सैनिक शासनको पुनरागमनको चर्चा !

फिलिपिन्समा मार्कोस जुनियरको उदय

मनिला । फिलिपिन्सको निर्वाचनमा पूर्व तानाशाहका छोरा मार्कोस जुनियरको जीत बाहिरका मानिसका लागि आश्चर्यजनक हुनसक्छ, तर फिलिपिनीले उनको निरन्तरको उदयलाई देखेकाले त्यस्तो आकस्मिक मानेनन् । विभिन्न राजनीतिक वैज्ञानिकले मार्कोस जुनियरको सफलतामा महत्वपूर्ण रहेका तत्वको वर्णन गरे जसको बलमा उनले मानव अधिकारकर्मी उम्मेदवार लेनी राब्रेडोलाई हराए ।

मार्कोस जुनियरको राष्ट्रपतिको अभियानको केन्द्रमा पिताको तानाशाही शासनलाई देशको इतिहासको ‘स्वर्ण युग’ देखाउने रहेको युनिभर्सिटी अफ फिलिपिन्सकी राजनीतिशास्त्रकी प्राध्यापक मारिया इला एटिएन्जाले बताइन् । ‘मार्कोसले चुनावी अभियानमा वास्तवमा आफ्नोबारेमा केही भनिरहेकै थिएनन् । उनीको सम्पूर्ण उर्जा पिताको शासनलाई फिलिपिन्सको इतिहासको ‘सुनौलो युग’ देखाउने प्रयासमा खर्च भइरहेको थियो । यसमार्फत उनी मतदातामा पुरानो नोस्टाल्जिया महसुस गराइरहेका थिए ।’

केही विज्ञले मार्कोस जुनियरको यस रणनीतिलाई ‘अधिकारवादी नोस्टाल्जिया’ को रुपमा नामाकरण गरिदिएका थिए । यी विज्ञका अनुसार सैनिक कानुन लागु भएको शासन अवधिलाई फिलिपिन्सको समृद्धिको समयको रूपमा सम्झना गर्न त्यस अवधिमा भएको मानवअधिकार हननका धेरै घटनाहरूलाई बेवास्ता गनुपर्ने हुन्छ ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार मार्कोस जुनियरका पिता फर्डिनान्ड मार्कोस सिनियरको शासन कालमा हजारौँ मानिसलाई यातना दिइएको थियो । तीमध्ये कैयौंको यातनाबाटै ज्यान गयो भने कयौं मानिस यातनाबाट बच्न विस्थापित भएका थिए । अत्याचार बढि नै भएपछि सन् १९८६ मा मार्कोसको शासनविरुद्ध ‘पिपल पावर’ नामक क्रान्ति उठ्यो । यस अघि उनी पराजित भए ।

मार्कोस जुनियरले भने उनको पिताको यो चरित्रलाई छोप्ने प्रयास गरेका थिए । उनले पिताको अपराधको लागि माफी माग्न अस्वीकार गर्दै आएका छन् । उनी आफू ती अपराधको लागि जिम्मेवार नभएको तर्क दिएर उम्कन्छन् । बरु उनले पिताको शासनका कारण फिलिपिन्स बाह्य खतराहरूबाट जोगिएको तर्क दिएर पितालाई मार्कोसले रक्षकको रुपमा प्रस्तुत गर्ने गर्छन् ।
सामाजिक संजाल विशेषगरी टिकटक र युट्युवमा व्यापक अभियान चलाएर मार्कोस जुनियर र उनका समर्थकहरूले युवा मतदातामाझ फर्डिनाण्ड मार्कोसको सैन्य शासन अवधिलाई आर्थिक वृद्धि, पूर्वाधार विकास र सुशासनको युगको रुपमा प्रस्तुत गरे ।

मार्कोसको शासन साँच्चै स्वर्ण युग नै थियो त ?
एटिएन्जाले तथ्य र अभिलेखहरूले पिता मार्कोसको शासन व्यवस्था उनका समर्थकले दाबी गरेभन्दा उल्टो भएको बताइन् ।
उनका अनुसार त्यस समय आर्थिक मन्दी, कुपोषण, बेरोजगारी र सुस्त कृषि उद्योग व्याप्त थियो । यसैले गर्दा ती वर्षमा फिलिपिन्सको आर्थिक वृद्धि माईनस ७.३२ प्रतिशतसम्म गएको थियो । मार्कोस शासनमा आउनुअघि सन् १९६१ मा देशको वैदेशिक ऋण ३६ करोड डलर रहेकोमा उनी अपदस्थ हुदाँ सन् १९८६ मा यो बढेर २८.२६ अर्ब डलर पुगेको थियो ।

तथ्यांक अनुसार आजसम्म मार्कोस परिवारले राज्यलाई ६.२५ अर्ब डलर तिर्न बाँकी छ । मार्कोस परिवारले राज्यलाई तिर्न बाँकी विशाल रकम गलत रुपमा राज्यबाट दोहन भएको र तिर्न बाँकी करको कुल योग हो ।

यद्यपि, मार्कोस जुनियरले यसलाई ‘फेक न्युज’ भनेर खारेज गर्ने गर्छन् । अब उनी आफैँ राष्ट्रपति भएपछि उनले आफ्नो परिवारको विरुद्धमा मुद्दा दबाउने डर बढेको छ ।

मतदाताहरूले मार्कोस परिवारको खराब इतिहासलाई बेवास्ता गर्नुमा पिता मार्कोसको सत्ता बहिर्गमनपछि फिलिपिन्स राजनीतिमा छाएको अराजकता र त्यसले जनतामा बढाएको निराशा जिम्मेवार रहेको एटिएन्जाले बताइन् ।

‘सन् १९८६ को क्रान्तिपछि अर्थतन्त्रको विकास हुनेछ, राजनीतिक प्रणाली साँच्चै लोकतान्त्रिक हुनेछ भन्ने धेरै ठूलो अपेक्षा थियो । तर सन् १९८६ देखि प्रजातन्त्रीकरणको दिशा सहज रुपमा अघि बढेन,’ एटिएन्जाले भनिन् ।

अर्थतन्त्रमा सुधार आएको तर त्यसको लाभ सिमित फिलिपिनीले उपभोग गर्दा गरिब फिलिपिनी जनता जस्ताका त्यस्तै रहन पुगेको उनले थपिन् ।

लामो पुनरागमन
मार्कोस जुनियरले उपराष्ट्रपतिको रुपमा पूर्व राष्ट्रपति रोद्रिगो दुतेर्तेकी छोरी सारा दुतेर्तेलाई चुने । शक्तिशाली राजनीतिक वंशका यी नेताहरुबीच नोभेम्बरमा एकअर्कालाई समर्थन गर्ने सहमती भएको थियो । सहमतीपछि राष्ट्रपतिको दौड सहभागी हुने सोच बनाएर बसेकी सारा उपराष्ट्रपति भएर मार्कोस जुनियरसँग ऐक्यबद्धता गर्न राजी भईन् ।

मनिलाको डे ला सल्ले विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक रोनाल्ड होम्सका अनुसार दुतेर्तेसँगको गठबन्धनले मार्कोस जुनियरलाई उनी कमजोर भएका क्षेत्रमा सहगोग पुगेको थियो । जस्तो धेरै मतदाता भएको केन्द्रीय प्रान्त सेबुमा उनलाई धेरै सहयोग पुग्यो ।

तर दुतेर्तेजस्तो शक्तिशाली परिवारसँगको साझेदारी मार्कोस जुनियरले रातारात हासिल गरेको राजनीतिक उपलब्धि होइन । यसका लागि उनको दशकौंदेखिको मिहिनेतको योगदान छ ।

प्रायः आफ्नो बाल्यकालको उपनाम ‘बोंग बोङ’ भनेर पुकारिने (जुन पिताकै नाम भएका व्यक्तिलाई दिइने एक सामान्य उपनाम हो) मार्कोस जुनियरले सन् १९८९ मा देश फर्कने अनुमती भएका थिए । त्यस बेला उनका पिताको निर्वासनमा मृत्यु भइसकेको थियो ।

देश फर्किएपछि लगत्तै उनी र उनको परिवार सत्तामा फर्किने प्रयास गर्न थाले । यसका लागि तिनले अझै आफूहरुप्रति समर्थन जनाउने क्षेत्रका स्थानीय नेताहरूसँग सम्बन्ध विस्तार गरे ।

देश फर्किएको जम्मा तीन वर्षपछिको राष्ट्रपतीय चुनावमा उनकी आमा इमेल्डा मार्कोस पनि उम्मेदवार बनिन् । ‘उनले कुल खसेको मतको दोहोरो अंकको मत हासिल गरेकी थिइन् । १० प्रतिशतभन्दा बढी । तानाशाही शासन ढलेको जम्मा ६ वर्षभित्र सोही तानाशाही शासनकी एक प्रतिनिधिले यति धेरै मत ल्याउनु असाधारण कुरा थियो,’ होम्सले भने ।

‘मार्कोसको सैन्य शासनमा इमेल्डा पनि निक्कै अलोकप्रिय थिइन् । अति विलासी जीवनशैलीका लागि कुख्यात इमेल्डासँग ३००० जोडी जुत्ता छन् भनेर विश्वभर नै थाहा भइसकेको थियो,’ होम्सले भने ।
‘र यही प्रारम्भिक वर्षमा मार्कोस परिवारले पुरानो दाग मेटाउने गरी नयाँ रुपमा ब्राण्डिङ सुरु गरे’, होम्सले भने ।

मार्कोस जुनियरले पछि आफ्नो बुवाको पुरानो चुनावी गढ, इलोकोस नोर्टेबाट कांग्रेसको सीट जिते । उनी पछि सो क्षेत्रको गर्भनर र सन् १९९८ देखि सन् २०१६ बीच सिनेटर रहे ।

तथापि उनको सिनेटर अवधि एक राष्ट्रपतिको उम्मेद्वारको जस्तो हुनुपर्ने हो, त्यति अविस्मरणीय नरहेको एटिएन्जाले बताइन ।
सन् २०१६ मा उनी उप–राष्ट्रपतिको पदमा उठे । रोब्रेडोले उनलाई २,५०,००० हजारको झिनो अन्तरले हराईन् । मार्कोस जुनियरले चुनावमा धाँधली भएको दाबी गर्दै अर्को पाँच वर्ष बिताए । यद्यपि, सर्वोच्च अदालतले मतदान निष्पक्ष भएको फैसला गर्यो ।

मार्कोसले आफूमाथि रोब्रेडोले चुनावी धाँधली गरेको कथ्यलाई एउटा द्वेषपूर्ण अभियानकै रुपमा अघि बढाए । फिलिपिन्समा फ्याक्ट चेकरले रोब्रेडोलाई ‘विकृत सूचना वा नकारात्मक सन्देशको सबैभन्दा ठूलो शिकार’ को रुपमा बताउने गर्छ ।

रोब्रेडोबारेमा अनलाईनमा यति धेरै झुटा दाबी आउन थाले । उनीमाथि युवा स्वयंसेवकहरूमा धार्मिक टुनामुना गर्ने प्रतिक देखाएकोदेखि उनको छोरीलाई यौनजन्य भिडियोसँग जोड्ने कामसमेत भयो ।

रोब्रेडोले विगतमा यी गलत सुचनाको प्रतिरोध नगर्दा अहिलेको राष्ट्रपति चुनावमा हानी पुग्यो । उपराष्ट्रपतिका रुपमा लेनी रोब्रेडोले आफूविरुद्ध अनलाइन झूटा दाबीहरूलाई बेवास्ता मात्र गर्ने गरेकी होम्सले भने ।

अर्कोतर्फ, मार्कोस जुनियरले गलत जानकारीबाट फाइदा उठाएका छन् । फ्याक्ट चेकरका अनुसार अनलाईनमा आउने ९२ प्रतिशतसम्म झुटा सूचना मार्कोसबारे राम्रो भनिएका हुन्थे । यसमा उनलाई विभिन्न सेलिब्रेटीहरू वा राज्य प्रमुखले समर्थन गरेका झुटा दाबीसमेत समावेश छन् ।

मार्कोसले कसरी देश चलाउलान् ?

एटिएन्जाका अनुसार मार्कोस जुनियरले चुनाव अवधिभर राष्ट्रपतिको बहस र मिडिया अन्तर्वार्ताहरु परित्याग गरेकाले देश चलाउने वा खाद्यान्नको मूल्य घटाउनेजस्ता मुद्दामा उनको नीतिमा अस्पष्टता छ ।
धेरैले मार्कोस जुनियरले उनका पूर्ववर्ती राष्ट्रपति रोदि«गो दुतेर्तेको लागुऔषध विरुद्धको युद्ध जारी राख्ने अनुमान गरेका छन ्। तर त्यसका लागि उनले रोद्रिगोले जस्तै पुलिस र सेनासँग सुमधुर सम्बन्ध बनाउने सक्नेमा पनि अस्पष्टता छ । यसैले आगामी दिनमा फिलिपिन्स र विश्वको नजर मार्कोस जुनियरका काममाथि हुनेछन् ।

प्रतिक्रिया