भिजिट भिसामा अलपत्र पार्नेलाई कारबाही

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकलाई अलपत्र बनाउने बैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन । बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भई फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन । उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरिक्ष सम्मिलित मार्सल टिम गठन गरेको पनि स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलाललाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलाललाई खोजी–खोजी कारबाही गर्ने जिकिर गरेका छन । मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने उनको भनाई थियो । उनले आउँदो आइतबारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी गुनासो सेन्टर स्थापना हुने जानकारी पनि दिएका छन ।

भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलाललाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलाललाई खोजी–खोजी कारबाही गर्ने र पीडितहरको लागि आइतबारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी गुनासो सेन्टर स्थापना गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भनाई

मन्त्री श्रेष्ठले भने, ‘हामीले एउटा मार्सल टिम एक्शनमा जाने गरी दलाललाई, ठगहरुलाई, तह लगाउने गरी टिम गठन गरेका छौँ । त्यसको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, सिआईबीको प्रहरी नायब उपरिक्षकहरु लगायतको टोली हुने छ ’ ।

उनले विशेष गरी मार्सल टिमको काम पीडित भएर, दुःख पाएर दुबईबाट फर्किएका युवाहरुको पनि वेदना, पीडा सुन्ने बताए । पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको उनको भनाई छ । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गए पनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो पीडितहरुले गरेका थिए ।

पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भए पनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताएका थिए । उनिहरुले त्यहाँ रहेको दुतावासले कुनै पनि सहयोग नगरेको गुनासो समेत गरेका छन । पीडितहरुले आर्थिक स्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरुले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो पीडितहरुको थियो ।

संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरी लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत हो । लामो समय बेखबरजस्तो बनेको नेपाल सरकार केहि दिन यता तातेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि व्यवसायीहरुले पीडितहरुलाई फिर्ता ल्याउन थालेका छन ।

प्रतिक्रिया