जालुमायाको ‘चरी बनैमा’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका जालुमाया गुरुङ र गायक राजु परियारको युगल आवाजमा मौलिक गीत ‘चरी बनैमा’ बजारमा आएको छ । मंगलबार गायिका गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको यक्त गीतले यो समाचार तयार पार्दासम्म ८६ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

समधुर आवाजका धनी गायक र गायिका दुवैको स्वर रहेको गीत दर्शक स्रोताले मन पराउँदै युट्युबमा हेरेको पाइएको छ । गायिका जालुमाया आफैंले उक्त गीतमा शब्द सिर्जना गर्नुका साथै मौलिक संगीत भरेकी छन् । त्यस्तै, मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् ।

त्यसैगरी, मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोमा अजय रेग्मीले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । उक्त भिडियोमा गायिका जालुमाया आफैं, चिज गुरुङ, बाल कलाकार तथा जालुमायाकै छोरा आयुष गुरुङ र रबिना बस्यालले अभिनय गरेका छन् ।

गीतको शब्दमा बालापनदेखि विद्यार्थी जीवनसम्मको सम्झनालाई समावेश गरेको गायिका गुरुङले बताइन् । भिडियोमा पनि त्यस्तै दृश्य देखाइएको उनको भनाई छ ।

‘गीतको शब्दमा बालापनदेखि विद्यार्थी जीवनसम्म र मायाप्रेमका विषय पनि समावेश छन्,’ उनले भनिन्, ‘गाउँघरमा बिगतमा गरिएको सम्झना झल्काइएको छ, यस गीतले हरेक बालबालीका र युवा युवतीहरुलाई समेत प्रतिनिधित्व गरेको छ ।’

यसभन्दा अगाडि पनि आफ्ना धेरै मौलिक गीतहरु बजारमा आइसकेको जानकारी दिँदै गायिका गुरुङले पछिल्लो यस ‘चरी बनैमा’ बोलको गीतले नेपाली लोकदोहोरी क्षेत्रमा मौलिकताको प्रतिनिधित्व गरेको जिकिर गरिन् ।

‘केही फरक खालका गीतले बजार धमिलो बनाइरहेको बेला मैले यो गीत सिर्जना गरेर बजारमा ल्याएकी छु’, उनले भनिन्, ‘गायकको रुपमा मैले सम्मान गर्ने लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएको समधुर स्वरका धनी गायक आदरणी राजु परियारलाई समावेश गराएको पनि छु, अझै दर्शक स्रोताहरुको पाउनेमा अपेक्षा गरेको छु ।’

गायिका गुरुङ प्रत्यक्ष दोहोरी गाउनमा पनि अब्बल मानिएकी छन् । त्यस्तै, गायक परियारका हजारौँ गीतललाई लाखौँ दर्शक स्रोताले मन पराइरहेका छन् ।

प्रतिक्रिया