशक्ति प्रयोगका कारण यो विधि केही खर्चिलो भए पनि ती कागजको पुनः प्रयोग गर्न मिल्ने भएकाले आर्थिक नोक्सानी नहुने उनी बताउँछन् । ‘यस प्रक्रियामा संलग्न कामदारहरूलाई धुलोले केही असर पु¥याउन सक्छ । त्यसैले सुरक्षा सामग्रीहरूको प्रयोग गर्नुपर्छ’, उनले भने । उनले आयोगले छापेको कुल मतपत्र धुल्याउन बढीमा एक महिना लाग्ने जानकारी दिए ।

राष्ट्र बैंकले झुत्रा नोट के गर्छ ?

बैंक तथा वित्तीय संस्थाहरूबाट संकलित विभिन्न दरका नोटहरू अन्ततः नेपाल राष्ट्र बैंकमा पुग्छन् । झुत्रा, मैला एवं खण्डित नोटलाई छुट्याइन्छ । प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र बैंकले साटिदिन्छ । त्यसरी संकलित नोट फेरि प्रयोग नहोस् भन्ने उद्देश्यले थापाथलीस्थित भट्टीमा जलाउने गरिएको थियो । तर पछिल्लो समय उक्त प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदूषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकोले त्यसको विकल्पमा आम्दानीसमेत गर्न सकिने प्रविधि भित्र्याइएको बैंकले जनाएको छ । (बिबिसी)

प्रतिक्रिया