सुनेन राज्यले उपल्लो डोल्पाको दुःख !

हिमाल पारिको जिल्ला उपल्लो डोल्पा एक भूगोल मात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरू बसोबास गर्ने खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि यहाँका जनतालाई जीवन चलाउनुपर्ने बाध्यता छ । प्रकृतिले सुन्दर बनाएको ठाउँमा राज्यको सुन्दर आँखा पर्न सकेन भने त्यो ठाउँ बिरानो जस्तै हुन्छ । उपल्लो डोल्पाली जनता हिजोदेखि आजसम्म राज्यको आसमा छन् । तर, उनीहरूको आसा निरासा मात्रै हुने गरेको छ । पैसा हुने नेपालीहरू सुन्दर भूगोल हेर्न विभिन्न विदेशी भूमि जान्छन्, लाखौँ खर्च गर्छन् । उनीहरूका लागि भौगलिक रूपमा टाढा भएर पनि ती ठाउँ सुविधाले नजिक बनेको छ । तर, भौगौगिक रूपमा आफ्नै देश कहाँ हो कहाँ जस्तो भएको छ भौगोलिक विकटता र असुविधाले ।

काठमाडौंबाट विभिन्न मुलुकमा जान बरु छिटो र सुलभ हुनसक्छ तर उपल्लो डोल्पा पुग्न ठूलो खर्च लाग्छ । दुरीका हिसाबले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि जो कोहीलाई फलामको चिउरा चपाउनुसरह हुने गरेको छ । भौगालिक रूपमा ठूलो जिल्लाका रूपमा नाम परिचित भए पनि यहाँका जनताले भोग्ने दुःखको भाग त्यो भन्दा झन ठूलो रहेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङले बताए । उनले भने, ‘भात खाने चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनुपर्छ, उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्यझैँ लाग्छ राज्यलाई । तर काठमाडौंमा कुकुर मर्दा बजारभरि थर्किन्छ ।’ उनले यहाँको भोगाइ र पीडा सुनाए ।

प्राकृतिक रूपमा सुन्दर छ डोल्पा । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टीले उत्तिकै महत्वपूर्ण छ । शे–फोक्सुण्डा ताल हेर्न र त्यसको मनोरञ्जन लिन टाडाबाट मान्छे पुग्ने गर्छन् । हो त्यो शे–फोक्सुण्डा पनि यहि पर्छ । यहाँका सुन्दर प्रकृतिलाई लुकाएको छ । यहाँको विकटताले । त्यसैले मान्छेका लागि डोल्पाको सुन्दरता चुम्न सहज छैन र गुगलमा भेटिने तस्बिर हेर्नुपर्छ । राज्यको स्रोत परिचालन र वितरण प्रणाली पक्षपाती भएको समेत उनले बताए । चौरी लड्ने भिरमा हाम्रा दैनिकी चल्छन्, उता काठमाडौंमा गगनचुम्बी महलमा बस्नेलाई हाम्रा दुःखले कहिले पनि छोएन अध्यक्ष गुरुङले भने । उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकाले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने ग्याल्वो भोटेले बताए । उनले भने, ‘राज्यको नीति निर्माण तहमा हाम्रो सहभागिता नहुनु नै हाम्रो कुरा सबैले नसुन्नु रहेछ ।’

यहाँका जनताले न बिरामी हुँदा अस्पताल देख्न पाउँछन् न कुनै महामारीमा लगाइने भ्याक्सिन । उनीहरूका लागि बिरामीको साथी भनेको आप्mनै वरपर पाइने जडीबुटी हो । उपल्लो डोल्पामा पाइने बहुमुल्य जडीबुटीको मात्रै राम्रोसँग उपयोग गर्न सक्ने हो भने पनि यहाँका जनताका लागि धेरै सहयोग पुग्छ । त्यति मात्रै होइन, राज्यले यहाँका नागरिकलाई पनि अन्य जिल्लाका नागरिकलाई जस्तै हेर्नुपर्छ । अझ अहिले मुलुक संघीयतामा गएकाले पनि प्रदेश सरकारको पनि यसमा दायीत्व हुनपर्छ ।

जनजाति समुदायको बसोबास रहेको उपल्लो डोल्पाको एक खण्ड शे–फोक्सुण्डो गाउँपालिका हो । यो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पृष्ठभूमिसँग जोडिएको छ । साल्दाङस्थित ऐतिहासिक तथा धार्मिकस्थल शे–गुम्बा र फोक्सुण्डो रिग्मोगाउँ र पर्यटकीयस्थल फोक्सुण्डो ताल यहाँ रहेको छ । यस ठाउँमा जानका लागि स्थलमार्ग हुँदै सदरमुकामबाट कम्तीमा दुई दिन लाग्छ । घोडेटो बाटो हुँदै पैदल हिँडेर त्यहाँ जानु पर्दछ । सडक सञ्जालसँग नजिएका कारण धेरै पर्यटकले जान खोजे पनि त्यहाँ पुग्न मुस्किल हुँदै गएको छ । हिउँ चितुवा, कस्तुरी र जडीबुटीको भण्डारका रूपमा रहेको यहाँ माल पाएर पनि चाल नपाउने अवस्था सिर्जना हुँदै आएको छ । व्यवस्था बदलिए पनि उपल्लो डोल्पाको अवस्था नबदलिएसम्म खास राज्य भएको अनुभूति गर्न नसक्ने सर्वसाधारण बताउँछन् । यहाँको महत्वलाई राज्यले बुभ्mन नसकेको उनीहरूको बुझाइ छ ।

उपल्लो डोल्पामा सधैँझैँ चिसो भए पनि यो समयमा भारी हिमपातले झनै चिसो खपिनसक्नु छ । तापक्रम माइनसमा झरे पनि यहाँका मानिस आफ्नो दिनचर्या चलाउन बाध्य छन् । केही हुनेखानेहरू ओलतिर झरे पनि अधिकांश सर्वसाधारण उपल्लो डोल्पामै छन् । मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिस चिसोसँग मुकाविला गरेर बसेको छन् । थाकथलो छोडेका छैनन् । उनीका लागि यहाँ बस्नु बाध्यता हो, आर्थिक अभाव । हिउँमा चौँरी, याक र घोडामा सामल बोकाएर जीउज्यानको प्रवाह नगरी उपल्लो डोल्पामा भारी हिमपातका बीचमा बस्नु कम्तीको चुनौतीपूर्ण छैन । तल्लो डोल्पा झर्नेहरू हिउँदका करिब ६ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडमा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ भने केही कोठा भाडामा लिएर बस्छन् । उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ भने बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ । उपल्लो डोल्पामा नेपाल सरकारले खाद्यान्न पुर्याउँदैन ।

उपल्लो डोल्पालीका लागि हिउँदमा बेँसी झर्नु संस्कृति नै बनेको छ । पहिले आर्थिक हिसाबले मजबुत डोल्पालीहरू चिसो छल्न काठमाडौंसम्मै पुग्थे । त्यही मौकामा जडीबुटी व्यापार गर्थे । कोभिड–१९ संक्रमणका कारण यो वर्ष काठमाडौँसम्म जानेहरू घटे । वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरि लर्को लाग्छ । फर्कनासाथ बाली लगाउने र यार्सागुम्बु संकलन गर्ने समय हुन्छ । यार्सागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो भने पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन् । यसैबाट उनीहरू गुजारा गर्छन् ।

शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ भने सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ । साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यही छन् । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात ठाउँ हो ।

शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । सबै स्थानीयवासीको मुख्य बजार नै क्याटो हो । कोभिड संक्रमणका कारण उक्त नाका अहिले खुलेको छैन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–लानाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । तर ती सबै ठाउँमा अहिले हिमपातले गर्दा जानआउन सक्ने अवस्था छैन । संघीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भने पनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन् ।

उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउन पर्ने खोपसमेत पाउँदैनन् । अहिले देशैभरि चलेको कोभिडको खोपसमेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् । सामान्य टाउको दुखे अस्पताल दौडिने सहरभन्दा अस्पतालको अनुहार नै देख्न नपाई मृत्युलाई स्वीकार गर्ने उपल्लो डोल्पाको पीडा कति होला ? विकास निर्माणको सवालमा समेत अन्य जिल्लामा छुट्याउन बजेट बराबरकै उपल्लो डोल्पामा छुट्याउँदा यहाँको भौगालिक बिकटताले त्यो बजेट हात्तीको मुखमा जिराझै हुन्छ । सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी रहेको उपल्लो डोल्पामा राज्यले भारी बजेट छुट्याएर खास क्षेत्र घोषणा गरी हिमालको छुट्टै स्वायत्तता बनाउन सके न्याय हुने स्थानीयको माग छ ।

प्रतिक्रिया