महोत्सवमा २६ चलचित्र

काठमाडौं । नेपाल तथा अफ्रिकन मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यका साथ चलचित्र महोत्सव हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको आयोजनामा हुन लागेको १०औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२’ आगामी १५ जेठदेखि १७ सम्म तीन दिन राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी चलचित्र प्राप्त भएका मध्येबाट निर्णायक समितिले २६ वटा चलचित्र छानेको आयोजकले जनाएको छ ।

नेपालसहित १५ देशका २६ वटा चलचित्र छानिएको महोत्सवका अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिइन् । उनले कोरोना महामारी मत्थर भएकाले यतिबेला महोत्सव गर्न लागिएको बताइन् । उनले भनिन, ‘नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि एक दशक अघिबाट नेपालमा फेस्टिभल आयोजना गर्दै आएका छौं ।’

अध्यक्ष डा. मिश्रले सांस्कृतिक सम्बन्धबाट मानवताको विकास र संरक्षण हुने भएकाले चलचित्र महोत्सव गर्न लागिएको बताइन् । उनले भनिन्, ‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दाजुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत १० वर्षदेखि महोत्सवको आयोजना गर्दै आएका छौं ।’

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र छानिएका छन् । जसमध्ये अधिकांश अफ्रिकन मुलुकबाट चलचित्र चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित चलचित्रसमेत महोत्सवमा चयन भएको उनले जनाए । क्षत्रीका अनुसार महोत्सवका लागि चलचित्र चयन भएका विदेशी मुलुकमा बुर्किना फाँसो, इजिप्ट, ट्युनिसिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को लगायत रहेका छन् ।

उनले महोत्सवमा नेपालबाट ११ वटा चलचित्र छानिएको जानकारी दिए । जसमध्ये ७ वटा चलचित्र खुला प्रतिस्पर्धाअन्तर्गत द ब्लाक कर्नर, ऐना, राइज, शंका, कुइँनेटो, गरिमा तथा द डटर रहेका छन् । यस्तै, यसपटक विद्यार्थीका चलचित्रलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । डा. मिश्रका अनुसार महोत्सवमा विद्यार्थीले बनाएका चलचित्रलाई प्रतिस्पर्धाका रुपमा राखिएको छ । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।

प्रतिक्रिया