सन्तोषको जीवनीमा चलचित्र बन्ने

काठमाडौं । दीपक रौनियारले ‘बिबिसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि चलचित्र बनाउने भएका छन् । निर्देशक रौनियारले उनको जीवनीमाथि चलचित्र बनाउन लागेको जानकारी दिए । चलचित्रमा शाहको जीवनका संघर्ष र प्राप्त गरेको सफलताका विविध पाटालाई समेटिने जनाइएको छ । शाहको संघर्ष र सफलताको कथा धेरैका लागि प्रेरणादायक बन्न सक्ने भएकाले चलचित्र बनाउन लागेको निर्देशक रौनियारले बताए । चलचित्रका लागि मास्टरसेफ शाहसँगको संवाद सकिएको छ ।

निर्देशक रौनियारका अनुसार स्क्रिप्ट लेखनको काम भइरहेको छ । सन्तोष १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका थिए । उनले त्यहाँका विभिन्न होटेलमा १० वर्ष भाँडा माझ्ने काम गरेका थिए । त्यसपछि उनी सन् २०१० को अन्त्यमा बेलायत पुगेका थिए । जहाँ उनले निकै संघर्ष गर्नुपरेको थियो । अहिले उनी सिनामोन ग्रुपमा हेड सेफको रुपमा कार्यरत छन् । नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहेका शाहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ ।

निर्देशक रौनियारले आफ्नो पछिल्लो चलचित्र ‘द स्काइ इज माइन’ को छायांकन सकेपछि शाहको जीवनीमा आधारित चलचित्र बनाउने जनाएका छन् । रौनियारले यसअघि ‘सेतो सूर्य’ को निर्देशन गरिसकेका छन् । ‘द स्काइ इज माइन’ मा भारतकी अभिनेत्री तनिष्ठा चटर्जीको मुख्य भूमिका रहनेछ । यस्तै अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया