पर्वत जिल्लामा बढ्दै श्रीमती पीडित

पर्वत । जिल्लामा पछिल्लो समय श्रीमतीबाट पीडित भएका उजुरी दिनहुँजस्तै सुनिन थालेका छन् । पर्वतका न्यायिक तथा अर्ध न्यायिक निकायमा दर्ता हुन आएका घरेलु हिंसाजन्य उजुरीमध्ये झण्डै ३० प्रतिशत उजुरीहरू श्रीमतीबाट पीडित रहेकाबाट यो कुरा पुष्टि भएको छ । कुश्मा नगरपालिका–१ पाङका ३६ वर्षीय सुवास क्षेत्री (नाम परिवर्तन) विवाह गरेर बालबच्चा जन्मिएपछि घरसल्लाहमा नै धन कमाउन खाडी मुलुक पुगे । सात वर्षअघि बिदेसिएका क्षेत्री वैदेशिक रोजगारमा लागेपछि नेपालमा श्रीमती रमा क्षेत्री (नाम परिवर्तन) ले पनि छोरासँगै सामान्य होटल व्यवसाय गरेर बसिन् । उनीहरूको बेलाबेलामा फोन सम्पर्कमा हालखवर आदानप्रदान भइराखेको थियो । केही समयपछि क्षेत्रीले सबै चाँजोपाँजो मिलाएर स्वदेश फर्किने भए । उनी नेपाल नआइपुग्दै श्रीमतीले झुण्डिएर आत्महत्या गरेको खबर सुन्न बाध्य भए ।

अन्ततः घर फर्किएर कारण खोतल्दा परपुरुषसँगको सम्बन्धका कारण उनले आत्महत्या गरेको पुष्टि भयो । उनले केही समयपछि दोस्रो विवाह गरे । दोस्रो श्रीमतीले पनि विवाहको केही दिनमा नै गरगहनासहित श्रीमानलाई छाडेर सम्पर्कविहीन भइन् । केही महिनाअघि मात्रै तेस्रो विवाह गरेर होटल व्यवसायमा लागेका सुवास पुनः श्रीमतीबाट पीडित बनेर १० पुसमा जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिए । श्रीमतीले सम्मानजनक व्यवहार नगरेको र मानसिक तनाव दिएको उनको निवेदनको बेहोरा थियो ।

श्रीमतीबाट पीडित भएका क्षेत्री एक उदाहरणीय पात्र मात्रै हुन् । पर्वतका न्यायिक तथा अर्ध न्यायिक निकायमा दर्ता हुन आएका घरेलु हिंसाजन्य उजुरीमध्ये झण्डै ३० प्रतिशत उजुरीहरू श्रीमतीबाट पीडित बनेका व्यक्तिहरू रहेको तथ्यांक छ । कतिपय उजुरीहरू आफ्नो इमान र प्रतिष्ठामा आँच आउने मनसायका कारण भित्रभित्रै दबिन पुगेका पनि छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतको महिला बालबालिका सेवा केन्द्रमा गत वर्षको पुस महिनादेखि यसै वर्र्षको पुुस महिनाको अन्त्यसम्म एक वर्षको समयावधिमा दर्ता भएका झण्डै ६७ उजुरी मध्ये २५ त्यस्तै इलाका प्रहरी कार्यालय हुवासमा दर्ता भएका १२ उजुरी मध्ये चार जना पुरुषहरूले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् । उजुरी गरीएका मध्ये कोही परपुरुषसँग लागेर बेखबर भएका छन् भने कोही धन सम्पत्ति सबै लिएर हिँडेका उजुरीहरू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार श्रीमतीसँग मेलमिलाप हुन नसकेर पीडित भएको भन्दै प्रहरीमा धाउने पुरुषहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसरी आएका उजुरी मध्ये कतिपय बैदेशिक रोजगारीमा गएर फर्किएका पुरुषहरू रहेका छन् भने कतिपय घरव्यवहार बिगारेर परपुरुषसँग सम्बन्ध बढाएको, छोराछोरी घरमा छाडेर अन्यत्र हिँड्ने र परिवारको बेवास्ता गर्ने गरेको लगायतको गुनासो सहितका उजुरी रहेका छन् । र कतिपय भने श्रीमानलाइ नै दोषी देखाएर छोराछोरीको बिचल्ली बनाएर हिँडेका गुनासा पनि आएको जिप्रकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा यसरी दर्ता भएका उजुरी मध्ये गम्भीर प्रकृतिका उजुरीलाई अदालतमा जान सल्लाह दिएको र सामान्य झैझगडाबाट मनमुटाव बढेका दम्पत्तिहरूलाई केन्द्रबाटै सल्लाह सुझावसहित लिखित कागजात गराएर मेलमिलाप गराई पठाउने गरेको केन्द्र इञ्चार्ज प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले बताइन् । उनका अनुसार महिलाले आपूm श्रीमानबाट पीडित भएको भनेर दिएको उजुरीमा पनि सोधपुछ र अनुसन्धान गर्दा बढी दोषी श्रीमति नै देखिएका छन् । जिल्ला अदालतको तथ्यांकमा पनि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहनेको संख्या गत वर्षको भन्दा धेरै नै छ ।

पछिल्लो समय मजदुर वर्गमा यो समस्या बढी देखिएको जिल्ला बार एसोसिएन पर्वतका अध्यक्ष चन्द्रबहादुर क्षेत्री बताउँछन् । कोभिडका कारण धेरै पुरुषहरूको नियमित रोजगारी खोसिएको र घरमा नै बसिरहने र काममा जाने अवसर नभएपछि श्रीमतीबाट मानसिक तथा शारीरिक तनावसमेत खेपिरहेको पाएको उनले बताए ।

बेरोजगारीका कारणबाट पनि महिलाहरूले आफ्नो घरपरिवार समाज बिर्सेर परपुरुषसँग नै घरजम गरेको खुल्नमा आएको अधिकारकर्मीहरूको बुझाइ छ । दलित समुदायमा पनि चाहे अनुसारको खानपान र पैरन गर्न नपाएको भनेर भएको धनसम्पत्ति लिएर सम्पर्कविहीन भएका घटना लिएर आपूmहरूसमक्ष आउने गरेको अधिकारकर्मीको भनाइ छ । यस्ता खालका घटना बढ्दै जाने हो भने नेपाली समाजमा विकृति पैदा हुने निश्चित छ ।

प्रतिक्रिया