आर्सनललाई टोटनहमको दबाब

लण्डन । ह्यारी केनको दुई गोल गरेको खेलमा टोटनहमले बिहीबार राति आर्सनललाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा हासिल गरेको जितसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
केनले पेनाल्टीमा गोलबाट टोटनहमले २२औँ मिनेटमा अग्रता लिएको थियो । केनले ३७औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । त्यसअघि ३३औँ मिनेटमा रब होल्डिङले दोस्रो पहेँलो कार्डको सामना गरेपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो । दोस्रो हाफको सुरुमै सन ह्युङ–मिनले अर्को गोल थपेपछि टोटनहमले सहज जित दर्ता गरेको हो ।
आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले रेफ्रीको निर्णयबाट क्रुद्ध बनेका थिए, विशेषगरी पेनाल्टी र रातोकार्डको निर्णयमा । ‘‘मेरो मनमा लागेका कुरा यहाँ भन्ने हो भने म कम्तीमा ६ महिनाका लागि निलम्बनमा पर्छु,’’ आर्टेटाले भने ।
जितपछि टोटनहमले चौथो स्थानको आर्सनलसँगको दूरी एक अंकमा छोट्ट्याएको छ । लिगमा ६ अंकको खेल बाँकी हुँदा आर्सनलले ६६ अंक जोडेको छ भने टोटनहमको ६५ अंक छ । आर्सनलले अब न्युक्यासल युनाइटेड र एभर्टनविरुद्ध खेल्न बाँकी छ ।
टोटनहमले भने बर्नली र नर्विच सिटीसँग खेल्न बाँकी छ । नर्विच सिटी रेलिगेसनमा परेको टिम हो भने बर्नली र एभर्टन रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको छ ।
‘यस्तो प्रकारको खेल सजिलो हुँदैन । यो जित्नैपर्ने खेल थियो । यस्तो खेल सहज हुँदैन,’ टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘आज हामीलाई जितको विकल्प थिएन । हामी खेलमा केन्द्रित भयो । सही समयमा सही निर्णय लिन सफल भयौँ ।’

प्रतिक्रिया