सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

क्यामरुन । साडियो माने प्रेरित सेनेगल र अचरफ हाकिमी प्रेरित मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेनेगलले ९ खेलाडीमा समेटिएको केप भार्डेलाई २–० ले पराजि तगर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा मंगलबार राति भएको खेलमा सेनेगलको जितमा साडियो माने र एमाडोउ बम्वा डिइङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको २१औं मिनेटमा केप भार्डे १० खेलाडीमा समेटिन पुगेको थियो । प्याट्रिक एन्डराडे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ५७औं मिनेटमा केप भार्डे ९ खेलाडीमा समेटिन पुगेपछि त्यसको फाइदा सेनेगलले उठाउन सफल भयो । भोजिन्हा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसको ६ मिनेटपछि साडियो मानेले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमाडोउ बम्वा डिइङले गोल गर्दै टोलीको जित पक्का गर्दै क्वाटरफाइनलको यात्रा तय गराए । अब सेनेगलले क्वाटरफाइनलमा माली वा इक्वेटेरियल गिनियामध्येको विजेतासँग खेल्नेछ । अर्काे प्रि–क्वाटरफाइनलमा मोरोक्कोले मालावीमाथि २–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । मोरोक्कोको पूनरागमन जितमा युसुफ इन न्यास्री र अचरफ हाकिमीले गोल गरे । मालावीका गाभाडिनोको गोल सान्त्वना बन्यो ।

खेलको सातौ मिनेटमा गाभाडिनोको गोलबाट मालावीले सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई मालावीले जोगाउन सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्राृ मिनेटमा युसुफले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७०औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै टोलीको जित पक्का गराए । अब मोरोक्कोले क्वाटरफाइनलमा आइभोरी कोस्ट वा इजिप्टबीचको विजेतासँग खेल्नेछ । अफ्रिका कप अफ नेसन्सको अन्तिम प्रि–क्वाटरफाइनलका दुई खेल आज राति हुदैछ । आइभोरी कोस्ट र इजिप्टले राति ९ः४५ बजे प्रतिस्पर्धा गर्दा माली र इक्वेटेरियल गिनियाबीचको खेल राति १२ः४५ बजे हुनेछ ।

प्रतिक्रिया