विपन्न कृषकलाई अनुदानमा गाई वितरण गर्न १ करोड खर्च

चितवन । चितवनको रत्ननगर नगरपालिकाले विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय विपन्न कृषकलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो ।

नगरपालिकाले विपन्न किसानहरूको पहिचान गरी दुहुना गाई वितरण गरेको नगरप्रमुख नारायण वनले बताए । किसानलाई गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड बजेट विनियोजन गरेकामा सोही बजेटबाट गाई वितरण गरिएको वनको भनाइ थियो । नगरपालिकाको रु एक करोड तथा किसानको रु एक करोड गरी रु दुई करोडको लगानीमा नगरभित्रका २०० विपन्न कृषकलाई दुधालु गाई वितरण गरिने नगरप्रमुख वनले जानकारी दिए ।

यसअघि नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिँदै आएको उल्लेख गर्दै नगरप्रमुख वनले अब किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । कार्यक्रमको शुभारम्भ गर्दै बिहीबारमात्रै १६ किसानलाई अनुदानमा गाई वितरण गरिएको छ ।

नगरपालिकाले अनुदानमा गाई वितरणसँगै गोठ सुधारका लागि रु १० हजारसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्ने पौडेलले बताए ।

विपन्न कृषकले गाई खरिद गर्दा कम्तीमा रु ८० हजार मूल्य बराबरको हुनुपर्ने भन्दै नगरपालिकाका पशु विकास अधिकृत शालिग्राम पौडेलले उक्त गाईले बिहान र बेलुका गरी दैनिक कम्तीमा पनि १० लिटर दूध दिने स्वस्थ गाई हुनुपर्ने बताए । नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएको कृषकलाई मात्र अनुदानमा गाई वितरण गर्ने पौडेलको भनाइ छ । रासस

प्रतिक्रिया