२०औं आहारारा गोल्डकप : कसले उचाल्ला ट्रफी ?

पोखरा । सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मस्र्याङ्दी उपाधिका लागि भिड्दैछन् ।
बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १–० गोलअन्तर र मनाङ मस्र्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन् । २ दशक लामो इतिहास बोकेको आहारारा गोल्डकपको यस पटकको फाइनलमा अघिल्ला वर्षमा झैं प्यारापिटभरि दर्शक भरिभराउ हुने छैनन् । आ–आफ्ना टिमलाई समर्थन गर्दै दर्शकदीर्घाबाट चर्को हुटिङ हुने छैन । सीमित दर्शकको बीचमा शनिबार उपाधिका लागि मनाङ मस्र्याङ्दी र एपीएफ भिड्नेछन् ।

आयोजक सहाराले कोरोना महामारीका कारण क्वार्टरफाइनलसम्मका खेल दर्शकविहीन खेलाएको थियो त । तर, सेमिफाइनलदेखि प्यारापिटको कुल १६ हजार ५ सय क्षमताको एक तिहाइ दर्शकले मात्रै प्रत्यक्ष खेल हेर्ने मौका पाएका थिए । सो संख्या फाइनलमा पनि बढ्ने छैन । आहारारा गोल्डकपको २० औं संस्करणको अन्तिम खेल फाइनलमा पुगेका दुवै टिमका लागि महत्वपूर्ण छ । यसर्थ पनि दुवै टिम जसरी पनि उवाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा छन् ।
१४ वर्षपछि दोस्रोपल्ट फाइनलसम्म पुगेको विभागीय टोली उपाधि रक्षासँगै पराजित इतिहासलाई उल्ट्याउने स्वर्णीम मुडमा छ भने सर्वाधिक गोल्डकप उचालेको मनाङ मस्र्याङ्दी कीर्तिमान कायम राख्ने दाउमा छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मनाङ र एपीएफ आहाराराको २० औं संस्करणमा आइपुग्दा अहिलेसम्म ५ पटक भिडेका छन् । मनाङ र एफिएफ अहिलेसम्म चौंथो, पाँचौं, आठौं, नवौं र सत्रौं आहारारा गोल्डकपमा आमने–सामने भएका छन् । जसमा मनाङले एक खेलबाहेक अन्य सबैमा हाबी भएको छ । मनाङ र एपीएफ २०६२ सालमा आहारारा गोल्डकपमा पहिलोपल्ट आमने सामने भएका थिए । उक्त खेलमा नकआउट चरणमै मनाङले २–१ ले जित निकालेको थियो ।

त्यस्तै, ०६३ सालमा सेमिफाइनलमा ३–१, ०६६ सालको नकआउट चरणमा ३–१, ०६७ सालको नकआउट चरणमै २–०, ०६७ सालको नकआउट चरणमा २–० गोलअन्तरले मनाङले जित निकालेको थियो । २०७५ को नकआउट चरणमा भने एपीएफले मनाङमाथि जित निकालेको थियो । उक्त खेलमा मात्रै एपीएफले मनाङलाई १–० को संघर्षपूर्ण जित निकालेको थियो । संयोग के भने, १४ वर्षअघि एपीएफ पहिलोपल्ट आहाराराको फाइनलमा पुग्दा मनाङ मर्स्याङ्दी प्रतियोगितामा सहभागी थिएन ।

एपीएफ यसअघि पहिलो पटक २०६४ को छैठौं आहारारा गोल्डकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिससँग २–० गोल अन्तरले पराजित हुन पुगेको थियो । त्यसयता १७ औं र १९ औं संस्करणमा सेमिफाइनलसम्म पुगे पनि माथि उक्लन सकेन ।

प्रतिक्रिया