चिनियाँ विमान दुर्घटना ‘नियतवश’ !

वासिङ्टन । एकसय बत्तिस जनाको ज्यान जाने गरी भएको चाइना इस्टर्न एयरलायन्सको विमान दुर्घटना नियतवश नै गराइएको हुनुपर्ने बताइएको छ । अमेरिकी अधिकारीहरूले एबीसी न्युजसँग यस्तो बताएका हुन् ।
गत २१ मार्चमा कुन्मिङबाट ग्वांगझाउतर्फ उड्ने क्रममा बोइङ ७३७–८०० यात्रुवाहक जेट विमान चीनको गुआङ्सीस्थित पहाडी इलाकामा खसेको थियो । सो दुर्घटनामा सबै १ सय २३ जना यात्रु लगायत चालकदलका ९ जना सदस्यको ज्यान गएको थियो ।

यसबारेमा पहिलो पटक दि वाल स्ट्रिट जर्नलले खबर छापेको थियो । एबीसी न्युजसँग कुराकानी गर्ने अमेरिकी अधिकारीहरूले विमानको फ्ल्यापहरू चालु नरहेको र ल्यान्डिङ गियर तल नराखिएको बताएका छन् । साथै तिनीहरूले विमान झण्डै ठाडो तरिकाले खसेकाले यसका लागि नियतवश बल प्रयोग भएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् ।

सो विमान बेसरी जमिनमा बजारिँदा ६६ फुट गहिरो खाडल बनेको चिनियाँ अधिकारीहरूले बताएका थिए । एबीसी न्युजले अनुसन्धानकर्ताहरूले सो विमानका पाइलटहरूमध्ये एकजनाको जीवन र विगतको पृष्ठभुमिबारे पनि अधययन गरेका थिए । साथै ती पाइलट दुर्घटनाको केही समयअघि कुनै गम्भीर विषयलाई लिएर चिन्तित रहेको हुनुपर्ने विश्वास गरिएको छ ।
अमेरिकी राष्ट्रिय पारवहन सुरक्षा बोर्डले अनुसन्धानको सम्पूर्ण सूचना आफ्नो समकक्षी चीनको नागरिक उडयन प्रशासनबाट आउने तर नियामकहरू र बोइङले यान्त्रिक गडबडीको विषयलाई नउठाएको बताएको छ । यसैगरी अमेरिकी सुत्रहरूले चिनियाँ अनुसन्धानकर्ताहरूले पनि यस दुर्घटनाका सम्भावित कारण स्वरूप यान्त्रिक गडबडीको विषयलाई अघि नसारेको जनाएका छन् ।

प्रतिक्रिया