भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण

लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भारतीय वायु सेनाको ठूलो विमान अवतरण गरेको छ । चीन सरकारको सहयोगमा दुई महिनाअघि निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान आगामी जेठ २ गते बुद्धजयन्तीको दिनदेखि आरम्भ हुँदै छ । उद्घाटन समारोहमा विभिन्न मित्रराष्ट्रबाट विशिष्ठ अतिथिहरूलाई पनि आमन्त्रण गरिएको छ । आमन्त्रणलाई स्वीकार गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र्र मोदी लुम्बिनी आउन लागेका छन् ।

आफ्ना प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन बुधबार भारतीय सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । केही सुरक्षाकर्मीलाई छाडेर विमान बुधबार साँझ भारत फर्केको छ । व्यवसायिक उडान सुरु हुनुअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान अवतरण संयोग मात्रै भएको अनुमान गरिएको छ । आफ्नो देशको सिमाना नजिक पर्ने भएका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बेलादेखि नै भारतले विशेष चासो राख्दै आएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रचलनअनुसार नै नेपालले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको हो । काठमाडौंमा रहेको नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप धान्न नसकेकोले विकल्पका रूपमा लुम्बिनीमा अर्को विमानस्थल निर्माण गरिएको हो ।

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री मोदीको सहभागिता नेपालका लागि निकै अर्थपूर्ण छ । अर्थपूर्ण यसकारण छ कि, अहिलेसम्म भारतले गौतमबुद्ध जन्मस्थल लुम्बिनी आफ्नो देशमा भएको दाबी गर्दै आएको छ । यसका लागि भारतीय सीमाभित्रै लुम्बिनी नाम दिएर छुट्टै ठाउँ खडा गरिएको छ । विश्वका धेरै मुलुकमा भारतीय दाबीकै प्रचारप्रसार भइरहेको छ । यसैगरी लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त हवाई रुट दिन भारतले कन्जुस्याइँ गरिरहेको छ । नेपालले सुदूरपश्चिम प्रदेशको कुनै एक विन्दुबाट र प्रदेश–१ को कुनै एक विन्दुबाट हवाई रुट दिन गरेको आग्रहलाई भारतले बेवास्था गर्दै आएको छ ।

भारतले यी दुई ठाउँबाट हवाई रुट नदिएसम्म लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने उडानको भाडा काठमाडौंको भन्दा सस्तो हुने छैन । नेपालले आग्रह गरे बमोजिम भारतले हवाई रुट उपलव्ध गराउने हो भने लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा पनि निकै सफल हुने विज्ञहरू बताउँछन् । यता पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका भारतका प्रधानमन्त्री मोदी दोस्रो कार्यकालको तीन वर्ष बित्न लाग्दासमेत एकपटक पनि नेपाल भ्रमणमा आएका छैनन् । लम्पियाधुरा क्षेत्र प्रकरणपछि नेपाल र भारतबीच सरकारी स्तरको संबन्ध बिग्रेको छ । मोदीको यो भ्रमणले नेपाल–भारत बीचको असल संबन्धलाई सुमधुर बनाउन सहयोग पुग्ने अनुमान विज्ञहरूले गरेका छन् ।

नेपालका लागि भारतका प्रधानमन्त्रीको भ्रमणले विशेष महत्व राख्छ, त्यसैले नेपालमा विशेष चर्चा पनि हुने गर्छ । तर यसपटक भने स्थानीय निर्वाचनका कारण मोदीको भ्रमणले नेपाली मिडियामा खासै स्थान पाउन सकेको छैन । सरकारले पनि मोदी भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । भारतका प्रधानमन्त्री मोदी आध्यात्मिक व्याक्तित्वसमेत हुन् । तीर्थाटनमा उनको बढी रुचि छ । नेपाल आएका बेला राजधानी काठमाडौं बाहिरसमेत मोदीले भ्रमणमा चासो राख्ने गरेका छन् । यसअघि उनले मुक्तिनाथ र जनकपुरको भ्रमण गरिसकेका छन् ।

मोदीको भ्रमण मुक्तिनाथ र जनकपुरको पर्यटन विकासमा फलदायी सावित भएको छ । त्यस्तै अवसर लुम्बिनीले पनि प्राप्त गर्ने कुरामा दुई मत छैन । केही समयअघि हाम्रा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उच्चस्तरीय राजनीतिक भेटघाट भइसकेकाले यसपटकको मोदीको भ्रमण तीर्थाटन मात्रै हो भन्दा फरक पर्दैन । तर, मोदीले नेपालका सन्दर्भमा दिने गरेको आत्मीय अभिव्यक्ति केवल देखावटी मात्रै हो कि, उनी वैदिक सनातन धर्मसंस्कृतिको उन्नतिका लागि गम्भीर छन् ? भन्ने यथार्थता यो भ्रमणपछि थप उजागर हुनेछ ।

प्रतिक्रिया