ओमिक्रोन र विश्वविद्यालयहरूको दायित्व

न्हुंछेनारायण श्रेष्ठ

अहिलेको विषम परिस्थितिमा शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबै विश्वविद्यालयहरूको ध्यान जानु आवश्यक छ । विश्वमै कोरोनाको महामारीका विभिन्न स्वरूपहरू देखा परिरहेको परिस्थितिमा विश्वविद्यालयहरूले यो रोग निदानका लागि खोज, अध्ययन, अनुसन्धानको पक्षलाई समेट्दै अघि बढ्नुपर्दछ । नेपालमा खोलिएका विश्वविद्यालयहरू र प्रतिष्ठानहरूले खोज र अध्ययन, अनुसन्धानलाई प्राथमिकतामा राखेर आगामी दिनमा महामारीका बीच शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ ? शिक्षाका नविनतम उपायहरूबारे नेपाल सरकारलाई राय सल्लाह दिन सक्नुपर्दछ ।

नेपाललगायत विश्वमै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन रोगका कारण दिनहुँ लाखौँको दरमा बिरामीहरू बढिरहेका छन् भने थुप्रैले मृत्युवरणसमेत गरिसकेका छन् । छिमेकी मुलुक भारतमा ओमिक्रोनका बिरामी बढेसँगै नेपालमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै पनि महामारी सुरु भएको छ । नयाँ भेरियन्टले भारतमा जस्तै नेपालमा पनि नराम्ररी प्रभाव पारिसकेको छ ।

सिसिएमसीको बैठकले विद्यालय, विश्वविद्यालयहरूका सम्पूर्ण पठनपाठन, परीक्षाहरू स्थगित गरिसकेको छ । त्यस्तैगरी गत शुक्रबारबाटै यातायात प्रणालीमा जोरबिजोर प्रणालीसमेत लागू गरिसकेको छ । राजधानीलगायत देशैभरी ओमिक्रोनबाट बच्नका लागि पूर्वसावधानीका विभिन्न उपायहरू अपनाउन नेपाल सरकारले निर्देशन दिए पनि अझै केही नागरिकहरूले अटेर गरी सरकारी प्रोटोकलको अवज्ञा गरेको देखिन्छ । यसप्रकारका कार्यको तत्काल बन्द गर्नुपर्ने आवश्यकता छ ।

कोरोना महामारीकै बीच असहजताका बाबजुद् विभिन्न क्षेत्रहरू बिस्तारै चलायमान हुँदै आइरहेका थिए । कोरोनाका नयाँ नयाँ भेरियन्टहरूको सामना गर्दै विश्व अघि बढिरहेको थियो । त्यस क्रममा नेपाल पनि अछुतो रहन सकेन । नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, धार्मिक, सांस्कृतिकलगायत खेलकुदका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका थिए । तर फेरि विश्वमा नै ओमिक्रोनको संक्रमण बढ्दै गएका कारण विश्वका केही देशहरूले पुनः लकडाउन गरी सुरक्षित हुने उपाय गरिसकेका छन् । छिमेकीमुलुक भारतमा दिनहुँ लाखौँको संख्यामा संक्रमितहरू थपिँदै गइरहेका छन् भने नेपालमा पनि संक्रमित दिनहुँ हजारौँ बढिरहेका छन् । हालै मात्र सिसिएमसीको बैठकले एक सूचना जारी गरी २५ जनाभन्दा बढी भेला नहुन, स्वास्थ्य मापदण्ड अपनाउनलगायत अन्तर्राष्ट्रिय सीमानाकामा नियमित पिसिआर स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिने सकारात्मक निर्णय गरेको छ । तर, नेपाल र भारतको खुला सीमानाकाका कारण भारतबाट संक्रमण सर्ने जोखिम बढेको देखिन्छ । त्यस्तै गरी वाह्य हवाइ उडानहरू समेत नियमित रूपमा भइरहेका छन् । ती उडानहरूमा कडाइ गर्नुका साथै जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका उडानहरू रोक लगाउनु अपरिहार्य भएको देखिन्छ ।

उच्च माध्यमिकतहको शिक्षा आर्जनपछि विश्वविद्यालयहरूबाट देश विकासका लागि आवश्यक दक्षजनशक्ति उत्पादन गर्ने तहको शिक्षा प्रदान गरिने शिक्षा नै उच्चशिक्षा हो । नेपालमा हालसम्म ११ वटा विश्वविद्यालयहरू र चार वटा प्रतिष्ठानहरू स्थापना भइसकेका छन् । त्रिभुवन विश्वविद्यालय मुलुककै सबैभन्दा पुरानो विश्वविद्यालयको रूपमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले हालसम्म उच्चशिक्षाको ८० प्रतिशत भार वहन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको सञ्जाल मनाङ जिल्लाबाहेक ७६ वटा जिल्लामा विस्तार भइसकेको छ । नेपालको संविधान २०७२ मा मौलिक हकअन्तर्गत शिक्षासम्बन्धी हकलाई प्राथमिकता दिएको पाइन्छ । नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत नेपालमा खोलिएका विश्वविद्यालयहरूका लागि आवश्यक बजेट विनियोजन, विश्वविद्यालयहरू सञ्चालन र व्यवस्थित गरी विश्वविद्यालयहरूलाई एकरूपता ल्याउनका लागि पहल गरेको छ ।

अहिलेको विषम परिस्थितिमा शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबै विश्वविद्यालयहरूको ध्यान जानु आवश्यक छ । विश्वमै कोरोनाको महामारीका विभिन्न स्वरूपहरू देखा परिरहेको परिस्थितिमा विश्वविद्यालयहरूले यो रोग निदानका लागि खोज, अध्ययन, अनुसन्धानको पक्षलाई समेट्दै अघि बढ्नुपर्दछ । नेपालमा खोलिएका विश्वविद्यालयहरू र प्रतिष्ठानहरूले खोज र अध्ययन, अनुसन्धानलाई प्राथमिकतामा राखेर आगामी दिनमा महामारीकाबीच शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ ? शिक्षाका नविनतम उपायहरूबारे नेपाल सरकारलाई राय सल्लाह दिन सक्नुपर्दछ । नेपालको भौगोलिक अवस्था हेर्ने हो भने कुल भूभागकोे १५ प्रतिशत हिमाली प्रदेश, ६८ प्रतिशत पहाड र १७ प्रतिशत भूभाग तराई क्षेत्रले ओगटेको छ । भारत र चीन दुई छिमेकी राष्ट्रहरूको बीचमा रहेको नेपाल भूपरिवेष्टित राष्ट्र पनि हो । नेपालको संविधान (२०७२)को घोषणासँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवर्तन भएको छ ।

नेपाल संघ, प्रदेश र स्थानीयतहको मूल संरचनामा परिवर्तन भएको छ । शिक्षालाई समयानुकूल परिवर्तन गरी प्रविधिमूलक, अनुसन्धानमुखी र रोजगारमुखी बनाउनका लागि तीन वटै निकायको आवश्यक पहल गर्नुपर्ने दायित्वसमेत थपिएको छ । अहिलेको विषम परिस्थितिमा सबै निकायहरूले रोगबाट बचाउनका लागि आआफ्नो स्थानबाट सक्दो पहलगर्नु पर्ने समय आएको छ । यो परीक्षामा पास हुनेले आगामी निर्वाचनमा सफलता अवश्य प्राप्त गर्नेछन् । जनताले चुनेका, जनताका लागि हुन सक्दैनन् भने त्यस्ता दल, नेता, कार्यकर्ताहरूलाई नागरिकहरूले सजाय अवश्य दिने नै छन् ।
देशको एक मात्र राष्ट्रिय विश्वविद्यालयको हैसियतको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको गौरवमय इतिहास बोकी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भइसकेको छ । देशको लागि आवश्यक पर्ने प्राविधिक, प्रशासनिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्नमा यसको महत्वपूर्ण भूमिका रहेको छ । देशभर अहिलेसम्म ११ वटा विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । नेपाल संस्कृत विश्वविद्यालय (दाङ–०४३), काठमाडौं विश्वविद्यालय (धुलिखेल–०४८), पूर्वाञ्चल विश्वविद्यालय (विराटनगर–०५१), पोखरा विश्वविद्यालय (पोखरा–०५४), लुम्बिनीबौद्ध विश्वविद्यालय (लुम्विनी–०६२), मध्यपश्चिमाञ्चल विश्वविद्यालय (सुर्खेत–०६७, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, (महेन्द्रनगर–०६७), कृषि तथा वन विश्वविद्यालय (चितवन–०६७), नेपाल खुला विश्वविद्यालय (ललितपुर–०७३), राजर्षिजनक विश्वविद्यालय (जनकपुर–०७४) मा स्थापना भएका छन् भने गण्डकी विश्वविद्यालय (प्रादेशिक विश्वविद्यालय) (पोखरा–०७६) ले अध्ययन अध्यापन सुरु गरिसकेको र मदन भण्डारी विश्वविद्यालय, मकवानपुर र मनमोहन प्राविधिक विश्वविद्यालय विश्वविद्यालय (मोरङ–०७६) अध्ययन अध्यापनको प्रक्रियामा रहेका छन् ।

नेपालमा विश्वविद्यालयस्तरका चार वटा प्रतिष्ठानहरू स्थापना भएका छन् । ती हुन् : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । यी प्रतिष्ठानहरूले देशको लागि आवश्यक पर्ने स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले स्वदेशमै उच्चशिक्षाका विभिन्नतहमा अध्ययन अध्यापन गराउँदै आइरहेको छ । त्रिविले अन्य विश्वविद्यालयहरूसँग सौहार्दपूर्ण तरिकाले समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । हाम्रा अगाडि शिक्षा क्षेत्रमा महत्वपूर्ण संस्थाहरू विद्यमान रहेका छन् । हाम्रा यी विश्वविद्यालयहरूले अब विद्यार्थीहरूको भविष्यसँग सम्बन्धित रहेर वैकल्पिक सूचना प्रविधिको आधारमा अध्ययन अध्यापनको कार्य अगाडि बढाउनु पर्दछ । विश्वविद्यालय अनुदान आयोगले पनि अब सूचना प्रविधिको क्षेत्रलाई महत्व दिई सबै विश्वविद्यालयहरूलाई सूचना प्रविधिअन्तर्गत पठनपाठन निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको छ ।

अहिलेको विषम परिस्थितिमा विश्वविद्यालय स्तरीय शिक्षालाई नयाँ अवधारणा अनुरूप शिक्षक, प्राध्यापक तथा विद्यार्थीका अनुसन्धान तथा अन्वेषणत्मक क्रियाकलापबाट ज्ञान आर्जन गर्ने र समाज र राष्ट्रको हितमा प्रयोग गर्ने स्थान बनाउँदै विश्व बजारमा माग हुने विषयहरूको विकास तथा विस्तार गर्नुपर्छ । माग हुन छोडेका विषयहरूको खारेज वा समायोजन, प्राध्यापकहरूलाई अनुसन्धानका कार्यमा, विद्यार्थीहरूलाई खोज तथा अनुसन्धानका विभिन्न क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी गराउनुपर्छ । साथै कर्मचारीहरूलाई दक्षता हासिल गर्दै अनुशासित र जिम्मेवारी बनाउने वातावरण सिर्जना गर्नका लागिसमेत वैकल्पिक सूचना प्रविधिको प्रयोग गर्नुपर्दछ ।

कोभिड माहामारीको विषम परिस्थितिमा समेत अविचलित नभई नेपालका विश्वविद्यालयहरूले यसअघि आफ्नो खोज, अध्ययन अनुसन्धानकार्यलाई सूचना प्रविधिमार्फत वैकल्पिक विधि प्रयोग गरी निरन्तरता दिएका थिए । सो कार्यलाई फेरि निरन्तरता दिनुपर्ने खाँचो रहेको छ । विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूको भविष्य नबिग्रियोस भनेर कोभिडबाट बच्न पूर्व सावधानीहरू अपनाउँदै वैकल्पिक सूचना प्रविधिमार्फत कक्षा सञ्चालन गर्नु, प्रशासनिक कार्यहरूलाई निरन्तरता दिनु र आगामी दिनमा ओमिक्रोन रोगबाट बच्नसमेत पूर्वसावधानी अपनाउनका लागि विश्वविद्यालयहरू अगाडि बढ्नुपर्ने देखिन्छ । नेपालको भौगोलिक एवं सांस्कृतिक विविधता र विशिष्टतालाई अझ बढी उत्पादनशील बनाउन र स्थानीय आवश्यकता र मागबमोजिम उच्च शिक्षामा सीमान्तकृत र विपन्न वर्गको पहुँच स्थापित गर्नका लागि विश्वविद्यालयहरूले सक्षम शैक्षिक कार्यक्रमहरू ल्याई समतामूलक, समावेशी विकासका मान्यतालाई सबै क्षेत्र, वर्ग एवं समुदायको पहुँचसम्म पु¥याउने ढृढता व्यक्त गर्नुपर्दछ ।

प्रतिक्रिया