रक्तदान अभियान सुरु

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास अगाडिबाट बुधबार राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरेको छ । संघले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधबारदेखि अभियान सुरु गरेको हो ।

बालकोटस्थित ओली निवास अगाडिबाट सुरु भएको अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै ओलीले राम्रा कामका लागि सधैँ अगाडि बढ्न युवालाई शुभकामना दिए । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा संघ अगाडि बढ्ने बताए ।

एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद गोकुल बाँस्कोटाले पनि सहभागीलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गरे । अध्यक्ष ओलीलाई नेता बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गरे भने बस्नेत र नेता बाँस्कोटाले रक्तदातालाई संघले प्रकाशन गरेको पुस्तक ‘तस्बिरमा ओली सरकार’ उपहार प्रदान गरे ।

संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बालकोटबाट सुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाका १५ ठाउँमा सञ्चालन हण्ुने बताए । अभियानमा पहिलो दिन ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया