एन्फा निर्वाचन : कर्मा र पंकजबीच प्रतिस्पर्धा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । चार वर्षपछि हुन लागेको निर्वाचनमा शेर्पा र नेम्बाङ अलग अलग प्यानलसहित निर्वाचन लड्ने तयारीमा छन् ।

असार ६ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्म मनोनयन पत्र दर्ताको समय तोकेको बताइएको छ । शेर्पाले शुक्रबार उम्मेदवारी दर्ता गर्न लागेको जानकारी दिए । ‘आफ्नो कार्यकालमा सुरु गरेका कामको निरन्तरता । संस्थागत विकास, आर्थिक रुपमा एन्फालाई सक्षम बनाउनका लागि मैले फेरि उम्मेदवारी दिने निर्णय गरेको हु,’ उनले भने,‘ हाम्रो समयमा थुप्रै नयाँ कामको सुरुवात भएको छ । त्यसको निरन्तरता आवश्यक छ ।’

पूर्व अध्यक्ष गणेश थापाका विरुद्ध एकै ठाँउमा उभिएर मुख्य र दोस्रो वरियतामा पुगेका शेर्पा र नेम्बाङबीच निर्वाचित भएको झण्डै एक वर्षपछिबाट तिक्तता सुरु भएको थियो । त्यसले विस्तारै एन्फामा गुट देखिएको हो । हिजो एकै समूहमा लडेका यी दुई अब अलग अलग प्यानलसहित निर्वाचनमा होमिन लागेका छन् । शेर्पाले आफ्नो कार्यकाल सफल भएपनि सोचे अनुरुप काम गर्न भने नसकेको बताए । ‘आन्तरिक र बाह्यरुपमा अप्ठेरो पार्ने प्रयास भएकै हो । त्यसका वावजुद पनि हामीले थुप्रै नयाँ कामको सुरुवात गरेका छौं, ’ उनले भने,‘ कोरोना महामारीका कारण २ वर्ष सोचे जस्तो काम गर्न सकिएन । तर पनि हामीले काम अघि बढाइराख्यौं ।’

नेम्बाङले पनि शुक्रबार नै उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् । उनले एजेन्डासहित औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । चेन्ज एन्फाको नारासहित एन्फा नेतृत्वमा पुगेका शेर्पा र नेम्बाङका नाममा अहिले फुटबलमा तीब्र ध्रुब्रिकरण देखिएको छ । यसअघि १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो भने यसपटक २१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, २ महिलासहित १५ सदस्य निर्वाचित हुनेछन् । एक वरिष्ठ उपाध्यक्ष र १ महिलासहित ३ सदस्य यसपटक थपिएका हुन् । शेर्पा र नेम्बाङ दुवैले २१ सदस्यीय प्यानलसहित निर्वाचनमा होमिने तयारी गरिरहेका छन् । दुवैपक्ष आन्तरिक छलफलमा जुटिरहेको बताइएको छ ।

प्रतिक्रिया