जापानको ओकिनावामा अमेरिकी सैनिक हटाउन अनसन

टोकियो । यो साताको सुरुदेखि जिनशिरो मोटोयामा जापानी प्रधानमन्त्री कार्यालयबाहिर ठूलो ब्यानर राखेर अनसनमा बसेका छन् । ३० वर्षीय अभियन्ता मोतोयामाको एउटै माग छः उनको जन्मभूमि ओकिनावामा रहेको अमेरिकी फौजको आधार हटाउनुपर्ने ।
टोकियोबाट १००० माइल टाढा रहेको ओकिनावा जापानको कुल भौगोलिक क्षेत्रफलको ०.६ प्रतिशत क्षेत्रफल भए पनि जापानमा रहेका ४७ हजार अमेरिकी फौजमध्ये झण्डै आधा यही बस्छन् । शनिबार यो टापूले जापानलाई फिर्ता गरिएको ५० वर्ष मनाउँदैछ । दोस्रो विश्वयुद्धमा भीषणयुद्धपछि अमेरिकाले यो टापुलाई नियन्त्रणमा लिएका थिए । तर यस वार्षिकोत्सवमा मोटोयामालगायत धेरै ओकिनावाबासी खुसी मनाउने मुडमा छैनन् ।

‘जापानी सरकार अहिले उत्सवको तयारी गरिरहेको छ । तर अमेरिकी आधार बसेको यति वर्षपछि पनि समस्या समाधान नहुँदा हामी भने खुसी मनाउन सक्दैनौँ ,’ ३० वर्षका मोटोयामाले शुक्रबार भोक हडतालको पाँचौँ दिनमा भने ।
उनले विगत ५० वर्षमा ओकिनावाका १४ लाख मानिसहरू समृद्ध भएको स्वीकारे तर यो देशका ४७ प्रिफेक्चरमध्ये सबैभन्दा विपन्न रहेको कुरा छुटाएनन् । आलोचकहरूले पहिलेदेखि मुख्य ओकिनावा टापूको उत्तरी भागको हेनोकोको घना वस्ती नजिकको फुटेन्मा अमेरिकी हवाई आधारको पहिलेदेखि आलोचना गर्दै आएका छन् ।

अमेरिकी आधारले त्यस भेगको समुन्द्री पर्यावरणलाई नष्ट गर्ने र आधार नजिक बस्ने झण्डै २००० बासिन्दाहरूको सुरक्षामा जोखिम पुग्ने डर छ । सन् १९९५ मा तीन अमेरिकी सैनिकले १२ वर्षीया एक जना बच्चीलाई अपहरण गरेर बलात्कार गरेपछि ओकिनावामा अमेरिकी आधारविरुद्ध विरोध बढ्न थालेको थियो ।

ठूलो विरोधलाई साम्य पार्ने प्रयास स्वरूप सन् १९९६ मा अमेरिका र जापानले फुटेन्माका सैनिक तथा पूर्वाधार हेनोको सार्ने सहमति भयो । तर ओकिनावावासी भने अमेरिकी आधार अन्यत्रै सार्नुपर्ने पक्षमा छन् । ओकिनावामा रहेको विशाल अमेरिकी फौज तथा पूर्वाधार जापानको अन्यत्र सार्ने ओकिनावाबासीको मागलाई केन्द्र सरकारले भने बेवास्ता गर्दै आएको छ ।

अमेरिकी फौजको उपस्थितिमा ओकिनावा भावी युद्धको केन्द्र बन्न सक्ने मोटोयामाले चिन्ता व्यक्त गरे । उनले यसो भनेर सन् १९४५ अप्रिलमा अमेरिकी फौजले टापुलाई नियन्त्रण लिँदाको युद्धको स्मरण गरे । त्यस युद्धमा ओकिनावाको झण्डै एक चौथाई अर्थात ९४,००० नागरिकहरू मारिएका थिए । त्यस अतिरिक्त ९४ हजार जापानी सैनिक र १२,५०० अमेरिकी फौज छुट्टै मारिएका थिए । जापानी सरकारले जापान–अमेरिकाबीच भएको सहमति संशोधन गर्न अनिच्छा देखाउँदै आएको छ । केही आलोचकले यो सहमतिले जापानभित्र गम्भीर अपराध गर्ने सैनिकको बचाउ गर्ने बताउँछन् ।

प्रतिक्रिया