युएईको नयाँ शेखमा मोहम्मद बिन जायद चुनिए

युएई । शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएको त्यसको सरकारी समाचार एजेन्सीले जनाएको छन् । पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायद खासमा सन् २०१४ मा उनका सौतेनी दाइको नाममा युएईको वास्तविक कार्यकारी अधिकार अभ्यास गर्दै आइरहेका छन् ।  

शुक्रबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति तथा अबु धाबीका राजा(अमिर) शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको थियो । खलिफा बिन जायदको मृत्यु भएको एक दिनपछि नै शनिबार देशको संघीय सर्वोच्च परिषद्ले शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो । 

योसँगै मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेटका तेस्रा राष्ट्रपति चुनिएका छन् ।  युएई एक साना मुलुकहरू सम्मिलित फेडेरेसन राष्ट्र हो । यसको शासनको लागि सात सदस्य एमिरेटका राजा(अमिर) सम्मिलित रहने संघीय सर्वोच्च परिषद् निर्माण गरिएको छ । 

युएईमा सम्मिलित सातमध्ये सबैभन्दा ठूलो एमिरेट अबु धावीका राजा स्वत युएईको राष्ट्रपति हुने व्यवस्था छ । त्यस्तै दोस्रो ठूलो एमिरेट दुबईका राजा प्रधानमन्त्री हुन्छन् । सन् २००४ मा युएईका संस्थापक तथा अबु धावीका राजा जायद बिन सुल्तान अल नाह्यानको मृत्युपछि उनका जेठा छोरा खलिफा बिन जायाद अल नाह्यान राष्ट्रपति बनेका थिए । 

खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएका थिए । त्यस यता मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका सम्हाल्दै आएका थिए । रोगले थलिएदेखि मृत्यु नभएसम्म खलिफा बिन जायदको भूमिका सेरेमोलियल मात्रै थियो । 

प्रतिक्रिया