प्रधानमन्त्रीको जिल्लामा कांग्रेसलाई पाँच, एमाले शून्य

डडेल्धुरा । सात वटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले दुई र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भएका छन् । यस नगरपालिकाका वडाहरूमा पनि कांग्रेसको सहज जित भएको छ ।

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी भएकी छन् ।

कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् । ०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले चार पालिकामा मात्र विजय भएको थियो ।

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा पाँचभ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ ।

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ । गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो ।

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृति समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ । त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्काे एकमा स्वतन्त्र उम्मेदबार आएका छन् ।

डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यसपटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताए ।

उनले भने, डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ र यो देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक संकटमा परेका बेला निकास दिनसक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम साउदले यसअघिका अरू दलका जनप्रतिनिधिहरूले कुरा मात्र गरेका तर विकासका काम नगरेका कारण यसपाली यहाँका नागरिकले कांग्रेसलाई छानेको दावी गरे । नेपाली कांग्रेसको वर्तमान नेतृत्वको नीति, जिल्लाका नेता तथा कार्यकर्ताहरूको सक्रियता तथा जिल्लामा पार्टी सभापति देउवाप्रति यहाँका जनताले गरेको भरोसाका कारण पनि अहिलेको जित हात लागेको उनले बताए ।

नेपाली कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्काले नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम अहिलेको स्थानीय तहको नतिजा भएको गरेकी छिन् ।

खड्काले भनिन्, ‘डा देउवाले यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरूमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्ने गर्नुहुन्छ । त्यस्तै पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभाहरूलाई पनि सम्बोधन गर्नुभयो । यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ ।’

गएको महाधिवेशनबाट जिल्लामा छानिएको नयाँ नेतृत्वको सक्रियता र सो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमहरू जनताको घरघरसम्म पुर्याउन सकेका कारण पनि यहाँको एक समूहले कांग्रेस पार्टी छोडेर अलग भए पनि यो निर्वाचनमा पार्टीले राम्रो परिणाम हात लागेको उनको बुझाइ छ ।

स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरूले प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् । प्रधानमन्त्रीको जिल्लामा उनले नेतृत्व गरेको दल नेपाली कांग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता पूर्वप्रधानान्त्री केपी ओलीको गृह जिल्ला झापाबाट भने परिणाम आउने क्रम जारी छ ।

प्रतिक्रिया