४६ म्यादी प्रहरी बर्खास्त

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीमध्ये ४६ जना कारबाहीमा परेका छन् । अनुशासन र आचरणविपरीतका गतिविधि गरेको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो । यसरी कारबाहीमा परेका म्यादी प्रहरीलाई सेवाबाटै बर्खास्त गरिएको छ । मादक पदार्थ सेवन गरेका कारण पनि केही म्यादी प्रहरी कारबाहीमा परेका छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुशार, मादक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेका कारण उनीहरु कारबाहीमा परेका हुन् ।


कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी नै ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ ।

तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएकाले उनीहरूलाई कारबाही गरिएको हो । सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरूले ४० दिनसम्म खटाइएको स्थानमा तोकिएको काम गर्नुपर्ने हुन्छ । यसरी खटिएवापत उनीहरूका लागि सरकारले ४४ हजार चार सय ४० रूपैयाँ रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया