महामारीले थला पारेको ‘सामुदायिक होम स्टे’

बाग्लुङ । कोदोको ढिँडो र बाँकोको गुन्द्रुकले परिचित बागलुङको बरेङमा रहेको सिग्दी सामुदायिक घरबास (होम स्टे)  कोरोना महामारीका कारण थलिएको छ । विसं २०७६ को सुरुवातसँगै सञ्चालनमा आएको घरबास नौ महिनामै बन्द भएपछि पुनःसञ्चालनमा आउन नसकेको घरबास सञ्चालक समितिका अध्यक्ष हीराबहादुर थापाले बताए ।

उक्त घरबास सञ्चालन भएकोे छोटो समयमै चर्चामा आएको थियो । कोरोना महामारी फैलिने त्रासमा बन्द भएपछि घरबास सञ्चालकले पेशा नै परिवर्तन गरेका छन् । युवापुस्ता गाउँबाहिर रहेको र घरमा रहेका बयस्कले पनि त्रास कायम रहेको भन्दै घरबास पुनः सञ्चालनका लागि आनाकानी गरेको उनको भनाइ छ । ‘लामो समय कुर्न सकिन, अहिले बाख्रापालन गर्न थालेको छु’, सञ्चालक थापाले भन्नुभने, ‘अब बाख्रा पाल्न छोड्नु कि घरबास सञ्चालन गर्न छोड्नु भएको छ ।’

सिग्दीमा पहिचानका रूपमा रहेको सांस्कृतिक कार्यक्रमका कलाकारले दुई वर्षको अवधिमा विवाह गरे । पुराना कलाकार विवाह गरेर बाहिरिने र नयाँ कलाकार तयार गर्ने समय नभएकाले घरबास सञ्चालनमा ल्याउन अर्को समस्या परेको छ ।

‘हामीले पटक–पटक प्रयास गर्दै आइरहेका छौँ, छलफल भइरहेको छ, पहिले सहभागी घरबाहेकका घर समावेश गरेर भए पनि सञ्चालन गर्नुपर्छ भनेका छौँ, ‘थापाले भने, ‘तर समुदाय तयार नभएसम्म नहुँदोरहेछ, कलाकार नभए सांस्कृतिक कार्यक्रम नहुने, सांस्कृतिक कार्यक्रमबिनाको घरबासको केही काम  आउँदैन ।’ कोरोनाको समयमा अन्य व्यवसायसंगै  थालिएका घरबास सञ्चालकहरू अझै  सहजरूपमा घरबास सञ्चालनमा फर्किन तयार भएका छैनन् ।

यहाँको घरबासमा लोकल कुखुराको झोल र कोदोको ढिँडो खाने भन्दै छोटो समयमा धेरै पर्यटक त्यहाँ पुगेको तथ्याङ्क छ । छोटो सबैभन्दा धेरै आन्तरिक पर्यटकको रोजाइ बनेको घरबास कोरोनाका कारण थलिएको हो । गुल्मीको सिमानासँग जोडिएको बरेङमा बागलुङ, पर्वत, पोखरा र गुल्मीबाट भन्दा धेरै पर्यटक बुटवलबाट आउने गरेका थिए ।

ठूलो बजार नरहेको गाउँपालिकामा घुम्न आउनेदेखि काम विशेषले आउनेहरूको आश्रयस्थल बनेको घरबास एक वर्ष पनि सञ्चालन नहुँदै बन्द भएको गाउँपालिकाले जनाएको छ । ‘घरबास पुनः सञ्चालनका लागि पहल भइरहेको छ’, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘कोरोना फैलिएकाले जोडबल गरेका छैनौँ, तर यसलाई त्यसै मर्न दिँदैनौँ ।’

गाउँपालिकाले रु १० लाख खर्चेर घरबासमा सांस्कृतिक कार्यक्रमका लागि सभाकक्ष बनाइदिएको छ । त्यही कक्षमा अहिले विवाह, व्रतबन्ध र अन्य धार्मिक कार्यक्रम हुने गरेका छन् ।  त्यस्तै गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको अनुदान रकम पदमार्गमा खर्चिएको शर्माले बताए । घरबास सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने क्रममै रहेका बेला महामारीले थला पारेको अध्यक्ष शर्माको  भनाइ थियो । सिग्दी घरबासमा एकै पटकमा ३० जनासम्म पर्यटक बस्न सक्छन् । कौडेधुरी नजिकै डाँडामा भ्यूटावर निर्माण गरिएको छ । सत्यावतीको मन्दिर र पौराणिक दरबारका अवशेष र यहाँको प्राकृतिक सम्पदा पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।

प्रतिक्रिया