रित्तिँदै काठमाडौं

मतदानको मिति नजिकिएसँगै काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रबाट गाउँ जानेहरूको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाका नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक, बल्खु लगायतका क्षेत्रहरूमा बाहिर जाने यात्रुका कारण दसैँको जस्तै रौनक देखिएको छ । स्थानीय निर्वाचनमा आफ्नै गाउँघरका उम्मेदवार हुने भएका कारण भोट हाल्न जानेहरूको संख्या आमनिर्वाचनको तुलनामा बढी हुन्छ । यसपटक यात्रुको चाप अघिल्लो स्थानीय निर्वाचनको भन्दा निकै बढी देखिएको छ ।

पाँच वर्षको अभ्यासका क्रममा स्थानीय सरकारको महत्वबारे मतदाता तथा उम्मेदवारहरूले बुझिसकेको संकेत हो यो । नेपाल प्रहरीका अनुसार सामान्य अवस्थामा दैनिक १५ सयदेखि दुई हजारको हाराहारीमा यात्रुबाहक सवारी साधन राजधानी काठमाडौंबाट बाहिरिन्थे, तर आइतबारदेखि दैनिक पाँच हजार यात्रुबाहक सवारी साधन बाहिरिएका छन् । संख्याको हिसाबले आइतबार यता दैनिक थप ५० हजार यात्रु बाहिरिएका छन् । वैशाख २८ र २९ गते यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । किनकी ३० गते मतदानका दिन सवारी साधन चल्दैनन् । सार्वजनिक बिदा एक दिन मात्रै भएका कारण धेरैजसो कामकाजी यात्रुहरू २९ गते मात्रै प्रस्थान गर्नेछन् । त्यसैले सो दिन ट्राफिक व्यवस्थापनका लागि प्रहरीले विशेष तयारी गरेको छ । प्रहरीका अनुसार सवारी साधनको चाप काठमाडौंमा मात्रै बढेको छैन । पोखरा, चितवन, हेटौँडा, भैरहवा, वीरगञ्ज, विराटनगर, जनकपुरजस्ता स्थानमा पनि बढेको छ ।

यसपटकको स्थानीय निर्वाचनमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्नुको कारण आफ्ना गाउँघरका उम्मेदवारलाई भोट दिनका लागि मात्रै होइन । मतदानको पर्सीपल्ट वैशाखपूर्णिमा परेको छ । त्यसदिन अधिकांशको देवाली अर्थात कुल पूजा हुने गर्छ । त्यसैले निर्वाचनमा खासै रुची नभएकाहरू पनि ‘एक पन्थ दो काज’ भन्दै आफ्नो गाउँघर जान लागेका हुन् । मतदानमा भाग लिने रुची बढ्नु भनेको लोकतन्त्रका लागि सुखद् पक्ष हो । यसलाई प्रोत्साहन गर्नु सरकारको कर्तव्य पनि हो । तर चुनावका लागि घर जाने यात्रुहरूको व्यवस्थापनतर्फ सरकार चुकेको छ । पहिलो कुरा त काठमाडौं उपत्यकाभित्र अरू जिल्लाका मतदाता कति छन् ? भन्ने मोटामोटी तथ्यांक राख्नेतर्फ सरकारले चासो दिएको छैन ।

काठमाडौं उपत्यकाको जनसंख्या र उपत्यका भित्रका पालिकाहरूको मतदाता संख्यालाई तुलना गर्ने हो भने आश्चर्यजनक अवस्था छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी मतदाताको संख्या ११ लाखको हाराहारीमा छ, तर जनसंख्या भने ४० लाखको हाराहारीमा छ । १८ वर्ष माथिका सबै नागरिक मतदाता हुन् । यस हिसाबले काठमाडौं उपत्यकामा करिब ३१ लाख मतदाताको बसोवास छ । जसमध्ये करिब २० लाख मतदाता बाहिरी जिल्लाका हुन् । यदि यो चार दिनको अवधिमा यी २० लाख मतदाता बाहिरिने हो भने सवारी साधनको चाप सडकले थेग्ने अवस्था छैन । त्यसैले २० लाख मध्ये १० लाख मात्रै बाहिरिन्छन् । बा“की १० लाख मतदाता भोट हाल्नबाट वञ्चित हुन्छन् । तर यो यथार्थतालाई सरकार, राजनीतिकदल तथा निर्वाचन आयोगले नजरअन्दाज गरेको देखिन्छ । यसैगरी यतिबेला मुलुकमा अर्को समस्या छ । कोभिडको समस्या बाँकी नै रहेका कारण मानिसहरू कोचाकोच गरेर बाहिरिँदा महामारी बल्झिने संभावना छ । यसतर्फ सरकार बेखबर भएको देखिन्छ । अर्कातिर इन्धनको संकट भन्दै सरकारले सातामा दुई दिन सरकारी बिदा दिने घोषणा गरेको छ । तर, चुनावका लागि घर जाने धेरैजसो यात्रुहरूले साना सवारी साधन प्रयोग गरेका कारण इन्धनको खपत ह्वात्तै बढेको छ ।

नेपाल आयल निगमका अनुसार गत आइतबार यता इन्धनको दैनिक खपत दुई सय प्रतिशत बढेको छ । ठूला बसको प्रयोग गरेर यात्रुहरूलाई गाउ“ पठाउने व्यवस्था गर्न सकेको भए इन्धनको खपत यसरी बढ्ने थिएन । यसैगरी विवेक प्रयोग गरेर स्वतन्त्रतापूर्वक मतदान गर्ने हैसियत भएका मतदाताहरूलाई ओसार्ने चासो कुनै पनि दल तथा उम्मेदवारहरूले नदेखाउनु स्वभाविकै हो । यस्ता मतदाताहरूलाई मतदानमा सहभागी गराउन सक्ने हो भने मात्रै निर्वाचनको परिणाम सार्थक आउन सक्छ ।

प्रतिक्रिया