संक्रमण घट्यो, मृत्यु दर बढ्यो

काठमाडौं । लामो समयदेखि निरन्तर उकालो लाग्दै गएको कोरोना भाइरसको संक्रमण दर विगत केही दिनयता घट्दो क्रममा देखिएको छ । कोरोना संक्रमण केही घटे पनि विगत दुई दिनदेखि मृत्यु हुने संक्रमितको सँख्या भने बढेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टाको अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार आठ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा कुल १९ हजार आठ सय ६९ वटा नमुना परीक्षण गरिएको थियो । यसअघि बिहीबार आठ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टाको अवधिमा पाँच हजार चार सय ३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुशार, नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार नौ सय ३२ पुगेको छ । हालसम्म आठ लाख ४२ हजार चार सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ । हाल देशभरमा ८९ हजार नौ सय ४१ ज्ना सक्रिय संक्रमित छन् । त्यसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् ।

एक हजार आठ सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । सक्रिय संक्रमितमध्ये दुई सय ५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् । १० वर्ष मुनिका ९३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका दुई सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार नौ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा दुई हजार एक सय ५३, ललितपुर जिल्लामा पाँच सय १९ र भक्तपुर जिल्लामा दुई सय ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया