सलमानको चलचित्रमा गिल

मुम्बई । अभिनेत्री, मोडल तथा गायिका शहनाज गिल बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । भारतीय रियालिटी सो ‘बिग बोस १३’ बाट चर्चामा आएकी उनले अभिनेता सलमान खानको चलचित्र ‘कभी ईद कभी दिवाली’ बाट बलिउडमा छिर्दै छन् । अभिनेत्री गिलले चलचित्रको छायांकनसमेत सुरु गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले यस चलचित्रबाट आफू निकै उत्साहित भएको बताएकी छन् ।

उनले भनिन्, ‘म यो फिल्मलाई लिएर निकै उत्साहित छु । किनकी यो फिल्मबाट मेरो ठूलो सपना पूरा हुँदैछ ।’ फरहाद सामजीले निर्देशन गरिरहेको यो चलचित्रको छायांकनका लागि मुम्बईमा एक भव्य सेट तयार पारिएको छ ।

चलचित्रमा अभिनेता सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडेको प्रमुख भूमिका छ । साथै चलचित्रमा आयुष शर्मा, राघव जुयाल लगायतका कलाकारको समेत अभिनय रहेको निर्माण पक्षले जनाएको छ । ‘बिग बोस १३’ मा सलमानले होस्टको भूमिका निभाएका थिए भने गिल प्रतिस्पर्धी रहेकी थिइन् । आफूलाई पन्जाबको कट्रिना कैफ भन्न रुचाउने गिल उक्त सोबाट अभिनेता सलमानसँग नजिक भएकी थिइन् ।

यस्तै, उनी पछिल्लो समय सलमानको घरमा इदको पार्टी मनाउन समेत पुगेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अभिनेत्री गिलले ‘सत श्री अकाल इंग्ल्याण्ड, काला शाह काला, हौसला राख’ लगायतका पन्जाबी चलचित्रमा काम गरेकी छन् । यसैगरी उनले सयभन्दा बढी गीति भिडियोमा अभिनयसमेत गरिसकेकी छन् ।

प्रतिक्रिया