मिश्रित नतिजा : नागरिकमा विकासको आशा

बलेवा । पहिलोपटक राष्ट्रिय जनमोर्चाले बागलुङका १० स्थानीय तहमध्ये एक नगरपालिकामा नेतृत्व गर्न पाएको छ । जैमिनी नगरको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् । योसँगै जिल्लाभर रहेका चार नगरपालिकामध्ये राजमोले एक नगरमा नेतृत्व गर्ने अवसर पाएको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेकका दलबाट नगरको नेतृत्वमा पुग्ने राजमो तेस्रो दल हो । यसपटक नेकपा (माओवादी केन्द्र)ले पनि बागलुङमा नगरको नेतृत्व गर्न पाएको छैन ।

यद्यपि, यसपटकको निर्वाचनमा गलकोट नगर र बागलुङ नगरको उपप्रमुखका नेतृत्व माओवादीले गर्न पाएको छ । माओवादीले गाउँपालिकामा भने यसअघि पनि नेतृत्व गरिसकेको छ । गत निर्वाचनमा ताराखोलामा नेतृत्व गरेको माओवादीले यो पटक पनि अवसर पायो । जैमिनी नगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेको दल नेपाली कांग्रेससँग गठबन्धन गरेर पुन प्रमुख बनेका हुन् ।

अघिल्लो निर्वाचनको सहयात्री दल एमालेसँग राजमोले प्रतिस्पर्धा गरेको हो । सहकार्य फेर्दा नगरप्रमुख पुनसँग केही अवसर र केही चुनौती आउने देखिएको छ । स्थानीय तह गठनपछिको पहिलो निर्वाचनबाट नगरको नेतृत्व नपाएका दलहरू नेतृत्वमा पुगेपछि नगरवासीले ‘जाँच नभएको दल पाएको’ बताइन्छ । नेतृत्वमा नयाँ दल आएकाले सर्वसाधारणमा स्वभाविकरूपमा विकासे आशा देखिन थालेका हुन् ।

देशभर कमजोर शक्ति भए पनि बागलुङको बलियो शक्तिका रूपमा रहेको राजमोले नेतृत्व पाएको जैमिनी नगरमा प्रशासनिक सुधारका कामलाई मुख्यरूपमा सर्वसाधारणले लिने गरेका छन् । ‘नेतृत्वमा को आयो भन्दा पनि उसले काम कसरी गर्छ भन्ने हो, जितेकाहरूको परीक्षण सुरु भएको छ,’ जैमिनी नपा–१ का पूर्णप्रसाद शर्माले भने, ‘प्रशासनिक सुधार र पूर्वाधारको विकास हाम्रो नगरका मुख्य काम हुन्, उनीहरूप्रति आशावादी छौँ, के के गर्नुहुन्छ, त्यो त हेर्न बाँकी नै छ ।’

राजमोले यसअघि नेतृत्व पाएको बागलुङको बरेङ गाउँपालिका र उपाध्यक्ष पाएको काठेखोला गाउँपालिकामा सन्तोषजनक काम भएका प्रतिक्रिया आएका थिए । काठेखोलाको नेतृत्वमा एमाले थियो भने बरेङमा दुवै पद राजमोले नै पकड जमाएको थियो । जिल्लाभरका स्थानीय तहमध्ये गाउँपालिका र नगरमा फरकफरक दलको नेतृत्वको अनुभव यसपटक बागलुङले लिने देखिएको छ ।

जैमिनीमा राजमो प्रमुखको भूमिकामा हुँदा उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । बागलुङ नगर र गलकोट नगरमा कांग्रेस प्रमुखमा विजयी हुँदा माओवादीले उपप्रमुख जितेको छ । ताराखोलामा माओवादी केन्द्र अध्यक्ष र बरेङ गाउँपालिकामा राजमो अध्यक्ष हुँदा कांग्रेसले उपाध्यक्ष पाएको छ ।
यस्तै निसीखोलामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष, तमानखोलामा कांग्रेसले दुवै पद पाउँदा काठेखोला र बडिगाड गाउँपालिकामा पनि मिश्रित नतिजा आएको छ । ढोरपाटन नगरमा एमालेले प्रमुखमा निर्वाचित हुँदा उपप्रमुखमा कांग्रेसको उम्मेदवार विजयी बनेका छन् ।

सबै नतिजाले जिल्लाका सबै स्थानीय तहमा फरक विचार भएका प्रमुख र उपप्रमुख रहने निश्चित छ । फरक विचार भएका दल स्थानीय तहको नेतृत्वमा आउँदा सर्वसाधारणले भने ‘मिलेमतो र जनताको विपक्ष’मा हुने÷गर्ने काम नहोला भन्ने आशा गर्न थालेका छन् ।

प्रतिक्रिया