मौरिससको फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ सय ७२ औं स्थानमा रहेको छ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । अलमुताइरीले केही दिनमा नै अन्तिम टोली घोषणा गर्ने सम्भावना छ । दर्शकसहित वा विना दर्शक खेल गराउने भन्ने निर्णय लिन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का एन्फा महासचिव तुलाधरले बताए । ‘एक तिहाई दर्शक राख्ने सम्भावनाबारे छलफल भइरहेको छ । तर, जिल्ला प्रशासनसँग समन्वय गरेर दर्शक राखेर वा विना दर्शक गराउने विषयमा निर्णय गर्नैछौं । केहि दिनमा निर्णय गछौं,’ उनले भने ।

माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिपयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यति बेला पहिलो पटक नेपाली टोली फाइनल पुगेको थियो । नेपालले साफअघि घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला नेपालले १ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

प्रतिक्रिया