एनएसएल तीन टोली थप्दै चैतमा आयोजना हुने

काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा १० टोलीको सहभागिता हुने भएको छ । एनएसएलको आयोजक एनएसइएमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एनएसएलको दोस्रो संस्करण चैत २६, २०७८ देखि जेठ ७, २०७९ सम्म आयोजना हुने जनाएको छ । आयोजकले पछिल्लो संस्करणको ७ टोलीबाट थप ३ टोलीका साथ कुल १० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसपटक पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

यद्यपि कोरोना संक्रमणको स्थिति हेरेर एकै सहरमा गर्ने सम्भावना पनि रहेको आयोजकले उल्लेख गरेको छ । पहिलो संस्करण कोभिड–१९ को प्रतिकुल अवस्थाका बाबजुद बिना दर्शक दशरथ रंगशालामा भएको थियो । २०७८ वैशाख–जेठमा भएको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए । काठमाडौं रेजर्सले फाइनलमा धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो । आयोजकले अर्को महिनाभित्र ३ नयाँ टोलीको टुंगो लाग्ने पनि जनाएको छ । पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणका लागि नयाँ टोली खरिद गर्न कर्पोरेट हाउसहरुको उत्साह बढ्ने एनएसइएमले अपेक्षा राखेको अज्नाएको छ ।

प्रतिक्रिया