नेपालको पहिलो स्थानीय निर्वाचन

२१ वर्ष नाघेका पुरुषलाई मात्रै भोट हाल्ने व्यवस्था

काठमाडौं । २००४ साल जेठ २९ गते नेपालमा पहिलोपटक स्थानीय निकायको चुनाव भएको थियो । नेपालमा ७५ वर्षअघि राणा शासनकालमा राजधानी काठमाडौंमा स्थानीय निकायको निर्वाचन गराइएको थियो जसको पृष्ठभूमि तथा कतिपय विशेषता रोचक छ । २००४ साल जेठ २९ गते काठमाडौंको सहरी क्षेत्रका जनतालाई आफ्नो प्रतिनिधि छान्न मतदानको आयोजना गरिएको थियो । निर्वाचन आयोगले ०७३ सालमा प्रकाशित गरेको नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार निर्वाचित म्युनिसिपलिटी खडा गर्ने उद्देश्य सहितको उक्त निर्वाचन हालसम्मकै ‘पहिलो र ऐतिहासिक निर्वाचन’ हो । राणा प्रधानमन्त्री पद्म समशेरको आदेशमा उक्त निर्वाचन गराइएको थियो ।

पूर्व प्रशासक तथा नेपालको परराष्ट्र सम्बन्धसँग सम्बन्धित ऐतिहासिक पुस्तकहरूका लेखक डा. मदनकुमार भट्टराईका अनुसार चार किल्लाभित्र २१ वटा वडा कायम गरिएको थियो । उनले भने, ‘सीमांकन चाहिँ पूर्वधोबीखोला जसलाई रुद्रमति पनि भनिन्छ, पश्चिममा विष्णुमति, दक्षिणमा वाग्मती र उत्तरमा महाराजगञ्जलाई काठमाडौं नगरपालिका भनिएको थियो । २१ वटा वडा बनाएको थियो जसमा २१ जना जितेर आएका थिए । उहाँहरूलाई काम सिकाउने भनेर दशजना वरिष्ठ व्यक्तिलाई राणा सरकारले मनोनीत गरेको थियो ।’

नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार त्यसबेला २१ वर्ष नाघिसकेका पुरुषलाई मात्रै भोट हाल्ने व्यवस्था गरिएको थियो । उक्त निर्वाचनमा महिलाहरूले पनि भोट हाल्न पाउनुपर्छ भनी श्री ३ पद्मशमशेरसँग माग राखिएको भए पनि महिलाहरूलाई मतदानबाट वञ्चित गरिएको थियो ।
त्यसबेला २१ वटा वडामा ६८ हजार १ सय १८ जना मतदाता रहेको र सबैभन्दा बढी मतदाता र घरधुरी वडा–११ मा थिए । काठमाडौंकोे पहिलो निर्वाचनबाट २१ निर्वाचित र १० मनोनीत चयन गरिएको थियो । यस्तै सरकारी तिरो तिर्न बाँकी नभएका २५ वर्ष पुगिसकेका पुरुष मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था त्यसबेला गरिएको थियो ।

सरकारी जागिरदारहरूलाई निर्वाचनको उम्मेदवार बन्न रोक नलगाइएकाले कतिपय वडाबाट कर्मचारीहरू पनि निर्वाचित भएका थिए । २१ वटा वडामध्ये चार वटामा एक जना मात्रै उम्मेदवार भएकाले मतपेटिका राखिएको थिएन । एकभन्दा बढी उम्मेदवार उठेका वडाहरूमा मतदाताको संख्या र भौगोलिकताका आधारमा एकभन्दा बढी मत बाकसहरू राखेर २२ ठाउँमा मतदान केन्द्रहरूमा अलगअलग बाकस राखिएको थियो । नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार मतदानको अघिल्लो दिन नै भोलिपल्ट खसालिने मतपत्र घरघरमै पु¥याइएको थियो । यसले मतदाताले कसलाई मत दिए थाहा पाउन सकिन्थ्यो ।

प्रत्येक उम्मेदवारको फरकफरक रंगका छुट्टाछुट्टै मतपेटिकाहरू रहेको र ती खुला ठाउँमा राखिएकाले कसले कुन उम्मेदवारको पक्षमा भोट खसाल्यो भन्ने कुरा वरपर उभिएका मानिसहरूले त्यसबेला स्पष्ट रूपमा देखेको निर्वाचन आयोगको पुस्तकमा जनाइएको छ । काठमाडौंको उक्त निर्वाचनमा ६० देखि ६५ प्रतिशतसम्म मत खसेको बताइन्छ । २१ वडाबाट चुनिएका भुवनलाल प्रधान (एसएलसी प्रथम स्थान हासिल गरेका पूर्वमन्त्री तथा लेखक) पहिलो निर्विरोध जनप्रतिनिधि बनेका थिए ।

मनोनीत र निर्वाचित गरी ३१ सदस्यबाट काठमाडौं म्युनिसिपलिटीका सभापति र उपसभापति छनोट गरिएको थियो । पूर्व परराष्ट्रसचिवसमेत रहेका भट्टराईले भने, ‘राणा सरकारले मनोनीत मध्येका गेहेन्द्र समशेर थापा (दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख तथा कोलकातास्थित महावाणिज्यदूत÷परराष्ट्र सचिव तथा कूटनीतिज्ञ नारायण शमसेर थापाका पिता)लाई सभापति बनाइदियो भने निर्वाचित भएर आएकामध्ये प्राध्यापक शंखरदेव पन्त उपसभापति हुनुभयो । मनोनीतमध्ये एकजना महत्वपूर्ण व्यक्तिचाहिँ सरदार नरेन्द्रमणि आचार्य दीक्षित हुनुहुन्थ्यो जो पछि पहिलो परराष्ट्र सचिव पनि बन्नुभयो ।’

उनले भने, ‘त्यसबेलामा जितेर आउने व्यक्तिमा एकजना शेषराज दली पनि हुनुहुन्थ्यो जसले नेपालमा पहिलो साबुन कारखाना खोल्नुभयो । सरदार भीमबहादुर पाँडेको पुस्तक उक्त निर्वाचनलाई बालिग मतद्वारा नेपालमा भएको पहिलो आमचुनावका रूपमा उल्लेख गरिएको छ । सो पुस्तकमा शंखरदेव पन्त, यदुनाथ खनाल, शेषराज दली, भुवनलाल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ र पूर्णबहादुर एमएजस्ता प्रगतिशील व्यक्ति उक्त चुनावबाट छानिएको उल्लेख छ । उक्त चुनावले नेपालको पहिलो संविधान बनाउने श्रेय पाएका राणा प्रधानमन्त्री पद्मशमशेरले कल्पना गरेको प्रजातान्त्रिक व्यवस्थाको पूर्वाभ्यासका रूपमा नेपालका जनतालाई आशावादी बनाएको पाँडेले लेखेका छन् ।

काठमाडौं म्युनिसिपलिटी चुनावको रेखदेख गर्ने जिम्मेवारी दिइएका अधिकारीहरूमध्ये यदुनाथ खनाल पनि एक थिए जो आफैँ पनि चुनावमा लडेका थिए । त्यसबेला सदस्यमा चुनिएका उनीपछि नेपालका एकजना चर्चित कूटनीतिज्ञ बने । पूर्व परराष्ट्रसचिव मदन भट्टराई त्यस बेलाका मतदान अधिकारीहरूको सूचीमा गतिला र पढेलेखेका व्यक्तिहरू रहेको बताउँछन् । उनले भने, ‘त्यो बेलाका मतदान अधिकारीहरू नै एकसेएक हुनुहुन्थ्यो । त्यो बेला पढेलेखेका मानिसलाई कदर गरेर जिम्मेवारी दिन्थ्यो ।’

उनका अनुसार विभिन्न वडाहरूको चुनावको रेखदेख गर्ने जिम्मेवारी यसरी दिइएको थियो ।

वडा नं १ः फणीन्द्रप्रसाद लोहनी, प्रिन्सिपल, त्रिचन्द्र कलेज


वडा नं २ः हेडमास्टर लोकमान सिंह, पाटन स्कूल


वडा नं ३ः मास्टर भैरवबहादुर, गणित शिक्षक, दरबार स्कुल


वडा नं ४ः हेडमास्टर तुलसीबहादुर सिंह, संगीत विज्ञ


वडा नं ५ः प्राध्यापक नारायणबहादुर मानन्धर, नेपालको पहिलो पीएचडी


वडा नं ६ः मास्टर मोहनध्वज बस्नेत, डिप्लोमा इन इन्जिनियरिङ


वडा नं ७ः प्राध्यापक भैरवबहादुर प्रधान, प्रिन्सिपल, दरबार इन्टर कलेज


वडा नं ८ः प्राध्यापक भवानीराज पाण्डे, भूगर्भविद्


वडा नं ९ः चुडानन्द वैद्य, शिक्षक, दरबार स्कुल÷पछि अर्थ सचिव


वडा नं १०ः मास्टर वासुदेव भट्टराई, इतिहासका प्राध्यापक गुणदेव भट्टराई र सचिव तारादेव भट्टराईका पिता


वडा नं ११ः प्राध्यापक यदुनाथ खनाल, कूटनीतिज्ञ


वडा नं १२ः प्राध्यापक गोद्दतमान श्रेष्ठ, प्रिन्सिपल, त्रिचन्द्र कलेज


वडा नं १३ः मास्टर नेत्रबहादुर थापा, पूर्वप्रधानसेनापति धर्मपाल वरसिंह थापाका बुवा


वडा नं १४ः प्राध्यापक कुलनाथ लोहनी, प्राध्यापक, राजनीतिशास्त्र एवं पूर्व सचिव÷ लोकसेवा आयोगकी सदस्य उमा पाण्डेका पिता


वडा नं १५ः हेडमास्टर बोधविक्रम अधिकारी, दन्त्यकथा लेखक


वडा नं १६ः प्राध्यापक अमृतप्रसाद प्रधान, संस्थापक, अमृत साइन्स क्याम्पस


वडा नं १७ः मास्टर पार्थमणि आदी, दरबार स्कूल


वडा नं १८ः मास्टर तुलसीप्रसाद ढुंगेल


वडा नं १९ः प्राध्यापक साम्बदेव पाण्डे, प्राध्यापक, अर्थशास्त्र


वडा नं २०ः मास्टर ज्ञानप्रसाद शर्मा पोखरेल


वडा नं २१ः प्राध्यापक रत्नबहादुर विष्ट, प्राध्यापक, त्रिचन्द्र कलेज÷ प्रधानन्यायाधीश

प्रतिक्रिया