भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

आगलागीमा परी अरु कम्तीमा ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकतरको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् । सो भवन ठूलो थियो र यहाँ कैयौं कम्पनीका कार्यालय पनि छन् । यो भवनको दोस्रो र तेस्रो तलाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी जारी छ ।

यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको छ । ठूलो भवन र धेरै नागरिक रहेकाले आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ। यो आगलागीको कारण भने पत्ता लागेको छैन ।

विद्युत सर्ट भएकाले आगो लागेको हुनसक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तर यसको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ । भारतका राष्ट्रपति रामनाथ कोभिन्दले घटनाप्रति दुःख व्यक्त गरेका छन् । रासस/सिन्ह्ववा

प्रतिक्रिया