काठमाडौंमा कसले मार्ला मेयरसाबको बाजी

विनोद पौडेल

काठमाडौंमा युवा जोस जाँगरले भरिपूर्ण भएका स्वतन्त्र उम्मेदवारको समेत आगमनले यसपालीको स्थानीय तहको निर्वाचन विशेष बन्ने पक्का छ । तिनै उम्मेदवार हुन् जसले आफूले निर्वाचनमा यति नै मत परिणाम पाउने भन्दै ठोकुवा गर्दै हिँडेका छन् । उनको ठोकुवा कति सही हुन्छ परिणामले बताउँछ । तर इतिहासपछि वर्तमान हुन्छ र वर्तमान पछि भविष्य हुन्छ भन्ने कुरा बिर्सन मिल्दैन । उम्मेदवारलाई जनताले पत्याउने वा नपत्याउने अधार उसको इतिहास हो । तर विगतमा नानीमैया दाहालदेखि झक्कु सुवेदीले जितेको इतिहास पनि छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरघरमा, टोलटोलमा, चोकमा, गल्लीमा, चौतारीमा, चियापसलमा त्यस्तै सार्वजनिक स्थानहरुमा अझ भनौँ सामाजिक सञ्जालमा आगामी निर्वाचनको चर्चा चलिरहेको छ । स्थानीय तहको निर्वाचन नै गफको मेलेमेसो बनेको छ । निर्वाचमा कसले जित्छ, कसलाई जिताउन, कुन दल राम्रो कसको घोषणापत्र कस्तो छ अनि केके कुरामा प्रतिबद्धता जनाएको छ, यस्तै यस्तै विषयका गफमा दिन बितिरहेको छ । सम्बन्धित स्थानीय निकायमा उम्मेदवारी दर्ता गराई उम्मेदवारीले आआफ्नो चुनाव चिन्ह पाइसकेका छन् । विभिन्न दलका नेताकार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार चुनावको चुनावी प्रचारप्रसारका कार्यअन्तर्गत घरदैलो कार्यमा सकिसकेका छन् भने मौनअवधि लागू भइसकेको छ ।

मौनअवधि सुरु भएदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौनअवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौनअवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ । यदि त्यस्तो गरेमा विभिन्न माध्यमबाट निगरानी राखी कारबाही गरिने व्यवस्था छ । चुनावी कार्यक्रमा व्यस्त रहने नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबीसमेत गरिसकेका छन् । हुन त चुनावी मैदानमा होमिएपछि पराजितको आशा राख्दैन यद्यपि जित सुनिश्चित भएको भन्दै भाषणमा भन्न बिर्सिएका पनि छैनन् ।

दलको भनौं या उम्मेदवारको निर्वाचन लक्षित घोणणापत्र तयार बनाएका छन् । घोषणापत्रअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सामाजिक सुरक्षा, पूर्वाधार विकासका, कृषि, यातायात, सञ्चारलगायत विभिन्न क्षेत्रमा विकासका गतिविधिका कार्य समेटिएका छन् । महत्वकांक्षी योजना बनाउँदै अब आउने जनप्रतिनिधिले आआफ्नो नगर तथा पालिकाको ठेक्का लिइसकेका छन् । लाग्छ, अब कुनै नागरिकले विकासका कार्यमा निराश हुनु नपर्नेसम्मको ठोकुवा गर्दै चर्को भाषण दिँदै हिँडेका छन् । जनप्रतिनिधिका आश्वासन निर्वाचन लक्षित कार्यक्रम मात्र हुन् भनेर प्रस्ट्याइरहनु पर्दैन । आज घरदैलो गर्दै हिँड्ने तिनै जनप्रतिनिधिले निर्वाचन जिते भने फुर्सदै पाउँदैनन् । जसले जिताएर पठाए भोलि तिनैका काम गर्न झिजो मान्दछन् ।

काठमाडौंमा मेयर पदका प्रत्यासी उम्मेदवार एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ, विवेकशीलकी समीक्षा बाँस्कोटा त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाहको नाम निकै चर्चामा छ । बाजी कसले मार्छ परिणामले बताउँदछ, सबै जना चुनावी मैदानमा दौडिँदै छन् । तर, यो दौड प्रतियोगिता कसले जित्ने भन्नेमा जनताजनार्दन निर्णायक भूमिकामा रहेका छन् । मेयरसाबको कुर्सीमा को विराजमान बन्दछ त्यो निर्वाचन परिणामले बताउला तर हरेक उम्मेदवारले भने आफूले नै चुनाव जित्ने दाबीसमेत गरिरहेका छन् । काठमाडौंमा युवा जोस जाँगरले भरिपूर्ण भएका स्वतन्त्र उम्मेदवारको समेत आगमनले यसपालीको स्थानीय तहको निर्वाचन विशेष बन्ने पक्का छ । तिनै उम्मेदवार हुन् जसले आफूले निर्वाचनमा यति नै मत परिणाम पाउने भन्दै ठोकुवा गर्दै हिँडेका छन् । उनको ठोकुवा कति सही हुन्छ परिणामले बताउँछ । तर, इतिहासपछि वर्तमान हुन्छ र वर्तमानपछि भविष्य हुन्छ भन्ने कुरा बिर्सन मिल्दैन । उम्मेदवारलाई जनताले पत्याउने वा नपत्याउने अधार उसको इतिहास हो । तर विगतमा नानीमैया दाहालदेखि झक्कु सुवेदीले जितेको इतहास पनि छ ।

काठमाडौं महानगरका मेयर पदमा प्रत्यासी के ती वास्तवमै मेयर‘साब’ बन्न खोज्दै छन् ? कि मेयर‘साँप’ बनेर जनतालाई चिडाउन खोज्दै छन् ? यसको उत्तर जान्न उम्मेदवारको पृष्ठभूमि खोज्ने मतदाताको संख्या पनि कमी छैन । किनकी उम्मेदवारको विगत थाहा नपाई भविष्य आँकलन गर्न सकिन्न । विगत हेर्ने मतदाताहरूले प्रमुख दल एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितको हर्कतले जनता डस्ने अनुमान पनि गरेका छन् । विवादित छविका स्थापित मेयरमा उम्मेदवार दिएपछि झन् बढी विवादित बनेका छन् । उनले गर्ने व्यवहार, जनतासँग गरेको प्रतिप्रश्नले के महानगरले चाहेको मेयर‘साब’ यस्तै हुन् भनेर सोच्न बाध्य बनाएको छ । उनले उम्मेदवार दर्ता गराएसँगै विवादित बनिरहे जो आज पर्यन्तसम्म पनि कायमै छ । हुन् त उनी अनुभवी मेयर हुन, त्यसैले उनलाई पार्टीले पुनः टिकट दिएको हुनुपर्दछ । तर एकपछि अर्को धुमिल छविका कारण चर्चा र विवादित दुवै बनेका छन् ।

दलका घोषणापत्र पत्र हेर्ने हो भने पाँच वर्षमा काठमाडौंको मुहार फेरिने पक्का छ । काठमाडौं मात्र लक्षित नगरौँ सिंगो मुलुकको विकास गर्ने भिजन देखिन्छ । त्यस्ता भिजन देखाउनेले यदि चुनाव जिते के साच्चै मुहार फेर्लान् त ? यदि फेर्ने भए हालका मेयरसाबले पनि त फेर्थे होलान् नी तर त्यस्तो भनिए अनुरूप विकासका गतिविधि खासै हुन सकेनन् । हामीकोमा घोषणापत्र अनुरूप कार्य गर्ने परम्पराको बानी बस्न सकेको छैन । घोषणापत्रअनुसार मुलुकको हितका निमित्त कसैले नराम्रो सोचेकै छैनन । राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर तिनैले जिते भनेपछि जनताका सामु पेस गरेका घोषणापत्रको घोषणा नै बिर्सने पक्का छ जसका लागि विगतलाई फर्केर हेर्दा झन् स्पष्ट हुन्छ । काठमाडौं उपत्यका स्मार्ट सिटी बनाउने, मोनोरेल चलाउने, जस्ता महत्वकांक्षी योजनाका अध्ययन भए कि भएनन् तिनै घोषणा गर्ने जानुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले कहीँ साना दलसँग तालमेल गर्दै त कतै एक्लै निर्वाचनको मैदानमा उत्रिएको छ । तर माओवादी, कांग्रेस, एकीकृत समाजवादी दल गठबन्धन सरकारमा छ, निर्वाचनमा पनि गठबन्धनकै आधार अगाडि बढेको छ । गठबन्धनले गर्दा टिकट नपाएका कतिपय जिल्लास्तरीय प्रभावशाली नेताले भने स्वतन्त्र (बागी) उम्मेदवारसमेत दिएका छन् । ती मध्ये केही प्रलोभन तथा पार्टीको धम्कीका कारण उम्मेदवारी फिर्ता लिएका छन् भने केहीले जबर्जस्ती पार्टीको कारबाहीको बाबजुत पनि निरन्तरता दिएका छन् ।

जब निर्वाचन आउँछ तब सबै दल एक ढिक्का हुन खोज्छन्् । बाँकी समय एक–अर्कालाई घोचपेच गर्ने, कुरा काट्नेमै समय बिताउँछन् । पार्टी अनि पार्टीका नेताको औकात देखाउने उपयुक्त समय आउँदै छ, जसमा आममतदाताले विवेक र बुद्धिको प्रयोग गरी मतदान गर्ने हो भने यी नेताका चुरिफुरी सकिन्छ, अनि कुन दुलोमा लुकिरहेका छन् भनेर खोज्नुपर्ने हुन्छ । जसमा आसन्न स्थानीय तहको निर्वाचनमा आमनेपाली देखाउनुपर्ने आवश्यकता छ । जब निर्वाचनको नतिजा आउँछ तब यिनका दम्भ कमजोर हुने पक्का छ । जनताले आगामी निर्वाचनमा सही निर्णय लिन्छन् । यो पक्कै छ । मुलुकको आमूल परिवर्तन गर्ने भन्दै सपना बाँड्ने नेता एकअर्काको विरोधमा उत्रनुको सट्टा केही नवीन सोच राखेर जनताका भावनाको कदर गर्दै अगाडि बढ्ने प्रयासतर्फ लाग्ने कि ! सधैँ अरूलाई कमजोर ठान्दै आफू नै बलवान् छु भन्ने परिपाटी अन्त्य नगरेसम्म नेताको घमण्डमा कमी आउने छैन ।

प्रतिक्रिया