प्रदेश–१ को नाम : ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ स्वीकारौँ

निनाम लोवात्ती

राज्य पक्षका मान्छेहरू सकेसम्म प्रदेश–१ लाई ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’ वा ‘किरात’ नाम मात्रै राख्न नदिने पक्षमा छन् । त्यसका लागि उनीहरूले ‘जनता प्रदेशको नाम होइन विकास चाहन्छन् !’ भन्ने खालको एक खाले भनाइ वा नारालाई अघि सार्दैछन् । उनीहरूले त्यसका लागि बढी से बढी ‘सगरमाथा–कोसी’, ‘सगरमाथा–मकालु’, ‘सप्तकोसी’ नाम दिने पक्षमा तयार होलान् । नभए त उनीहरूका लागि प्रदेश–१ को नामहरूमा ‘मेची’, ‘कोसी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि पो उपयुक्त होला ।

सुरुमा विनानामका सात वटा प्रदेशहरू रहेकोमा हालसालै प्रदेश–२ ले समेत ‘मधेस प्रदेश’ नाम पाएको छ । सो प्रदेशसहित अब नाम पाउने प्रदेश ६ वटा भएका छन् भने, नाम राख्न बाँकी भनेको ‘प्रदेश–१’ हो । मुखले मात्रै भए पनि पहिचान पक्षधर भनिनेहरूले प्रदेश–१ को नाम के राख्लान् ? नेपालका बौद्धिक वा बुद्धिजीवी माझ मात्रै होइन आममानिसहरूबीच पनि यस विषयमा बढी नै खुलदुलीको विषय भएर रहेको छ ।

हुन त सकेसम्म प्रदेश–१ को नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ रहेमा राम्रो हुनेछ । त्यसो नभएमा ‘किरात’ नाम मात्रै राख्न पनि सकिनेछ । तर, पहिचान पक्षधर भनिनेहरू नै ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ प्रदेश नाम रहनुपर्ने भन्नेमा खुलेर बोल्न वा भनौँ वकालत गर्न सकीरहेका छैनन् । कम्तिमा ‘किरात’ नाम राख्नका लागि पनि प्रदेश–१ का पहिचान पक्षधर भनिने माननीयहरूले बेला छँदै लाग्नुपर्ने, बोल्नुपर्ने र लबिङ गनुपर्र्ने देखन्छ । तर, उनीहरूले खुलेर त्यसो गर्न सकिरहेका छैनन् । यस्तो कमजोर मानसिकताका रहेका माननीयहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस), नेकपा (माओवादी), राप्रपा आदि राजनीतिक दलहरूमा बढी देखिन्छन् । किनभने, उनीहरूले त्यसरी आप्mनो समुदाय, ऐतिहासिक थातथलो, इतिहास, सभ्यता, भूगोल, धर्म, जातजाति, भाषाभाषी, वंश, रहनसहन, परम्परा, मूल्य–मान्यता आदिको दीर्घकालन हितमा दह्रोसँग अडान लिँदा भोलिका दिनमा आफूहरू आफू लागेको राजनीतिक दलको ‘बफादार झोलेपोके !’ हुन नपाइने पो हो कि ? साथै आफ्नो दलका सुप्रिमोहरूले कतै ‘हटक–कटक !’ गर्ने पो हो कि ?, भविष्यमा कहिल्यै पनि माथि उठ्न नदिने पो हो कि ? भन्ने मनोवैज्ञानिक त्रासमा छन् । यही त्रासका कारण आफूलाई पहिचानवादी भन्न रुचाउने माननीयहरू खुलेर आफ्नो समुदायको हकअधिकार, ऐतिहासिक थातथलो, इतिहास, सभ्यता, भूगोल, धर्म, भाषा, वंश आदिप्रति दह्रोसँग अडान लिन सकिरहेका छैनन् ।

त्यसो त नेपालमा पनि ०६२/६३ को दोस्रो जनआन्दोलनले ल्याएको राप र तापपछि आएको राजनीतिक परिवर्तनपछि राज्य पुनः संरचनामा जाँदा ‘जातीय स्वपहिचान, भाषा, ऐतिहासिक भूमि, भूगोल आदिका आधारमा प्रदेशहरूको नाम रहनुपर्छ !’ भन्दा जस (जुन वर्गले) ले ‘यस्तो जातीय सद्भाव भड्काउने कुरो पनि गर्ने ?, साम्प्रदायिक कुरो पनि गर्ने ?, अहिलेसम्म मिलेर बसेको नेपाली समाजलाई भाँड्ने ?’ भनी ठाडै हप्काउने, दप्काउने वा भनौँ सम्झाउने, बुझाउने गरियो । तर, उनीहरूले नै धेरैअघि ‘आ–आफ्नो थर, उपथर र गोत्र (वंश) को आधारमा ‘संगठन’, ‘समाज’ अथवा ‘गुठी’ गठन गरिसकेको भने कसैलाई भनेन । न त हाम्रा आदिवास जनजाति मूलका भन्ने/भनिन चाहने ‘ग्वाँजे !’ नेताहरूले नै त्यसको हेक्का राखे । त्यस्तो भएपछि सम्बन्धित जात समूह बाहेकका धेरै कम ‘आदिवासी जनजाति !’ भनिनेहरूले पनि धेरै पछि मात्रै थाहा पाए वा बुझेका होलान्, जातले पनि बाहुन र व्यवहारले पनि उनीहरूको चाला यस्तो ? त्यसैले उनीहरू आदिवासी जनजाति मूलका मान्छेलाई नै अघि सारेर केही प्रदेशको नाम भूगोल र खोलानालाको नाममा राखिसके भने, बाँकी केही प्रदेश–१ को नाम पनि भूगोल र खोलानालाकै नाममा राख्नेवाला छन् ।

राज्य पक्षका मान्छेहरू सकेसम्म प्रदेश–१ लाई ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’ वा ‘किरात’ नाम मात्रै राख्न नदिने पक्षमा छन् । त्यसका लागि उनीहरूले ‘जनता प्रदेशको नाम होइन विकास चाहन्छन् !’ भन्ने खालको एक खाले भनाइ वा नारालाई अघि सार्दैछन् । उनीहरूले त्यसका लागि बढी से बढी ‘सगरमाथा–कोसी’, ‘सगरमाथा–मकालु’, ‘सप्तकोसी’ नाम दिने पक्षमा तयार होलान् । नभए त उनीहरूका लागि प्रदेश–१ को नामहरूमा ‘मेची’, ‘कोसी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि पो उपयुक्त होला । संभवतः राज्य पक्षका कुनै न कुनै माननीयले यस्तो नामहरू प्रस्ताव गर्न बेर पनि छैन, प्रदेश–१ को आगामी हिउँदे अधिवेशनमा । किनभने, उनीहरूका लागि ‘मेची’, ‘कोसी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि नाममा भएमा जातीय नाम हुने छैन । यसले सबै जातजाति र भाषाभाषीको प्रतिनिधित्व पनि गर्नेछ, उनीहरूका नजरबाट हेर्दा । किनभने, यो वा ऊ नाममा विगत लामो समयदेखि एकल ढंगले राज्य चलाउँदै आएकाहरूका लागि माथिका पछिल्लो नामहरूमा किरात वा किराती जातीय नाम छैन ।

त्यसका लागि (पछिल्लो नामहरू प्रस्ताव गर्नका लागि) हाम्रै भनिएका आदिवासी जनजाति मूलका प्राडा र बौद्धिक वा बुद्धिजीवी भनिनेहरू र मझौला खालका आदिवासी जनजाति मूलकै नेता पनि प्रयोग हुने संभावना देखिन्छ ।
त्यसो त ‘किरात सभ्यता’लाई विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापक रूपमा फैलिएको सभ्यताहरूमध्ये एक मान्ने गरिन्छ । किरात/किरातीहरू ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा किरातहरू रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ ।

किरातीहरूको ऐतिहासिकता तथा चर्चा–परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, बाल्मीकि रामायण र महाभारतहरूमा (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरू) मा पनि किरात जातिको उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किरात र किरातीहरूका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । त्यसैले प्रदेश–१ का किराती मूलका मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका साथै बाहुन, क्षेत्री, सन्यासी, दलित, मधेसी आदि (यो पंक्तिकारलाई थाहा भएसम्म प्रदेश–१ मा ठकुरी, शाह, राणा जात समूहका माननीय ज्युहरू हुनुहुन्न ।) का माननीय ज्युहरूले ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुईतिहाइ मात्रै होइन प्रदेश–१ को सिंगो संसद्ले एक मतले पारित गर्नुहोस् । तपाईंहरूले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबै सबैले तपाईंहरूलाई हार्दिक नमन गर्नेछ । हार्दिक धन्यवाद भन्नेछ ।

किरात वा किरातीहरूको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जिपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवं भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले काठमाडौं उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरूले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएको किरातीहरू पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवं उपनिवेशीकरणका कारण किरातीहरू विस्थापित हुँदै र आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौँ समूह रहँदै आएको भएता पनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरूको बसोबास रहेको छ । यसरी सानो भू–भागमा मात्रै आफूलाई प्रष्ट रूपमा किराती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भगौलिक एकीकरण भएसँगै आफ्ना पिता–पूर्खाहरूले स्थानीयस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिंदै उनीहरूले जानाजानी वा अरूको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।’ भनी लेखाउन÷भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’ सँगै उनीहरूको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरूमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ/देखिन्छ ।

प्रतिक्रिया