मतदाता बढे, मतदान गर्ने घटे

झापा । झापामा मतदाता बढे पनि मतदान गर्नेको संख्या भने घटेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार ८४० ले मतदान गरेका थिए । १५ वटा स्थानीय तह रहेको झापामा हाल छ लाख ४६ हजार २६४ मतदाता छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको संख्या तीन लाख २१ हजार ५२० रहेको छ भने महिला मतदाताको संख्या तीन लाख २४ हजार ७०५ जना रहेको छ । त्यस्तै अन्यमा नौ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

झापामा सबैभन्दा धेरै मत झापा गाउँपालिकामा ७४.६६ प्रतिशत खसेको छ । यो गाउँपालिकामा २३ हजार ९४४ मतदाता छन् । मतदातामध्ये पुरुषको संख्या आठ हजार २० छ भने, महिलाको संख्या आठ हजार ५९७ छ । यहाँ कूल मतदातामध्ये १७ हजार ८७७ ले यो गाउँपालिकामा मतदान गरेका छन् । यो कूल मतदाताले खसालेको मतको ७४.६६ प्रतिशत रहेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक मतदान अधिकृत तथा सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

त्यस्तै झापापछि बाह्रदशी गाउँपालिकामा धेरै मत खसेको छ । यो पालिकामा ७४.४१ प्रतिशत मत खसेको हो । यहाँ मतदाताको संख्या २५ हजार ८२६ छ । कूल मतदातामध्ये यो गाउँपालिकामा १९ हजार २१७ ले मतदान गरेका छन् ।

त्यस्तै सबैभन्दा कम मत भद्रपुर नगरपालिकामा ६६.३६ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो नगरमा ५१ हजार २६० मतदाता रहेकोमा ३४ हजार १५ ले मात्रै मतदान गरेका छन् । यो कूल मतदानको ६६.३६ प्रतिशत मात्र हो ।
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा यो वर्ष २८६ वटा मतदानस्थलका ७५५ मतदान केन्द्रबाट मतदान भएको थियो । अघिल्लो निर्वाचनमा २८३ मतदानस्थल र ६३७ मतदान केन्द्र कायम थिए ।

झापामा ६८५ जना जनप्रतिनिधि चयनका लागि दुई हजार ७८६ ले उम्मेदवारी दिएका थिए । त्यसमध्ये आठ÷आठ जना नगर प्रमुख र उपप्रमुख तथा सात÷सात जना अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै १६९ जनाको उम्मेदवारी रहेको थियो ।

झापामा प्रमुख र अध्यक्ष १५ जना, उपप्रमुख र उपाध्यक्ष १५ गरी ३० जना, वडाध्यक्ष १३१, महिला सदस्य १३१ र दलित महिला सदस्य १३१ गरी ३९३ जना र खुला सदस्य २६२ गरी जम्मा ६८५ जना जनप्रतिनिधि चयन हुनेछन् ।

यसै गरी कचनकवल गाउँपालिका र मेचीनगरमा भने एक÷एक जना उम्मेदवार यसअघि नै सर्वसम्वत भएका छन् तर मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले आधिकारिक घोषणा गरेको छैन । कचनकवल गाउँपालिका–४ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य पदकी उम्मेदवार विजली दाशको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्वत भएकी छन् ।

मेचीनगर–११ मा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दलित महिला सदस्य पदकै उम्मेदवार रञ्जिता नेपाली सुन्दासको मात्रै उम्मेदवारी परेपछि उनी पनि सर्वसम्मत भएकी हुन् ।
जिल्लामा मतदाताको संख्या बढे पनि मतदाता भने उत्साह पूर्वक मतदान प्रक्रियामा सहभागी भएको पाइएन । मतदाताको निरासालाई आउने निर्वाचनमा उम्मेदवारले गम्भिर रुपमा समिक्षा गर्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया