बाफ्टामा ‘हल्कारा’

काठमाडौं । नेपाली फिल्म ‘हल्कारा : द पोस्टम्यान’ ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।

महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा हुलाकीको कथा रहेको छ । यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म मे १८ मा बेलायतमा प्रदर्शन हुनेछ । छिट्टै नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ ।

फिल्मका अभिनेता त्रिपाठीले ह्युस्टन फिल्म फेस्टिभलमा हलकाराका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्यस्तै चिन्तन राजभण्डारीले उत्कृष्ट छायांकारको रूपमा अवार्ड हात पारेका थिए । कालिपार स्टुडियो र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई आकाश बराल, विप्लव प्रतीक र निर्देशक सापकोटाले संयुक्त रूपमा लेखेका हुन् ।

प्रतिक्रिया